बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए क्युआरबाट भुक्तानी गरेपछि चिया दिने ‘टी-स्क्यान’ क्युआर भेन्डिङ मेसिन

बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए क्युआरबाट भुक्तानी गरेपछि चिया दिने ‘टी-स्क्यान’ क्युआर भेन्डिङ मेसिन

बुटवल : बुटवलका जुम्ल्याहा दाजुभाइ लव र कुश पन्थीले ‘टी-स्क्यान’ क्युआर भेन्डिङ मेसिन बनाएका छन्। यी दाजुभाइ यसअघि गो-गो रोबोट बनाएर चर्चामा आएका थिए।

गुल्मीको मालिका गाउँपालिका-७, घमिर स्थायी घर भएका लव-कुश बुटवल-१०, योगिकुटी बस्दै आएका छन्। उनीहरुले बनाएको यो मेसिनबाट क्युआर कोड स्क्यान गरेपछि मेसिनबाट चिया आउने गर्छ।

‘टी-स्क्यान’ मेसिनको बाहिर माथिपट्टि क्युआर कोड राखिएको छ। चिया पिउन इच्छुक जो-कसैले बाहिर राखिएको क्युआर कोडमा स्क्यान गरेर तोकिएको रकम भुक्तानी गरी चिया पिउन सक्ने छन्। 

पैसा भुक्तानी भएसँगै चिया पिउने व्यक्तिले मेसिनमा कप राख्नुपर्छ। यदि क्युआर कोडमार्फत ई-सेवामा पैसा जम्मा भएको छ भने कपमा आफैँ चिया झर्छ।

क्युआर स्क्यान प्रयोग गरेर चिया पकाउन तयार गरिएको यो मेसिन नेपालमै पहिलो भएको दावी लव-कुश दाजुभाइको छ। ई-सेवा र फोन पेले एपिआइ र क्युआर कोडमा सहयोग गरेको छ।

चियाको मूल्य र चियाको मात्रा मेसिनमा सेट गरिएको छ। यसलाई आवश्यकताका आधारमा मूल्य समायोजन र चियाको परिमाणलाई थपघट गराउन सकिने उक्त मेसिनका आविष्कारक लव पन्थीले जानाकारी दिए।

रातो चियाका लागि पानी र चिनीको मात्रा भाँडामा राखेपछि तापक्रम कन्ट्रोल मेसिनबाटै हुन्छ भने सेतो (दूध) चिया पिउनका लागि भने तयारी चिया मेसिनमा राख्नुपर्छ।

उनीहरुले तयार गरेको मेसिन ६ लिटरको छ। यसमा कम्तीमा ६ घण्टासम्म तातो रहिरहने गरी त्यहाँ तापक्रमको व्यवस्थापन गरिएको छ।

मेसिनको माथि रहेको क्युआरमा स्क्यान गरेपछि भित्रको प्रोसेसरले भुक्तानी भएको थाहा पाएपछि मात्र नोजलबाट चिया आउने गर्छ। उक्त मेसिनमा सी प्रोग्रामिङ ल्याङ्वेज प्रयोग भएको मेसिनका आविष्कारक लवले बताए।

यो टि-स्क्यान मेसिनलाई लवकुश रोबर्टिस अन्तर्गत दर्ता समेत गर्ने योजना उनीहरुको छ।

१८ वर्षीय यी जुम्ल्याहा दाजुभाइले चार महिनाको प्रयासबाटै यो ‘टी-स्क्यान’ क्युआर भेन्डिङ मेसिन बनाएका हुन्।

अध्ययनका क्रममा काठमाडौं बस्दा बसपार्क, पार्क, सिटी सेन्टर, अस्पताल लगायतका स्थानमा थर्मसमा चिया बेच्दै हिँडिरहेका मान्छे देखेपछि त्यहीँबाट प्रभावित भएर यो मेसिन बनाउन उत्साहित भएको लवले बताए। त्यही समयमा गरेको परिकल्पना चार महिनामै पूरा भएको उनको भनाइ छ।

दाजुभाइले तयार बनाएको यो मेसिन अस्पतालको कुरुवा बस्ने ठाउँ, विमानस्थल, बसपार्क, पार्क र होटलमै पनि प्रयोग गर्न सकिन्छ। त्यति मात्र नभई सरकारी कार्यालयमा समेत यो मेसिन राख्न सकिने मेसिनका अर्का आविष्कारक कुशले बताए।

‘टी-स्क्यान’ क्युआर भेन्डिङ मेसिन प्रयोग गर्दा यसको भुक्तानी सिधै अनलाइन हुँदा आर्थिक पारदर्शिता समेत हुने उनले बताए। उनले यो मेसिनलाई बिक्री नै गर्ने गरी योजना बनाएको समेत जानकारी दिए।

‘हामीले तयार पारेका पहिलेका प्रोजेक्टहरु बिक्रीका लागि तयार भएका थिएनन्। यसलाई भने बिक्रीका गर्ने योजना बनाएका छौं। यदि कसैले चाह्यो भने तयार गरेर दिन सक्छौं,’ कुशले भने।

अहिले यो मेसिन तयार पार्नका लागि २६ हजार मात्र खर्च भएको छ। उनका अनुसार मेसिन खरिद गर्न चाहनेहरुका लागि मेसिनको मूल्य २९ हजार ९९९ रुपैयाँ राखिएको छ। 

‘यदि कसैले सानो लगानीमा समय कम खर्चेर यो काम गरोस् र आय-आर्जनमा जोडियोस् भन्ने उद्देश्यले यो मेसिन आविष्कार गरेका हौं। यो मेसिन पढ्दै गरेका विद्यार्थीले समेत खरिद गरेर आय-आर्जनमा जोडिन सक्ने छन्। समय दिनु नपर्ने, विद्युक्त निरन्तर प्रवाह हुने स्थानमा राखिदिए मात्र हुने गरी तयार भएको छ,’ उनले भने।

लव-कुशले बुटवलको नवLन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दा पहिलो प्राजेक्ट स्वरुप गो-गो रोबोट बनाएका थिए।

१४ वर्षकै उमेरमा ‘गो-गो रोबोट’ बनाएका उनीहरुले एसइईपछिको खाली समयमा नेपालको पहिलो नेपाली भाषा बोल्ने ‘लवकुश मार्स रोबोट’ तयार गरेका थिए। कोरोनाको समयमा पनि उनीहरु खाली बसेनन्। 

बुटवलको योगिकुटीमा भैरहवा जाने मुख्य राजमार्गमा ‘सेनिटाइजर टनेल’ समेत बनाए। कोरोनाले विद्यालय बन्द हुँदा यी दाजुभाइले आइसोलेसनमा औषधि पुर्याउन सक्ने अर्को ‘गो कोरोना नर्स रोबोट’ बनाएका थिए। त्यसपछि उनीहरुको चर्चा अझै चुलियो।

‘गो कोरोना नर्स रोबोट’ बनाएपछि तत्कालीन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। ‘यो रोबोट तयार गरेपछि सबैतिरबाट हौसला प्राप्त भयो। तर पछि प्रतिबद्धता अनुसार सहयोग भने भएन,’ लवले भने।

उनीहरुले तयार गरेको ‘गो कोरोना नर्स रोबोट’ सामाजिक विकास मन्त्रालयलाई प्रदान गरेका थिए। तर उक्त रोबोट लामो समयसम्म मन्त्रालयमै राखे पनि प्रयोगमा भने ल्याइएन।

प्रदेश सरकारबाट अपेक्षित साथ र सहयोग नपाएका उनीहरुले ‘गो कोरोना नर्स रोबोट’ निर्माणपछि बुटवल उपमहानगरपालिकाबाट हौसला र सहयोग भने पाएको बताए। बुटवल उपमहानगरपालिकाले उनीहरुको क्षमताको सम्मान र हौसलाका लागि २ लाख रुपैयाँले सम्मान समेत गरेको थियो।

१८ वर्षीय जुम्ल्याहा दाजुभाइमध्ये लवले काठमाडौंको ओस्कार कलेजमा अध्ययन गर्न सुरु गरेका छन् भने भाइ कुश इन्जिनियरिङ अध्ययनका लागि विदेश जाने तयारीमा छन्।

असार २४, २०७९ शुक्रबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।