राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना
सुर्खेत : राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ। बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात÷सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो।
यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो। अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतकै चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात÷सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो।
उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ। यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।
जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।
उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो। मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा गत जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो। राउटे समुदायका युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर ‘अश्लील’ बोल्दै बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ परेका थिए।
२० र २३ वर्षकी राउटे युवतीहरूमाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि पीडितलाई अनुसन्धानमा सहयोग गर्न र राउटे बस्तीमा सुरक्षा सहजीकरण गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय समिति गठन समेत गरिएको थियो।
असार २४, २०७९ शुक्रबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।