जीतगढी किल्लाको गुरुयोजनामा शिव र हनुमान मन्दिरको जग्गा अतिक्रमण

जीतगढी किल्लाको गुरुयोजनामा शिव र हनुमान मन्दिरको जग्गा अतिक्रमण

बुटवल : बुटवलको ऐतिहासिक जीतगढी किल्लाको गुरुयोजना बनाउँदा त्यहाँस्थित शिव र हनुमान मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरिएको पाइएको छ।

सुन्दर बनाउने र विरतालाई झल्काइरहने बहानामा ऐतिहासिक सम्पदा जितगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माणको काम थालेको उपमहानगरपालिकाले शिव-हनुमान मन्दिरको जग्गा प्राप्ति नै नगरी गुरुयोजना बनाएर काम थालेपछि स्थानीयवासी आक्रोशित भएका छन्।

बुटवल उपमहानगरपालिका साविक वडा नम्बर ३ मा रहेको कित्ता नं. ८ को शिव-हनुमान मन्दिरको जग्गा कानुन अनुसार प्राप्ति नगरी हडपेको स्थानीयले बताएका छन्।

मन्दिरका नाममा रहेको कुल ४ कठ्ठा जग्गामध्ये ३ कठ्ठा जग्गामा अहिले गुरुयोजना अनुसार त्यहाँ संरचना निर्माणको काम भइरहेको छ।

गुरुयोजना तयार गर्दा मन्दिरको नाममा रहेको जग्गा अधिग्रहण गर्नुपर्नेमा त्यसो नगरी उपमहानगरपालिकाले अतिक्रमण गरेर मन्दिरको दक्षिणतर्फ धमाधम काम गरिरहेको श्री हनुमान गढी महावीर मन्दिर समितिका अध्यक्ष भीमनाथ शर्माले बताए।

मन्दिर समितिले २०७८ सालसम्मको तिरो उपमहानगरपालिकालाई बुझाएको छ। उपमहानगरपालिकालाई सम्पत्ति कर बुझाइरहेको अवस्थामा मन्दिरको जग्गा जबरजस्ती हडप्न नपाइने उनले बताए।

जग्गा प्राप्ति ऐन अनुसार उपमहानगरपालिकाले निश्चित मुअब्जा दिएर मन्दिरको जग्गा प्रयोग गर्नुपर्नेमा त्यसो नगरी मन्दिरको जग्गामाथि संरचना निर्माण गर्ने काम उपमहानगरपालिकाले गरेको शर्माको आरोप छ।

जीतगढीको गुरुयोजना बनाउँदा आफू सरकारी सेवामा रहेको र सरकारी कर्मचारीका हैसियतले एक पटक छलफलमा बसे पनि गुरुयोजना निर्माणको काम स्थलगत समेत नगरी स्थानीयसँग सर-सल्लाह नै नगरी तयार गरेको उनले बताए।

उक्त शिव र हनुमान मन्दिर हनुमान गढी महावीर मन्दिर समितिबाट सञ्चालित छ। उक्त मन्दिर वि.सं. १९७० सालमा बनेको बताइएको छ। मन्दिरका संस्थापक गुरुजीका तेस्रो पुस्ता भीमनान शर्मा हुन्।

उनका बुबा पदमनाथ शर्माले यो मन्दिरको संरक्षण, प्रबर्द्धन गर्दै आएका थिए। हाल पदमनाथको निधन भइसकेको छ। मन्दिरले जग्गाधनी लालपुर्जा भने २०६१ साल फागुन २८ गते प्राप्त गरेको थियो।

समितिले २०७८ माघ ५ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गएर निर्माण कार्य रोक्न माग गर्दै निवेदन समेत दिएको भए पनि प्रशासनले भने पत्रको फोटोकपी त्यसै दिन उपमहानगरपालिकालाई दिए पनि निर्माणको काम उपमहानगरपालिकाले नगरेको उनले बताए।

गुरुयोजना अनुसार काम गर्दा जग्गाधनी लालपुर्जाभित्र रहेको पिपलको रुख समेत कसैलाई नसोधी काटिएको उक्त मन्दिर समितिका अध्यक्ष शर्माले बताए। पुरातत्व विकागसँग समेत समन्वय नगरी गुरुयोजना काम भएको समेत कतिपय स्थानीयले बताउँदै आएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं. १ का पूर्व वडाअध्यक्ष महेन्द्र लिगलले मन्दिरका बारेमा पटकपटक छलफल भएर सहमति भएपछि नै गुरुयोजना तयार भएको बताए। उनले जीतगढी पछि मात्र मन्दिर हुने भन्दै यो सवालमा उपमहानगरपालिकाले छलफल गरेरै गरेको निचोडका आधारमा काम अघि बढेको बताए। उनले अहिले यसलाई अनावश्यक रुपमा कुरा उठाउन थालिएको समेत बताए।

बुटवल उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले भने पहिलेकै वडा अध्यक्षले सल्लाहै नगरी मन्दिरलाई गुरुयोजना भित्र पारेको बताए। उनले किल्लाले पुरातात्तिक महत्व र मन्दिरलाई असर नगर्ने र मन्दिरको अस्तित्व पनि राखेर काम गर्नुपर्ने बताए।

मन्दिर परिक्रमा गर्ने ठाउँ राखेर काम गर्न आफूले आग्रह गरेको बताउँदै उनले नेपाली सेनाले पनि स्थानीयसँग समन्वय नगरी काम गरिरहेको उनले बताए। ‘जति पनि काम भएको छ। त्यो पुराना जनप्रतिनिधिकै निर्णयबाट भएको हो। अब हामी आएका छौं। हामीले सर्वपक्षीय गुनासो सुन्छौं, छलफल गरेर अगाडि बढ्छौ,’ उनले भने।

बुटवल उपमहानगरपालिकाले २ बिघा जग्गा र अन्य महत्वका क्षेत्रहरु संरक्षण गरेर गुरुयोजना बनाई त्यहाँ काम गरिरहेको छ। जितगढी किल्लामा निर्माण गरिने सम्पूर्ण संरचनाको लागि ८ करोड १२ लाख ८९ हजार २७ रुपैयाँ लागत अनुमानसहित काम सुरू गरिएको छ भने जग्गा अधिग्रहण र मुआब्जाका लागि झण्डै एक अर्ब लागत अनुमान गरी प्रदेश सरकार तथा संघीय सरकारमा पठाइएको छ।

गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल र ९ वडा नं १० लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको छ।

त्यहाँ दुई वर्ष पहिले नै उपमहानगरपालिकाले कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण गरेको छ। त्यस्तै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा दुई वर्षदेखि त्यहाँ फहराइएको छ। डबली पनि बनाइएको छ।

बुटवल उपमहानगपालिकाका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीकै अग्रसरतामा ऐतिहासिक किल्लालाई संरक्षण गर्ने नाममा अनावश्यक कंक्रिट ठड्याउन लागिएको भन्दै आलोचना समेत भइरहेको छ।

तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदास्थल हो। तिनाउ नदी किनारमा रहेको ऐतिहासिक सम्पदामा बुटवल उपमहानगरपालिकाले संरक्षणको बाहनामा कंक्रिटका संरचना निर्माण गरिएको संस्कृत विद्ले चिन्ता व्यक्त गरिरहेका छन्।

जनप्रतिनिधि आएपछि संरक्षणको पहल सुरु भएको भए पनि आर्कषक र सुन्दर बनाउने नाममा जितगढीकै अस्तित्वमा असर गर्ने संरचना तयार हुँदा यसको ऐतिहासिकता, मौलिकता नबच्ने हो कि भन्ने चिन्ता संस्कृतविद्हरुले गरेका छन्।

संस्कृतविद् निर्मल श्रेष्ठले जीतगढी किल्लामा कंक्रिट बनाउँदै जाने हो भने त्यो पछि जंगल बन्ने र पहिचान नै मेटिन सक्ने बताए।

‘विदेशीले त्यहाँ आएर किल्ला कसरी बनेको छ। त्यहाँको आर्टिटेक कस्तो छ। त्यो हेर्न चाहन्छ। तर कंक्रिट बनाउँदा पुरानो पहिचान हराउँदै जान्छ। यो मैले बारम्बार विभिन्न फोरममा भनेको पनि छु,’ उनले भने।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स. १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले जितगढी क्षेत्रबाट विजय हासिल गरी अंग्रेस फौजलाई फिर्ता पठाएको इतिहास छ।

विरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो।

नेपाली वीर सेनाले पटक पटक अंग्रेजी साम्राज्यवादलाई परास्त गरी जीतगढी नामले प्रख्यात सो ऐतिहासिक गढी-किल्ला १६/१७ औं शताब्दीतिर सेन वंशीय पृथ्वीलाल सेन पाल्पाली राजाहरुको पालनामा निर्माण भएको अनुमान गरिएको छ।

बुटवलको गढी-किल्लामा भएको लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगति प्राप्त गरेका थिए।

असार २५, २०७९ शनिबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।