यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट ११ महिनामा ५१ हजार ७०३ लाइसेन्स जारी

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट ११ महिनामा ५१ हजार ७०३ लाइसेन्स जारी

बुटवल : यातायात व्यवस्था कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार ७०३ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ। 

कार्यालयले नयाँ सवारी चालक अनुमतिपत्र ४० हजार ८८ सय ८७ र वर्ग थप सहित १० हजार ८१६ गरी ५१ हजार ७०३ वटा लाइसेन्स जारी गरेको हो।

११ महिनाको अवधिमा ९० हजार ९ सय १८ नयाँ सवारी चालक अनुमतिपत्र दर्ता भएकोमा ४० हजार ८८७ ले लाइसेन्स प्राप्त गरेका हुन्। थप वर्गतर्फ २७ हजार ९७६ दर्ता भएकोमा १० हजार ८१६ जनाले लाइसेन्स प्राप्त गरेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए।

बुटवलको हिलपार्कबाट सेवा दिइरहेको कार्यालय एक हप्तादेखि बुटवल बेलबासमा आफ्नै भवनमा गएको प्रमुख यादवले बताए। उनका अनुसार ३६ हजार ७६९ वटा लाइसेन्स नवीकरण भएका छन् भने प्रतिलिपि ८७९, नवीकरण प्रतिलिपी ९ सय ५० वटा गरिएको उनले बताए।

त्यस्तै कार्यालयले जेठ मसान्त सम्म २५ करोड १२ लाख ९४ हजार ५४४ रुपैयाँ राजस्व संकलन गरेको छ। नयाँ सवारी चालक अनुमति दर्ताबाट  ४ करोड ५४ लाख ५९ हजार, वर्ग थपबाट १ करोड १५ लाख ७० हजार, सवारी चालक अनुमतिपत्र नवीकरणबाट ११ करोड ५७ लाख ८ हजार, प्रतिलिपिबाट  ४ लाख ३९ हजार ५ सय, नवीकरण प्रतिलिपितर्फ ४८ लाख ९१ ह्जार ५ सय रुपैयाँ राजस्व उठेको छ।

त्यसैगरी नयाँ सवारी चालक अनुमतिपत्र जारीतर्फ ६ करोड ५२ लाख ४८ हजार, वर्ग थप सहित चालक अनुमतिपत्र जारीबाट ५ करोड ३६ लाख ६ हजार, अन्य (दोहोरिएको) १ लाख ५४ हजार ५४४ गरी २५ करोड १२ लाख ९४ हजार ५४४ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख यादवले बताए।

असार २६, २०७९ आइतबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।