संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे ओलीको टिप्पणी : यो भन्दा दुईजिब्रे अरू के हुन्छ?

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे ओलीको टिप्पणी : यो भन्दा दुईजिब्रे अरू के हुन्छ?

काठमाडौँ : आफू अनुकूल नियुक्तिका लागी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि राष्ट्रिय मानव अधिकार आयोगसम्ममा पदाधिकारी नियुक्त गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।

उनले जारी गरेको विधेयक र सो अनुसार भएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट किनारा लागेको छैन। उनले सोमबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै भने ‘असंवैधानिक छ भनेर सर्वोच्च अदालतमा मुद्दा हालेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ। यो भन्दा निर्लज्ज, दुईजिब्रे अरू के हुन्छ?’

उनले हिजो आफूले गर्दा अदालत गएकाहरूले नै अहिले अध्यादेश ल्याएको भन्दै हिजोका दिनमा गल्ती भएको भन्दै जनतासँग माफी माग्नुपर्ने दाबी समेत गरेका थिए। उनले यो अध्यादेश ल्याउने हो भने सर्वोच्चमा रहेको मुद्दा फिर्ता लिनुपर्ने तर्क समेत गरे।

राष्ट्रिय सभामा अध्यादेश लगेर सरकारले परिषद्का सदस्यमध्ये ५० प्रतिशत उपस्थित भए पनि निर्णय गर्न सक्ने प्रावधान राखेको छ। यसको सत्तामा रहेका दलकै नेताहरूले विरोध गरिरहेका छन्।

सरकारको मृत्यु भइसक्यो, काम छैन

ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकार मृत भइसकेको समेत दाबी गरे। सरकार मृत भएकाले अब महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँडेझैँ यो सरकारलाई बोकेर हिँड्न नहुने दाबी समेत गरे।

 ‘यो सरकार डेड भइसक्यो। अब यसले हैजा फैलाउँछ, समाजलाई दूषित गराउँछ,' उनले दाबी गरे।

असार २७, २०७९ सोमबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।