विवाद चर्किएपछि बालेन्द्रले माफी माग्दै धर्मगुरुलाई फिर्ता गरे नेपहपको श्रीपेच
काठमाडौँ : आयोजकको हुस्सुपनाले विजेतालाई धार्मिक महत्त्वको मुकुटलाई श्रीपेच भनेर लगाइदिँदा विवादमा आएको हिपहप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को विजेताले श्रीपेच फिर्ता गरेका छन्।
आयोजकले विजेता भाइबर साइमनलाई श्रीपेच भनेर लगाइदिएको मुकुट बौद्ध धर्मावलम्बीसँग जोडिएको खुलेसँगै विवाद बढेको थियो। विवाद साम्य नभएपछि विजेता साइमन र कार्यक्रमका जज तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले धर्म गुरुलाई सो मुकुट हस्तान्तरण गरे।
बौद्ध धर्मसँग जोडिएको सो मुकुट बज्राचार्य समुदायको संस्कृतिसँग जोडिएको र बज्राचार्यहरूको पूजामा अभिषेक पाएपछि गुरुले शिष्यलाई सो मुकुट दिने धार्मिक परम्परा रहेकाले गायन शोको विजेतालाई सोही श्रीपेच दिएपछि बज्राचार्य समुदायले चित्त दुखाएका थिए।
ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट फिर्ता दिए। आयोजकले धार्मिक भावनामा ठेस पुर्याउने आफूहरूको उद्देश्यले सो मुकुट विजेतालाई नदिइएको भन्दै फिर्ता गरे।
शनिवार सम्पन्न शोको फाइनलमा बालेनले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए। शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए।
असार २२, २०७९ बुधबार २३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।