रामचरणकी श्रीमती भन्छिन्- जनसङ्ख्या बढ्छ भनेर बच्चा जन्माउन मन छैन, सद्गुरुले गरे तारिफ

रामचरणकी श्रीमती भन्छिन्- जनसङ्ख्या बढ्छ भनेर बच्चा जन्माउन मन छैन, सद्गुरुले गरे तारिफ

एजेन्सीः दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रामचरणको विहे भएको १० वर्ष बितिसक्यो। तर रामचरण र उनकी श्रीमती उपासनाको हालसम्म पनि बालबच्चा छैनन्।

उपासनाले केही समयअघि भने एक इभेन्टमा आफूले बच्चाको चाह नगरेका कारण नजन्माएको स्पष्टिकरण दिएकी छिन्। उनका अनुसार उनी यो विहेबाट निकै खुशी छिन् र समाजको दबाबमा आएर बालबच्चाको योजना बनाउन मन छैन।

यस्तै उनले खास कारण पनि खोलिन्। उनले जनसङ्ख्या नियन्त्रणका लागि पनि बच्चा नजन्माउनु अति नै आवश्यक कदम भएको उनको दावी थियो। उपासनाको यस्तो निर्णय सुनेर चर्चित अध्यात्मवादी सद्गुरुले पनि तारिफ गरेका छन्।

तारिफ मात्र होइन, सद्गुरुले त जीवनभर बच्चा नजन्माउने हो भने आफूले एक पुरस्कारै दिने पनि घोषणा गरे।

सद्गुरुले भने, 'मानिसहरू कार्बन फुटप्रिन्टको बारेमा चिन्तित छन्। जबकी मानिसको फुटप्रिन्ट घटाइदियो भने ग्लोबल वार्मिङको बारेमा चिन्ता गर्नै पर्दैन। त्यसैले ती महिलाहरूलाई हेर्नु राम्रो हो जसले प्रजनन् नगर्ने निर्णय लिएका छन्।' 

उपासनाले मानिसहरूले आफ्नो जीवनको 'तीन आर'माथि बारम्बार प्रश्न गरेकोमा दुःखी भएको पनि बताइन्। तीन आर अर्थात् - रिलेशनसिप (सम्बन्ध), रिप्रोडक्सन (प्रजनन्) र रोल (भूमिका)। उनले भनिन्, 'म मेरो विहेबाट खुशी छु। म मेरो परिवारलाई निकै माया गर्छु। तर किन मानिसहरू मेरो तीन आरमाथि प्रश्न गर्छन्?'

यता रामचरण पनि तत्काल बच्चा चाहँदैनन्। उनले अघिल्लो वर्ष भनेका थिए, 'मेगास्टार चिरञ्जीवीको छोरा हुनुको नाताले मेरो जिम्मेवारी फ्यानहरूलाई खुशी राख्नु हो। यदि मैले परिवार सुरु गरें भने म मेरो मिसनबाट भड्किन सक्छु।'

यी दुईको विहे सन् २०१२ मा भएको थियो। दुवै जना एकअर्कालाई कलेज पढ्दादेखि नै चिन्थे। 

उपासना एक सफल उद्यमी हुन्। यस्तै अपोलो लाइफको उपाध्यक्ष र एक म्यागजिनको प्रधानसम्पादक पनि हुन्।

असार २६, २०७९ आइतबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।