स्वास्थ्य पत्रकारको कोरोना अनुभव : सकियो भनेको भाइरसले शिथिलै बनायो

स्वास्थ्य पत्रकारको कोरोना अनुभव : सकियो भनेको भाइरसले शिथिलै बनायो

पेसाले पत्रकार। त्यसमाथि स्वास्थ्य बिट। समाचार संकलनका लागि अस्पताल-अस्पताल चहार्नु दैनन्दिनको काम।

स्थलगत रिपोर्टिङको क्रममा कैयौं पटक कोरोना संक्रमण भएर उपचार गराइरहेका व्यक्तिको नजिकै नपुगेको पनि हैन। संक्रमणले उग्र रुप लिएको समयमा सेनिटाइजर, मास्क, पञ्जा र फेससिल्ड भने छुटाइएन। 

सकेसम्म स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड अपनाउने प्रयासमा कन्जुस्याइँ गरिएन। कतिपय ठाउँमा त स्वास्थ्यका मापदण्ड अपनाउँदा हाँसोको पात्र समेत बनियो।

सरकारले निर्धारण गरेबमोजिम कोरोना भाइरस विरुद्धको खोप पनि लगाइयो। बुस्टर डोज पनि लगाइयो।

संक्रमण तीव्र गतिमा फैलिँदा पनि कोरोना भयो भनेर बस्नु परेको थिएन। तर आज दर घटेर पुछारमा पुगेका बेला भने म संक्रमणबाट थलिएको छु। साथी-सर्कलमा 'मलाई त कोरोना भइसक्यो नि' भनेर गफ लगाउने म आज आफैं अचम्मित पनि भएको छु।

रुघा भनेर हेलचेक्र्याईं, थिलथिलो ज्यान
सोमबार (असार २० गते) विभिन्न कार्यक्रममा व्यस्त भएँ। फर्कँदा बेलुका हल्का रुघा लागेको महसुस भयो। घरमा छिरेपछि धेरै पटक हाछ्युँ आयो। मौसमी रुघामर्की त होला नि भन्ठानेर बेलुकै औषधि पसलबाट रुघाको औषधि ल्याएर खाएँ। त्यो औषधिले हाछ्युँ आउन केही कम भएको महसुस भयो।

तर, रात छिप्पिँदै जाँदा रुघाले ग्रस्त बनायो। शरीरका अंग-प्रत्यंग दुखेर सुत्नै मुस्किल बनायो। भोलिपल्ट (मंगलबार २१ गते) दिनभरि उठ्न सकिएन। मंगलबार शरीर लठ्ठ भयो। मंगलबार शरीर यति दुख्यो कि भाँटाले बेस्सरी हिर्काएझैं भयो। हात-खुट्टा, जोर्नी तथा मांसपेसी करकरी खाएर सहिनसक्नु भयो। टाउको, आँखाका माथिका डिल र शरीरको दुखाइले ज्यान उठाउनै मुस्किल प¥यो। ज्यान थिल्थिलियो।

रुघा कम भएन। सिँगान बगिरह्यो। हल्का घाँटी दुखेकै थियो। ज्वरो पनि आयो। घरीघरी श्वासप्रश्वासमा समेत असहज महसुस भएको थियो। खोक्दा र हाछ्युँ गर्दा तथा हलचल गर्दा दुवैतर्फको कोखा दुखेर सही नसक्नु भयो।

संक्रमण तीव्र गतिमा फैलिँदा पनि कोरोना भयो भनेर बस्नु परेको थिएन। तर आज दर घटेर पुछारमा पुगेका बेला भने म संक्रमणबाट थलिएको छु। साथी-सर्कलमा 'मलाई त कोरोना भइसक्यो नि' भनेर गफ लगाउने म आज आफैं अचम्मित पनि भएको छु।

खानपानको हल्का मात्रै स्वाद थाहा हुने। वासना हो वा गन्ध नाकले केही पनि थाहै पाएन। अहिले पनि वासना वा गन्ध हो भन्ने नाकले थाहा पाउने भएको छैन। तर रमाइलो पक्ष चाहिँ खानपानमा भने अरुचि भएन। खाना रुच्नु सकारात्मक पक्ष भयो।

मंगलबार पनि अघिल्लो दिन नै ल्याएको रुघाको औषधि खाएँ। ज्वरो पनि आएकाले मंगलबार भने सिटामोल पनि खाएँ। मंगलबार दिनभर नै शरीर गल्यो। उठ्नै सकिएन। 

जब डा. अच्युतलाई फोन गरें...
बुधबार (२२ गते) समेत रुघा लगायतका लक्षण कम भएनन्। तर रुघा-खोकी होला ठिक भइहाल्छ भन्ठानेर बुधबार पनि अस्पताल गइएन।

बिहीबार (२३ गते) बिहानसम्म पनि लक्षण कम भएन। ज्यान तंग्रिन मुस्किल पर्योम। त्यसपछि वीर अस्पतालका कोभिड–१९ फोकल पर्सन चिकित्सक डा. अच्युतराज कार्कीसँग सम्पर्क गरें। स्वास्थ्य समस्याका बारे बताएँ। डा. अच्युतले ‘रुघा भनेर नबस्नूस्, कोरोना हुनसक्छ’ भन्दै एन्टिजेन र पिसिआर परीक्षण गरिहाल्न सुझाव दिनुभयो। त्यसपछि भने मलाई पनि शंका लाग्यो। डा. अच्युतको सल्लाह अनुसार वीर अस्पताल पुगेर एन्टिजेन परीक्षण गराएँ। 

अस्पतालका ल्याब टेक्निसियन (एलटी इन्स्पेक्टर) पवित्रनारायण यादवले एन्टिजेन परीक्षण गरे। रिपोर्ट आउन पाँच मिनेट पनि लागेन। एन्टिजेन रिपोर्टमा ‘सार्स–कोभ–२–पोजेटिभ’ देखियो। यसको अर्थ मेरो शरीरमा कोरोना भाइरस संक्रमण देखियो। त्यसपछि कोरोना हो भन्ने करिब निश्चित भयो।

अझै एकिन गर्नका लागि डा. अच्युतकै सल्लाह अनुसार पिसिआर परीक्षण पनि गराएँ। बिहीबार पिसिआर परीक्षणका लागि स्वाब दिँदा दिउँसोको करिब तीन बजिसकेको थियो। उनै ल्याब टेक्निसियन पवित्र नारायणले स्वाब निकाले।

बिहीबारै बेलुका पाँच बजेर ११ मिनेटमा पिसिआर परीक्षणको रिपोर्ट आएको रहेछ। तर मैले भोलिपल्ट (शुक्रबार) बिहान मात्रै डा. अच्युतमार्फत नै पिसिआर रिपोर्टमा पनि कोरोना ‘पोजेटिभ’ देखिएको थाहा पाएँ। शुक्रबार पिसिआर रिपोर्ट हेर्दा पिसिआर रिपोर्टमा लेखिएको रहेछ, ‘सार्स–कोभ–२ रियल टाइम पिसिआर–डिटेक्टेड।’ जसबाट कोरोना पुष्टि भएको थाहा हुन्छ।

मलाई त कोरोना पुष्टि भयो नै। परिवारका सबैलाई रुघाखोकीको हल्का लक्षण थियो। त्यसैले डा. अच्युतसँग सल्लाह लिएँ। उनले परिवारका सबैको पिसिआर परीक्षण गर्न भन्नुभयो। त्यसपछि शुक्रबार श्रीमती, छोरी र बहिनीको पनि वीर अस्पतालमा गएर पिसिआर परीक्षणका लागि स्वाब दिइयो। स्वाब दिँदा मध्याह्नको करिब १२ बजेर ४० मिनेट गएको थियो। 

स्वाब दिएपछि वीर अस्पतालमा कोभिड तथा पोष्ट कोभिड ओपिडिका चिकित्सक डा. प्राप्ति बस्नेतले हाम्रो स्वास्थ्य जाँच गर्नुका साथै परामर्श दिनुभयो। त्यसपछि हामी फर्क्यौं। पिसिआर परीक्षणको क्रममा अस्पतालका कर्मचारी अरुणकुमार महतोले निकै सहयोग गर्नुभयो। किनकी, म आफैं संक्रमित भएकाले कागजपत्र मिलाइदिने काममा उहाँको सहयोग सम्झन योग्य छ।

पिसिआर परीक्षण, स्वास्थ्य जाँच तथा परामर्शपछि डा. अच्युतले केही औषधि लेखिदिनुभयो। त्यसपछि हामी आफ्नो बासस्थानमा फर्क्यौं। बेलुका ६ बजेर सात मिनेटमा वीर अस्पतालबाट मोबाइलको ‘म्यासेज’मा तीनै जनाको कोरोना नभएको रिपोर्ट आयो। म्यासेजमा लेखिएको थियो,‘योर कोभिड पिसिआर रिजल्ट इज नट डिटेक्टेड।’ जुन रिपोर्टले हामीलाई खुसी बनायो।

बाल्यकालमा परेको बिरामी बाहेक मेरो जीवनकालमा धेरै वर्षअघि काठमाडौंमा नै केही दिन ज्वरोले गलाएको मलाई याद छ। नत्र यति गाह्रो हुनेगरी बिरामी परेको मेरो जीवनकै पहिलो अनुभव हो यो।

तर, परिवारका सँगै बसेका चार जनामध्ये मलाई मात्रै कोरोना देखिएर अरुलाई कसरी सरेन भन्ने विषयले पनि अच्चमित तुल्यायो। परिवारमा अरुलाई संक्रमण पुष्टि नभएपछि थप राहत भने अवश्य मिल्यो।

उपचारमा चिकित्सकले लेखिदिएको औषधि र घरेलु जडिबुटी

मलाई उभिन समेत मुस्किल परिनै रह्यो। कोरोना भाइरस संक्रमणले शरीर अत्यन्तै कमजोर बनाउँदो रहेछ। तर अस्पताल भर्ना भने हुनुपरेको छैन।

घरमा मसला मिश्रित ज्वानोको झोल र अदुवा, लसुन, बेसार, दालचिनी, ल्वाङ, मरिच, कागती मिश्रित उमालेको पानी अहिले पनि नियमित सेवन गरिरहेको छु। मह र अदुवा पानी पनि सेवन गरें। 

दैनिक असुराको पात उसिनेर बाफ लिने गरेको छु। असुराकै पात उमालेर दैनिक दुई चम्चा झोल पिउने गरेको छु। अन्य घरेलु जडिबुटीको पनि सेवन गरिरहेको छु। बाँकी डा. अच्युतले लेखिदिनुभएको औषधि नियमित सेवन गरिरहेको छु। 

बल्ल आइतबारबाट शरीर केही हल्का महसुस भएको छ। कोरोनासँग मुकाबिला गरिरहेको मेरो शारीरिक तथा मानसिक अवस्थाले भन्दैछ, ‘अब कोरोनालाई जित्न लागियो। बिजेता हुन केही दिन लाग्छ।’ तर अझै न उठेर हिँड्ने आँट पुगिसकेको छ। न काम गर्न नै ऊर्जा। शरीर साह्रै शिथिल बनाउँदोरहेछ कोरोनाले।

बाल्यकालमा परेको बिरामी बाहेक मेरो जीवनकालमा धेरै वर्षअघि काठमाडौंमा नै केही दिन ज्वरोले गलाएको मलाई याद छ। नत्र यति गाह्रो हुनेगरी बिरामी परेको मेरो जीवनकै पहिलो अनुभव हो यो।

असार २७, २०७९ सोमबार १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।