पोखरा पनि सुरु भयो, सवारी साधनमा लेखिएका ‘सवारी साहित्य’ हटाउने अभियान
पोखरा : ट्राफिक प्रहरीले पोखरा क्षेत्रमा पनि सवारी साधनमा लेखिएको कविता, सायरी (सावरी साहित्य) हटाउने अभियान थालेको छ। शुक्रबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारीका साधनहरूमा लेखिएका अश्लील, अपाच्य, कानून विपरीतका समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल लगायतका लेखहरूलाई हटाउने अभियान थालेको हो।
यस अघि काठमाडौँ ट्राफिक प्रहरीले सवारीका सायरी, कविता हटाउने अभियान चलाएको थियो। त्यसकै सिको गर्दै कास्की ट्राफिक प्रहरीले पनि ट्रक, बस, भ्यान, जीप ट्रिपर लगायतका सवारीमा लेखिएको सवारी साहित्यलाई हटाएको हो।
सवारीका विभिन्न भागमा लेखिएका सामग्रीले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको भेटिएपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको जनाएको छ।
कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना, कविता, सायरी लेख्न नपाइने भएकाले कानुनको कार्यान्वयन गर्न अभियान चलाइएको कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।
उनले अश्लील लाग्ने, सामाजिक, मानसिक रूपमा असर पुर्याउने, हिंसा, विकृति बढाउने खालका शब्द प्रयोग गरिएका गतिविधि रोक्न अभियान लगाइएको बताए। प्रहरी निरीक्षक शाहले सवारीको सिसामा स्टिकर र अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सूचना प्रवाह गरेका बताए।
असार २४, २०७९ शुक्रबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।