दोख : द्वन्द्व सम्झाउने कथामा नाटकको झझल्को

दोख : द्वन्द्व सम्झाउने कथामा नाटकको झझल्को

काठमाडौं : भूकम्प, नाकाबन्दी तथा कोभिड-१९ सम्मका महामारीले फिल्म 'दोख' लाई थिलोथिलो बनायो। धेरैले फिल्म डब्बामा जाने अनुमान गरिसकेका थिए। तर सात वर्ष अघिदेखिको भारी बल्ल बिसायो दोख टिमले। अर्थात्, फिल्मलाई हलसम्म ल्याउन निर्माण टोली सफल भयो।

भकुण्डे र सल्ले गाउँका मानिसले चुथ्रे बनका लागि गरेको झगडालाई केन्द्रमा राखेर सशस्त्र द्वन्द्वको कथा भनिएको फिल्म हो दोख।

यी दुवै गाउँ माओवादीको कब्जामा छन्। भकुण्डे गाउँका अध्यक्षले पूर्ण रुपमा माओवादीलाई सहयोग गर्छन् भने सल्ले गाउँका अध्यक्ष राज्यपक्षलाई। यी दुई गाउँ राज्य र विद्रोही पक्षको बीचमा चेपिएर कसरी रणभूमिमा परिणत भयो भन्ने कथा बोल्छ फिल्म दोखले।

फिल्म परम्परागतभन्दा केही फरक छ। चलिआएको सूत्र तोड्ने भन्दैमा जे मन लाग्यो त्यही गर्ने हैन, बाटो नभएतिर दगुर्ने हैन कि, नयाँ बाटो बनाएर हिँड्ने हो भन्ने बुझाउन फिल्म सफल भएको छ।

नाट्य निर्देशन गर्दागर्दै फिल्म निर्देशन गरेका अनुप बराल आफ्नो कथा दृष्यमा भन्न सफल भएका छन्। तर फिल्मका केही दृश्यमा भने भने नाटककै झल्को आउँछ। 

नाटक र फिल्म एक सिक्का भए पनि फरक पाटा हुन्। निर्देशकले केही ठाउँमा नाटकको सिम्बोल हालेका छन्। जस्तो, मध्यान्तर हुनुअघि कलाकारको कानमा खासखास-खुसखुस आवाज दिनु। कुरा काटेको सिम्बोलका रुपमा यस्ता दृष्य नाटकमा धेरै देखिन्थे। फिल्ममा यस्ता प्रयोगले नौलोपना थपेको त छ तर फिल्ममै नाटकको प्रयोग गर्ने हो भने यी दुईको अस्तित्वमा के फरक भन्ने प्रश्न पनि उठ्न सक्छ।

फिल्मको पहिलो प्राथमिकता मनोरञ्जन दिनसक्नु नै हो। वास्तविक सामाजिक कथामा फिल्म बनाउँदा सबैभन्दा चुनौती पनि सायद यही होला। फ्याक्ट तोडमोड नगरी, एउटाको पक्षपोषण नगरी मनोरञ्जनात्मक फिल्म पस्कने आँट गर्नु चानचुने कुरा हैन। 

फिल्मको पात्र निर्माणमा भने समस्या छ। मुख्य पात्र रोनित सर (मनिष निरौला) को चरित्र स्पष्ट हुन सकेको छैन। उनी बदला लिन त्यहाँ पुगेका छन्, या कर्तव्य पूरा गर्न? भन्ने प्रश्नको उत्तर कतै भेटिँदैन। 

सिन्धुपाल्चोकका रोनित सर, बाबुलाई मार्नेहरु खोज्दै भोजपुरको बिकट गाउँ पुगेका हुन् या कामका लागि त्यहाँ खटाइएको हो प्रष्ट हुन सकेको छैन। अन्त्यमा पढिएको चिठ्ठीले झनै दोधारेपन बढाउँछ। यदि ऊ राष्ट्रको सेवासँगै बदला लिन गएको थियो भने चिठ्ठी देखाइरहनु आवश्यक थिएन। 

यति हुँदाहुँदै पनि यो पात्रको बालापन, बाबुसँगको प्रेमलाई सपनामार्फत सुन्दर ढंगले देखाइएको छ। जसले गर्दा पात्र निर्माणमा भएको कमजोरीलाई यी कुराहरुले छोप्न फिल्म सफल छ।

त्यस्तै, फिल्मभरि सबैभन्दा धेरै आश गरिएको तर फितलो ढंगले प्रस्तुत गरिएको पात्र हो रुक्की (दिया मास्के)। निरीह, कमजोर पात्रका रुपमा उनको प्रयोग गरिएको छ।

कमाइ गर्न श्रीमान् टाढा गएको धेरै वर्ष भइसकेका आम महिलाकी प्रतिनिधि पात्र हुन् रुक्की। सानी छोरीसहित एकल जीवन बिताइरहेकी उनी हिम्मतिली महिला हुन्।

जाँड बेचेर गुजारा चलाएका रुक्कीजस्ता पात्रको दर्दनाक घटना धेरै थिए। तर फिल्ममा भने केटाको माया पाउन जे पनि गर्ने पात्रका रुपमा उनलाई उभ्याइएको छ। रुक्कीलाई वास्तविक देखाउन नसक्नु फिल्मको अर्को कमजोरी हो। उनी फिल्मको मुख्य पात्रलाई आकर्षित गर्नका लागि मात्रै फिल्ममा अटाइएकी छन्। द्वन्दकालमा महिलालाई कस्तो प्रकारले प्रयोग गरिएको थियो भन्नेतिर निर्देशकको ध्यान नगएको देखियो।

घनश्याम अध्यक्ष (माओत्से गुरुङ), पात्रे बुढा (लोकमणि सापकोटा), कमाण्डर संगीत (सुरज मल्ल), नाइके (रोय दीप) लगायतका पात्रहरुमा पनि खासै मिहिनेत गरिएको छैन। डल्लेको भूमिका निभाएका साजन थापालाई भने दृष्यमा देख्ने बित्तिकै दर्शक हाँसिहाल्छन्। 

गाउँका युवा पात्रहरुलाई बलियो रुपमा प्रस्तुत गर्न नसक्दा फिल्म जति मज्जाको हुनुपर्थ्यो त्यति भएको छैन। बलिया र बेरोजगार युवा गाउँमा निष्फ्रिकी छाड्ने वातावरण त्यो समयमा थिएन। आफैं माओवादीको तारो बनेका घनश्याम अध्यक्षका कारण मात्रै उनीहरु गाउँमा बस्न सक्दैनथे। यी पात्रहरुलाई विश्वसनीय ढंगबाट फिल्ममा देखाउन सकिएको भए अझ मज्जा आउने थियो।

अभिनय सबैको औसत छ। दिया मास्केले ऐना हेर्दै मेकअप गरेको दृष्य भने अब्बल छ। चर्किएको सिसा र चर्किएकी रुक्कीलाई देखाउन यो दृष्य काफी छ। त्यस्तै प्रेमको बदलामा पीडा पाएकी रुक्कीलाई क्लोज सटमा देखाइएको दृष्य पनि मार्मिक छ। कतिपय क्लोज सटमा भने कलाकारको फेसियल एक्स्प्रेसन देखिएको छैन। अनुहारले अभिनय गर्न सकेका छैनन्।

मिड क्लोजप सटमा फिल्मको कथा भनिएको छ। क्यामेराले पनि कथा भन्छ भनेर सिकाउन फिल्म सफल छ। सुन्दर छायांकन भनेको दृष्य खिच्नु मात्रै हैन भन्ने कुरा दोखले प्रष्ट पार्छ।

फिल्ममा अर्को सशक्त पाटो हो ब्याकग्राउण्ड म्युजिक। दर्शकलाई अब के होला, कस्तो होला भनेर ध्यान तानिराख्न महात्वपूर्ण भूमिका खेलेको छ पार्श्व संगीतले। डाँडामा चलिरहेको हावाले पात्रको मनोदशा देखाएको छ।

फिल्म हेर्दा बीचमा केही स्लो अनुभूति हुन्छ। त्यस्तै फुटबल (गोल) खेल्दाका दृष्य पनि केही लामा छन्।

फिल्मको पहिलो प्राथमिकता मनोरञ्जन दिनसक्नु नै हो। वास्तविक सामाजिक कथामा फिल्म बनाउँदा सबैभन्दा चुनौती पनि सायद यही होला। फ्याक्ट तोडमोड नगरी, एउटाको पक्षपोषण नगरी मनोरञ्जनात्मक फिल्म पस्कने आँट गर्नु चानचुने कुरा हैन। 

टाइफाइड बिग्रियो भने मात्रै बन्दैन, फिल्म सप्रियो भने पनि दोख बन्छ भन्ने देखाउन केही हदसम्म निर्देशक अनुप बराल सफल भएका छन्।

असार २६, २०७९ आइतबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।