श्रीलंकाली राष्ट्रपतिले जुलाई १३ मा राजीनामा दिने

श्रीलंकाली राष्ट्रपतिले जुलाई १३ मा राजीनामा दिने

एजेन्सीः श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले यही जुलाई १३ तारिखमा पदबाट राजीनामा दिने भएका छन्। राजपाक्षेले श्रीलंकाली संसद्का सभामुख महिन्दा यापा अविवर्दनालाई यसबारे जानकारी गराएका हुन्।

श्रीलंकाका विभिन्न राजनीतिक दलहरूले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ।

यसअघि प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन्। प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरूले संसद्मा गरिरहेका थिए।

उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। उनीहरूले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन्।

उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास  छोडेका छन्।

असार २६, २०७९ आइतबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।