फिल्मको नायक छान्न पनि दलका नेताको हस्तक्षेप ! आरजुदेखि इन्द्र बानियाँसम्म जोडिए

फिल्मको नायक छान्न पनि दलका नेताको हस्तक्षेप ! आरजुदेखि इन्द्र बानियाँसम्म जोडिए

काठमाडौँ : जहाँ-जहाँ राजनीति घुस्यो त्यो क्षेत्र कहाँ उँभो लागेको छ र। न प्रशासनिक क्षेत्र उँभो लाग्यो न सुरक्षा न स्वास्थ्य लगायतका क्षेत्र। जहाँ नेताको आँखा लाग्यो त्यो क्षेत्र सोत्तर। फिल्म क्षेत्र दलका नेताको आँखा नलाग्दै सोत्तर भइराखेको छ।

बनेका ९५ प्रतिशत फिल्म फ्लप हुन्छन् यो क्षेत्रमा। अब यसमा पनि दलका नेताहरूको आँखा लागेपछि अवस्था के होला!

प्रसङ्ग चैँ चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारीमा रहेका भुवन केसी अनि उनका छोरा अनमोल केसीको हो है। पछिल्लो समय अनमोलले अनपेक्षित रूपमा २ वटा फिल्ममा अभिनय गर्न राजी भए। यी दुवै फिल्मको कनेक्सन गएर नेपाली कांग्रेसका २ नेतासँग गएर जोडियो।

सञ्चार मन्त्रालयको नेतृत्वमा अहिले ज्ञानेन्द्र बहादुर कार्की छन्। तर नियुक्ति चाबी प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणाको हातमा छ भन्ने त मन्त्रालयका नाममा भइरहेका नियुक्तीहरुले नै देखाइरहेका छन् नै।

अब विकास बोर्डको अध्यक्ष नियुक्त हुनु छ भने राणाको गुड बुकमा पर्नै पर्यो। त्यसका लागि भुवनले हतियार बनाए आफ्नै छोराको करिअरलाई।

कुन फिल्म खेल्ने अनि कुन फिल्म नखेल्ने अनमोल भन्दा पनि भुवनको निर्णय नै अन्तिम हुने गरेको कुरा नेपाली फिल्मी वृत्तमा लुकेको विषय हैन। यो त ओपन सेक्रेट नै भइहाल्यो।

यस्तोमा अनमोललाई लिएर फिल्म बनाउन चाहने निर्माताहरुले बोर्डको अध्यक्ष हुन जे पनि गर्न तयार भएका भुवनलाई इमोसनल बार्गेनिङ गर्न किन छाड्थे र।

यसैलाई उपयोग गरिन् फिल्म निर्माता तथा अभिनेत्री पूजा शर्माले। यसका लागि सहयोगी भए उनी निकट रहेका युद्ध बानिया। दुवैले आफ्नो सम्बन्धबारे खुलेर कुरा त गरेका छैनन्। तर यी दुबैलाई फिल्म क्षेत्रमा प्रेमी-प्रेमीकाको रूपमा हेरिन्छ। सत्य के हो उनीहरू नै जानुन्।

जब पूजाले वानलाइन स्टोरी मात्र सुनाएको भरमा अनमोल फिल्म खेल्न राजी भएको समाचार बाहिरियो यसमा जोडिए युद्ध अनि नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँ। पूजाले इन्द्रलाई अनमोलसँग फिल्म खेल्ने रहर सुनाइन्। उनले इन्द्र बानियाँलाई माहौल मिलाउन अनुरोध गरे अनि इन्द्रले भुवन केसीलाई आग्रह गरेर यो सम्भव भएको दाबी गर्नेहरू टन्नै छन् फिल्म क्षेत्रमा।

भुवनलाई बोर्डको अध्यक्ष बनाउन पार्टीभित्र बानियाँले लबिङ गरिरहेको लुकेको विषय पनि हैन। यता इन्द्र बानियाँ भुवनलाई बोर्डको अध्यक्ष बनाउन कस्सिनु अनि उता स्क्रिप्ट पढेर पनि फिल्म रिजेक्ट गर्ने अनमोलले वानलाइन स्टोरी सुनेकै भरमा पूजाले निर्माण गर्ने फिल्ममा पूजासँगै स्क्रिन सेयर गर्न राजी हुनुले यो हल्ला मात्रै हैन भन्ने देखाउँछ नै।

यहीबिच फेरी अर्को सरप्राइज खबर बाहिरियो अनमोल ‘जेरी २’ फिल्म खेल्न राजी भए। यो फिल्मका निर्माता परे सरोज न्यौपाने।

सरोजको पहिचान फिल्म निर्माता मात्रै हैन प्रधानमन्त्री देउवा पत्नी राणासँग निकट व्यक्ति पनि हुन्। उनले बोर्डको अध्यक्षका लागि अर्कै व्यक्तिका लागि लबिङ गरिरहेको समाचार सार्वजनिक भइसकेको विषय हो। अब सरोजले जसलाई लबिङ गर्छन् उनी अलि बलियो हुने भुवन जत्तिको 'अभिनेता' ले नबुझ्ने कुरै भएन।

यहीबिच एकाएक अनमोल जेरी-२ मा अभिनय गर्न राजी हुनुले भुवनले यसमा पनि छोराको स्टारडमको कार्ड खेले भन्ने भन्दा पक्कै गलत नहोला नै। तर उनको यो योगदानले कति काम गर्यो त्यो बोर्डको अध्यक्षको नियुक्तिपछि देखिन्छ नै।

असार २७, २०७९ सोमबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।