फरक विद्यालय, फरक लक्ष्य: सामुदायिकमा पढ्नेको सरकारी जागिर, निजीको विदेश

फरक विद्यालय, फरक लक्ष्य: सामुदायिकमा पढ्नेको सरकारी जागिर, निजीको विदेश

एक निजी विद्यालयकी शिक्षिका संगीता (नाम परिवर्तन)ले केही विद्यार्थीहरू आपसमा कुराकानी गरिरहेको सुनिन्। धनी परिवारका ती विद्यार्थीहरू आफूहरूलाई पढाउने शिक्षक-शिक्षिकाका विषयमा गफ गरिरहेका थिए- ‘त्यो नक्कली एडिडासको जुत्ता लगाउने नेपाली पढाउने सर छ नि, नामै कस्तो फन्नी है, ढुण्डीराज रे।’

संगीता सरकारी विद्यालय पढेकी मध्यम वर्गीय परिवारकी हुन्। विद्यार्थीहरूको त्यस्तो कुरा सुनेपछि उनीहरूको अगाडि प्रस्तुत हुनै समस्या पर्यो संगीतालाई। 

'मैले लगाएको कपडा, जुत्ता र बोक्ने झोलाका बारेमा पनि यी विद्यार्थीले गफ गरिरहेका होलान् जस्तो लाग्छ। विद्यार्थी देख्ने बित्तिकै राम्रै पैसा हालेको झोला समेत लुकाउन पुग्छु। पढाउन अगाडि जाँदा निकै सचेत हुन्छु, नर्भस हुन्छु। विद्यार्थीहरू कतै मेरो जुत्ता हेरेर त हाँसिरहेका छैनन् भन्नेतिर ध्यान जान्छ ', उनले भनिन्।

संगीताले पढाउने निजी विद्यालयका विद्यार्थीहरू आर्थिक रूपमा उच्च वर्गीय परिवारका छन्। उनीहरूको लक्ष्य उच्च शिक्षाका लागि विदेश जाने हो। 

ती विद्यार्थीहरू शिक्षकको आर्थिक हैसियतमा निर्धक्क 'कमेन्ट' गर्दै हाँस्छन्। शिक्षक शिक्षिकाहरूको नाम 'नक्कली नाइके लगाउने', 'स्कुटीमा आउने', 'हिँडेर आउने', 'पसिना गह्नाउने' जस्ता राखेका हुन्छन्। यस्तो नाम उनीहरू समूहमा कुराकानी गर्दा प्रयोग गर्छन्।

निजी विद्यालयले शिक्षणलाई सम्मानजनक पेशाको रूपमा आत्मसात नगरेको जस्तो उनलाई लाग्छ। 

यस्ता निजी विद्यालयमा छात्रवृत्ति पाएर पढ्न आउने मध्यम वर्गीय परिवारका विद्यार्थीहरू ती उच्च घरानाका विद्यार्थीसँग घुलमिल हुनै सक्दैनन्। संगीताका अनुसार उनीहरू एउटै कक्षामा भए पनि साथी समेत बन्न सक्दैनन्। 

संगिता भन्छिन्, 'विद्यार्थीहरूमा निःशुल्क पढेको हैन, बा-आमाले टन्नै पैसा तिरेका छन्, जे गर्न पनि पाइन्छ भन्नेखालको सोच हावी भएको देखिन्छ। जसले गर्दा मध्यम परिवारबाट छात्रवृत्तिमा आएका विद्यार्थीले साथी समेत बनाउन सक्दैनन्।'

यस्तै अनुभव छ एक अभिभावक राममाया (नाम परिवर्तन)को। 

उनले आफ्नो सानी छोरीलाई छात्रवृत्ति कोटामा 'एलआरआई सेकेण्डरी स्कुल'मा भर्ना गरिन्। प्लस टुसम्म निःशुल्क पढाउन पाइने, गाडीले ल्याउने, लाने गर्ने भएकाले उनीहरू दंग थिए। 

धनीमानीसँगै आफ्नो बच्चा पढाउन पाउँदा को अभिभावक खुशी नहोला र! 

श्रीमान्-श्रीमती आ–आफ्नै पेशामा व्यस्त हुने भएकाले बच्चा परिवारको अन्य सदस्यको भरमा छाडिएको थियो। गाडी सात नबज्दै लिन आइपुग्थ्यो।

निद्रामै बच्चालाई उठाएर रुवाउँदै खाना खुवाइन्थ्यो र हतार हतार कपडा लगाएर विद्यालय पठाइन्थ्यो। स्कुल बस सबैलाई टिप्दै विद्यालयसम्म पुग्दा ९ बज्थ्यो। उनी दुई घण्टा गाडीमै बिताउँथिन्। 

फर्कँदा पनि सबैभन्दा अन्तिममा उनैलाई छाडिन्थ्यो। कोठा पुग्दा साँझको सात बज्थ्यो।

परिवारले उनको सरसफाइमा राम्ररी ध्यान दिन सकिरहेको थिएन। त्यसैले स्कुलमा सफा बनेर नआएको भन्दै उनलाई फरक लाइनमा उभ्याइन्थ्यो। फोहोरी बनेको भन्दै उनले दैनिक कारबाही भोग्थिन्।

धनीमानीले निजी विद्यालय पढाउँछन्, गरिबले सामुदायिक विद्यालय। यो कतै लिखित त होइन तर समाजमा देखिएको कटु सत्य हो।

उनका साथीहरू सुकिला। फोहोरी भनेर उनको कोही साथी पनि भएनन्। विद्यालयको गाडीको थकान, शिक्षक शिक्षिकाको गाली, साथीभाइको हेपाइ सबैका कारण उनले पढाइमा ध्यान दिनै सक्दिनथिइन्।

विद्यालयमा भएका घटना उनी रुँदै अभिभावकलाई सुनाउँथिन्। तर अभिभावक आफ्नै लफडामा व्यस्त। 

उल्टै विद्यालयबाट पढाइ कमजोर भएको भन्दै शिक्षक शिक्षिकाले फोन गरेर कम्प्लेन गर्थे। कार्यालयको फ्रस्ट्रेशन र विद्यालयको कम्प्लेनको रिस फेरि उही बालिकामाथि पोखिन्थ्यो। 

त्यति राम्रो विद्यालयमा पढाउँदा समेत कमजोर भएको भन्दै बालिकामाथि  प्रेसर दिइन्थ्यो। जसले गर्दा उनमा रिसाउने, चिडचिड गर्ने, झगडालु हुने स्वभाव विकास भयो। दुब्लो, ख्याउटे मात्रै हैन, पढाइको प्रेसरले उमेर अनुसारको उचाइ समेत बढेन। 

अहिले भने उनलाई त्यो विद्यालयबाट निकालिएको छ। उनी अर्को निजी विद्यालयमा पढ्छिन्। त्यहाँ उनको र अरू विद्यार्थीको आर्थिक हैसियत लगभग समान छ। साथी बनाएकी छिन्। खुशी पनि देखिन्छिन्। पढाइ पनि सुधार भएको छ।

निजी र सामुदायिक विद्यालयले जन्माएको वर्गीय खाडल
धनीमानीले निजी विद्यालय पढाउँछन्, गरिबले सामुदायिक विद्यालय। यो कतै लिखित त होइन तर समाजमा देखिएको कटु सत्य हो।

अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरू गरिब, मजदूरका छोराछोरी छन्। मध्यम वर्गीय परिवारले सकी-नसकी निजी विद्यालयमै पढाउने कोसिस गर्छन् आफ्ना छोराछोरी। 

धनीले महँगा विद्यालयमा आफ्ना छोराछोरी पढाउँछन्।

यसरी थरीथरीका विद्यालयमा पढेका र यहाँबाट उत्पादित जनशक्तिले भोलिका दिनमा कतै वर्गीय खाडल झनै बढाउँदैन? उकेराले शिक्षाविद् विद्यानाथ कोइरालासामु जिज्ञासा राख्यो। 

कोइरालाले भने, 'यो कुरा सही हो। वर्गीय खाडल झनै बढाउने देखिन्छ। तर यसो भन्दैमा निजी विद्यालयको गुणस्तर खस्काएर सामुदायिक जस्तो बनाउनुपर्छ भन्ने होइन।'

उनले यसलाई अझ प्रष्टसँग बुझाउन एउटा दृष्टान्त प्रस्तुत गरे। 'एउटा फल सर्लक्क परेको छ, अनि अर्को चाहिँ गुन्ठुक्क परेको छ। जति बढ्नुपर्ने त्यति बढेन, गुठुक्रियो भनेर सर्लक्क परेकालाई काटेर बराबर बनाउने कुरो आएन, कसरी हुन्छ नबढेकोलाई बढाउनुपर्यो। तर हाम्रा सरकार र यसका निकाय सर्लक्क परेकालाई काटेर बराबर बनाउने तर्क गर्छन्, यस्ता कुराले मेरो पारो तात्छ।'

सामुदायिक र निजीबीच यो भेद हुनुमा शिक्षक-शिक्षिका दोषी रहेको कोइरालाको तर्क छ। उनी भन्छन्, 'हाम्रा सामुदायिक विद्यालयमा जागिर खाने शिक्षक-शिक्षिका पाठ्यक्रमलाई दोष दिन्छन्। पाठ्यक्रम निजी र सामुदायिक दुवैको एकै हो। सामुदायिकले पढाउने तरिका र निजीले पढाउने तरिका फरक भएका कारण जनशक्तिमा फरकपना आउने हो।'

कोइराला शिक्षक-शिक्षिकाहरूले पाठ्यक्रम गतिलो नभएको भन्दै गुनासो गरेको धेरै सुनिरहेका हुन्छन्। अनि ती शिक्षक-शिक्षिकालाई पढाउन थाल्छन् उनी।

'निजी विद्यालयका विद्यार्थीको राष्ट्रप्रेम सामुदायिकका विद्यार्थीको भन्दा कम हुन्छ। यो कुरा हाम्रा निजामती कर्मचारीलाई हेरेर थाहा हुन्छ', गौतम भन्छन्, 'आर्मी, प्रहरीदेखि प्रशासनसम्म हेर्नुस्, लोकसेवाको फारम भर्नेहरू हेर्नुस्, सबै सामुदायिक विद्यालयमा पढेकाहरू छन्। उनीहरूमा देशमै बसेर सेवा गर्ने भावना छ।'

कोइरालाले हाँस्दै भने, 'कुनै काम राम्रो भइरहेको छैन, सजिव वस्तुको दोष हुन्छ कि निर्जिव? सबैले उत्तर दिन्छन् सजिव। त्यसो भए किताव सजिव कि शिक्षक? उत्तर शिक्षक। विद्यार्थीलाई कसरी पढाउने, कसरी बुझाउने, पाठ्यक्रम कमजोर छ भने कहाँ छ, कसरी छ भनेर पाठ्यक्रम निर्माण गर्नेहरूसँग सम्पर्क गर्ने काम त शिक्षकको हो नि। यति भनेपछि उनीहरू चुपचाप निस्कन्छन्।'

सामुदायिकका विद्यार्थी देशमै जागिरे, निजीका विदेशतिर
शिक्षाविद् कोइरालाकै भनाइलाई आधार मान्ने हो भने निजी विद्यालयमा रटाएर पढाइन्छ। त्यहाँका विद्यार्थीको ज्ञानको दायरा साँघुरो हुन्छ।

तर सामुदायिक विद्यालयका विद्यार्थीहरू भोगाइबाट धेरै ज्ञान प्राप्त गर्छन्। ट्यालेन्ट विद्यार्थी सामुदायिक विद्यालयमा हुन्छन्। तर सामुदायिक विद्यालय राजनीतिको अखडा बन्दा सबै भताभुङ्ग भएको उनले बताए।

'प्रधानाध्यापक एउटा पार्टीको भए शिक्षक अर्को, शिक्षिका अर्को। एकपटक ल ठीक छ जुन विद्यालयमा जसको बाहुल्यता छ, त्यो विद्यालयमा त्यही विचारधाराका शिक्षकलाई राखिदिऊँ। अझै माधव जात, केपी जात, प्रचण्ड जात, शेरबहादुर जात, रामचन्द्र जात सबै मिलाएरै पठाऔं भन्दा पनि भएन', उनले हाँस्दै भने।

यता, प्रद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम भने निजीका विद्यार्थी र सामुदायिकका विद्यार्थीलाई राष्ट्रवादको चश्माबाट हेर्छन्। 

'निजी विद्यालयका विद्यार्थीको राष्ट्रप्रेम सामुदायिकका विद्यार्थीको भन्दा कम हुन्छ। यो कुरा हाम्रा निजामती कर्मचारीलाई हेरेर थाहा हुन्छ', गौतम भन्छन्, 'आर्मी, प्रहरीदेखि प्रशासनसम्म हेर्नुस्, लोकसेवाको फारम भर्नेहरू हेर्नुस्, सबै सामुदायिक विद्यालयमा पढेकाहरू छन्। उनीहरूमा देशमै बसेर सेवा गर्ने भावना छ।'

उनले निजी विद्यालयलाई जनशक्ति विदेश लैजाने कारखाना भएको पनि आरोप लगाए। 

यद्यपि, उनी निजी र सामुदायिक विद्यालयका कारण वर्गीय खाडल झनै बढेको भन्नेमा भने सहमत छन्। भन्छन्, 'विद्यालयमा पहिलेदेखि नै वर्ग छुट्टिरहेको समयमा अहिलेको अवस्थाले झनै बिकराल स्थिति निम्त्याउनेवाला छ।'

असार २७, २०७९ सोमबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।