बाबुराम र नारायणी बन्न बागलुङको गाउँ-गाउँ घुम्दैछन् विपिन र नम्रता
काठमाडौँ : फिल्म 'प्रसाद २' का कलाकार विपिन कार्की र नम्रता श्रेष्ठ अहिले बागलुङको भकुन्डेमा छन्। स्थानीयको लवज, दैनिकी र रहनसहन बुझ्न उनीहरू समुदायसँग घुलमिल भइरहेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर फ्लोरमा गएको फिल्ममा विपिन बाबुराम र नम्रता नारायणीको पात्रमा छन्।
फिल्म कास्कीको याङ्जाकोट आसपास छायाङ्कन गरिने भएकाले सो क्षेत्रको रहनसहन बुझ्न र पात्रसँग आफूलाई भिजाउन कलाकारहरू स्थानीयहरूसँग मिलेर काम गरिरहेका छन्। निर्माण टोलीले उनीहरूलाई प्रत्यक्ष कार्यशाला सञ्चालन गरेको हो।
सन्तानहीन दम्पतीको जीवनमा आउने आरोह-अवरोहमा केन्द्रित प्रसाद २०७५ मा रिलिज भएको थियो। यो सोही फिल्मको सिक्वेल हो। प्रसादमा नारायणी र बाबुरामको सहरको सङ्घर्ष समेटिएको थियो। नारायणी बलात्कृत भएर बच्चा जन्माएपछि फिल्म सकिएको थियो। सिक्वेल रहेको र फिल्म छायाङ्कन स्थल ग्रामीण भेग छानेकाले प्रसाद २ मा गाउँ फर्किएपछिको बाबुराम र नारायणीको सङ्घर्ष केन्द्रित रहेको देखिन्छ।
फिल्ममा विपिन, नम्रता र अर्पणसँगै राज कटुवाल,कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारीको अभिनय रहनेछ। फिल्मको निर्देशन सुदर्शन थापाले गरिरहेका छन् भने निर्माता केशव पाण्डे र सुभाष थापा छन्। फिल्म सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन्। प्रसाद पनि उनैले लेखका थिए।
बागलुङ र कास्कीको समाज र रहनसहन बुझाउने कार्यशाला सकिएपछि फिल्म फ्लोरमा उत्रिने निर्माण टिमले बताएको छ।
असार २२, २०७९ बुधबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।