सलमानलाई मार्ने धम्की दिएका लरेन्सको माग: सार्वजनिक रूपमा माफी माग्नुपर्छ
एजेन्सीः सलमान खानलाई मार्ने धम्की दिएका ग्याङ्स्टर लरेन्स विश्नोइले सलमानले सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताएका छन्। कालो हरिण मारेकाले आफ्नो समुदायले कहिले पनि सलमानलाई माफ नगर्ने भन्दै उनले यस्तो माग गरेका हुन्।
हाल लरेन्स कारागारमा छन्। यद्यपि उनले सलमानलाई मार्ने विभिन्न योजना बनाइरहेका छन्। कोसिस पनि गरिरहेका छन्।
हालै दिल्ली प्रहरीको विशेष सेलले कारागारमै लरेन्ससँग सोधपुछ गरेको थियो। त्यसमा उनले सार्वजनिक माफी माग्नैपर्ने अडान राखे।
हत्याको योजना र प्रयास भएकाले सलमानले यस वर्ष परम्परा नै तोडे। उनी हरेक वर्ष ईदको अवसरमा अपार्टमेन्टको बाल्कोनीमा आएर फ्यानहरूसँग साक्षात्कार गर्थे। तर सुरक्षाकै कारण यो परम्परा यस वर्ष तोडियो।
सलमान मात्र होइन उनका बुवा सलिम खानलाई पनि हत्याको धम्की आएको थियो। त्यसैले सलमान हाल सार्वजनिक कार्यक्रममा कमै जान्छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको ग्यालेक्सी अपार्टमेन्टको आसपास हाल स्पेशल फोर्सका १० अफिसर तैनाथ छन्। त्यस वरपर १५ सीसीटीभी क्यामेरा जडान गरिएको छ।
कतिपय अवस्थामा त यो स्पेशल फोर्स उनको शुटिङस्थलमै पनि उपस्थित हुने गरेका छन्।
असार २८, २०७९ मंगलबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।