कर्णालीको ३२ अर्ब ६१ करोडको बजेट पारित, एमालेलाई चार बुँदे सहमतिको चिन्ता
सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ल्याएको बजेट पारित भएको छ। सोमबार बसेको कर्णाली प्रदेशसभाको १० औँ अधिवेशनको २३ औँ बैठकले बजेट पारित गरेको हो। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेस गरेका थिए।
सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए।
प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको छ। तर, बजेट पास गर्न राजी भएको प्रमुख प्रतिपक्ष दल एमाले भने आफूसँग सम्झौता भएको चार बुँदे सहमति कार्यान्वयन हुने विषयमा चिन्तित देखिन्छ ।
सरकारले एमालेसँग गरेको चार बुँदे सम्झौता कार्यान्वयनमा स्वयम् मुख्यमन्त्रीकै कार्यालय उदासीन देखिएको भन्दै एमालेले आरोप लगाइरहेको छ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले २४ असारमा सरकारले गरेको सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै सदनमै आरोप लगाएका छन्।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथिको छलफल कार्यक्रममा कँडेलले यस्तो बताएका हुन्।
लामो समय संसद् अवरुद्ध भएपछि छलफलका बिचबाट एक किसिमको सहमति भए पनि छलफल हुने बेलासम्म सहमति कार्यान्वयनका लागि तल्लो निकायमा पत्राचार गरिसकिएको होला भनेर आफूले आशा गरे पनि त्यतापट्टि सरकारको ध्यान नगएको उनको आरोप छ।
‘चार बुँदे सहमतिको पहिलो बुँदामै मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुष्ट फिर्ता लिने र विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधि सम्मत योजनाहरू छनौट गरिसक्नुपर्ने भनिएको छ। तर मुख्यमन्त्री शाही नै कार्यरत कार्यालय सम्झौता कार्यान्वयनमा उदासीन देखिन्छ,’ कँडेलले भने, ‘हामीले भनेका थियौँ मुख्यमन्त्री रोजगार कार्यक्रमका योजनाहरू एकमुष्ट फिर्ता लिने कार्यविधि अनुसार साउन मसान्तभित्र योजना तर्जुमा गरिसक्ने हाम्रो स्पिड हो। त्यस अनुसारको निर्देशन, ध्यानाकर्षण गराउने दायित्व सम्बन्धित निकायले दायित्व पुरा गर्न सकेन ।’
असार २७, २०७९ सोमबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।