जापानका पूर्व प्रधानमन्त्री आबेलाई गोली हान्ने सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य

जापानका पूर्व प्रधानमन्त्री आबेलाई गोली हान्ने सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य

एजेन्सी : जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यामा संलग्न सुटर सेल्फ डिफेन्स फोर्समा पाँच वर्ष काम गरिसकेका व्यक्ति रहेको खुलेको छ। घरेलु हतियारबाट गोली हानेर उनले आबेलाई घाइते बनाएका थिए। पछि उपचारकोक्रममा उनको मृत्यु भएको थियो।

सुरक्षाकर्मीले घटनास्थलमा उनलाई नियन्त्रणमा लिँदा उनी शान्त थिए। खैरो टिसर्ट र ट्राउजर लगाएका उनले २ राउन्ड गोली प्रहार गरेपछि भाग्ने प्रयासै नगरी शान्त बसेका थिए। सुरक्षाकर्मीले नियन्त्रणमा लिएका उनी ४१ वर्षको रहेको र उनको नाम तेत्सुया यामागामी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनी सन् २००५ सम्म सेल्फ डिफेन्स फोर्सको सदस्य रहेको दाबीहरू आइरहेका छन्। चुनावी अभियानको क्रममा शुक्रवार बिहान नारा सहरको सडकमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो। गोली लागेर भुईँमा ढलेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो। तर उनको ज्यान जोगिन सकेन।

उनी सरकार सञ्चालन गरिरहेको लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता हुन्। सन् २०२० मा उनले प्रधानमन्त्री पद छाडेका थिए।

सुरक्षाकर्मीको नियन्त्रणमा रहेका यामागामीले आफू आबे प्रधानमन्त्री हुँदा उनको कामबाट सन्तुष्ट हुन नसकेकाले गोली हानेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

असार २४, २०७९ शुक्रबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।