आफन्तका नाममा करोडौं बजेट छुट्याएपछि गण्डकीका मुख्यमन्त्रीलाई एक रुपैयाँ दान गर्ने अभियान
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एक रुपैयाँ दान गर्ने अभियान चलाइएको छ। आउँदो आर्थिक वर्षको बजेटमा सरकारका मन्त्री तथा सत्तारुढ दलका नेताको आफन्तको नाममा स्थापित ट्रष्ट र प्रतिष्ठानमा प्रदेश सरकारले करोडौं रकम विनियोजन गरेपछि विरोधस्वरूप अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पोखरामा ‘एक रुपैयाँ दान अभियान’ चलाएको हो।
सोमबार पोखराको रत्नचोकमा एक विरोध सभाको आयोजना गर्दै दान अभियान चलाइएको हो। अभियानमा स्थानीय, पैदलयात्री तथा सवारी रोकेर समेत एक–एक रुपैयाँ दान गरेका थिए।
विरोध सभामा सहभागीहरूले ‘राज्यको सम्पत्ति फिर्ता गर’, ‘लुटतन्त्र बन्द गर’, ‘गण्डकी प्रदेश सरकार होशियार’, ‘जनताको पैसा फिर्ता गर’, ‘बाउ-आमाको नाममा राखिएको सरकारी करोडौं रकम फिर्ता गर’, ‘सबैले रु. एक–एक सहयोग गरौँ’, ‘प्रदेश सरकार गरिब हो’ लगायतका नारा लगाएका थिए।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताहरूका परिवारका सदस्यको नाममा ट्रष्टदेखि स्मृति पार्क, प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेसँगै प्रदेशमा चर्को आलोचना भइरहेको छ।
जनस्तरमा चर्को विरोध भएपछि हाल मुख्यमन्त्रीलगायत केही मन्त्रीहरूले रकम फिर्ता गर्ने घोषणा गरेका छन्।
यी पनि,
असार २७, २०७९ सोमबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।