मुख्यमन्त्री पोखरेलको राजीनामा माग गर्दै प्रदेश सभा भवनअगाडि प्रदर्शन

मुख्यमन्त्री पोखरेलको राजीनामा माग गर्दै प्रदेश सभा भवनअगाडि प्रदर्शन

पोखराः नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामाको माग गरेको छ। राजीनामा माग गर्दै अनेरास्ववियूले प्रदेश सभा भवनअगाडि विरोध प्रदर्शन समेत गरेको छ।

मुख्यमन्त्री पोखरेल, सरकारका मन्त्री र सांसदहरूले आफन्तका नाममा स्थापना गरिएको ट्रष्ट, स्मृति पार्क तथा प्रतिष्ठानका लागि आफूखुशी बजेट विनियोजन गराएको भन्दै आज गण्डकी प्रदेश सभाको संसद् बैठक सुरु हुनुअघि अनेरास्ववियूका नेता/कार्यकर्ताले धर्ना तथा विरोध प्रदर्शन गरेका हुन्।

पोखराको नदीपुरमा रहेको गण्डकी प्रदेश सभा भवनअगाडि ११ बजेदेखि गरिएको प्रदर्शनका कारण मुख्यमन्त्री पोखरेल विशेष समयमा बजेटबारे उठेका विषयमा जवाफ दिने कार्यक्रममा पनि उपस्थित छैनन्।

मुख्यमन्त्री पोखरेलसहित सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, सांसद पियारी थापा र धनमाया लामा पोखरेल समेतले आफन्तको नाममा स्थापना गरिएको ट्रष्ट, स्मृति पार्क र प्रतिष्ठानका लागि बजेट विनियोजन गराएको खुलेको छ।

मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गराएका थिए। मन्त्री श्रेष्ठले पनि बुवाआमाको नाममा खोलेको ट्रष्टमा एक करोड, सांसद पोखरेलले जेठाजुको नामको ट्रष्टमा ५० लाख, सांसद थापाले व्यक्तिगत ट्रष्टमा एक करोड २० लाख र कांग्रेस नेता जोशीले पिताको नाममा बनाएको प्रतिष्ठानलाई २० लाख विनियोजन गराएको खुलासा भएको हो।

यसको चौतर्फी आलोचना भएपछि भने मुख्यमन्त्री पोखरेलले ट्रष्टको नाममा विनियोजन भएको रकम अन्य प्राथमिकताका क्षेत्रमा प्रयोग गर्न निर्देशन दिइसकेका छन्।

अनेरास्ववियूका नेता/कार्यकर्ताहरूले हिजो पनि पोखराको रत्नचोकमा मुख्यमन्त्रीको लागि रु. एक दान संकलन गर्ने अभियान चलाएका थिए।

असार २८, २०७९ मंगलबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।