'कोर एरिया' का झुर सामुदायिक विद्यालय
काठमाडौँ : स्थानीय तह निर्वाचनमा खुबै चर्चामा आयो 'कोर सिटी' शब्द। काठमाडौँ महानगरपालिकाको नेतृत्व चयनमा निर्णायक मत मानिएको भित्री सहरका मतदाताले राजनीतिक चेत देखाए यो पटक।
तर, त्यही कोर सिटीमा रहेका सामुदायिक विद्यालयको अवस्था हेर्ने हो भने त्यो राजनीतिक चेत सामाजिक चेतमा बदलिन बाँकी नै रहेको स्पष्ट देखिन्छ।
साँघुरो अनि अँध्यारो कक्षा कोठा। न आपंग मैत्री न पर्याप्त खेल मैदान। कोर सिटीका २५ सामुदायिक विद्यालय आफ्नो अस्तित्व जोगाउने संघर्षमा देखिए।
विद्यार्थीलाई चौरको मुहार देखाउनुपर्यो भने कि टुँडिखेल कि रंगशाला नै लैजानुपर्ने बाध्यता छ। कोर एरियाका विद्यालयमा त्यहीँका रैथानेका सन्तान भने पढ्दैनन्।
पाँच-पाँच मिनेटको फरकमा छन् विद्यालय। विद्यार्थी संख्या न्यून छ। तर मर्जरतिर जान चाहेको देखिएन अधिकांश विद्यालय।
दुई आनामा भवन रहेका विद्यालय पनि यही छन्, जुन सडकमै छन् र विद्यार्थी आउने र जाने समयमा सडक बन्द गर्नुपर्ने अवस्था छ। अझ त्यही भित्री सहरका करिब १० विद्यालय नमुना विद्यालयको सूचीमा पनि छन्।
महानगरका नमुना विद्यालय कस्ता छन् भनेर त उकेराले यस अगाडि नै समाचार प्रकाशित गरिसकेको छ।
विद्यालयमा पर्याप्त डेस्कबेञ्च छैनन्। विभिन्न संघ-संस्थाबाट आएको अनुदानकै भर परिरहेका छन् अधिकांश भित्री सहरका सामुदायिक विद्यालय।
निम्न आय भएका र विपन्न वर्गका बालबालिका नै हुन् भित्री सहरका सामुदायिक विद्यालयका विद्यार्थी। डेरा सरेसँगै विद्यार्थी पनि सर्छन्।
संघ-संस्थाको भरमा चलेको शान्ति शिक्षा मन्दिर
काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको शान्ति शिक्षा मन्दिर क्षेत्रपाटी वा असनको भित्री बाटो हुँदै पुग्न सकिन्छ। यो विद्यालयको गेटबाटै निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवन देख्न सकिन्छ।
गेटभित्र निर्माणाधीन भवनको नजिकै भर्खरै निर्माण सम्पन्न भएको अर्को भवन छ। उक्त भवन एक वर्षअघि मात्रै एसियन डेभलपमेन्ट बैंकको सहयोगमा निर्माण भएको हो।
एक समय निकै राम्रो मानिएको यस विद्यालयमा २०७२ भूकम्पपछि भने जम्मा ६० जना मात्र विद्यार्थी थिए। थोरै विद्यार्थी भएका कारण विद्यालय मर्ज गर्ने कुरा पनि उठेको थियो।
विद्यालयका प्रधानाध्यापक सुदामप्रसाद गौतम भन्छन्, 'त्यस समय ६० जना विद्यार्थी र ४० जना शिक्षक थिए। विद्यालयको स्थिति एकदमै कमजोर भएकाले मर्ज गर्ने भन्ने कुरा पनि भएको थियो।’
प्रधानाध्यापक गौतमले यस विद्यालयको नेतृत्व गरेको पाँच वर्ष मात्र भएको छ। आफू र आफ्नो टिमको मिहिनेतले अहिले विद्यार्थी संख्या बढेको उनको दावी छ।
'हामीले विद्यार्थी कसरी बढाउने भन्नेमै ध्यान दियौं। सामुदायिक विद्यालयमा विशेषगरी निम्न वर्गका विद्यार्थी पढ्न आउँछन्। हामीकहाँ पनि त्यही वर्गका बालबालिका बढी छन्। ती विद्यार्थीहरु घरमा राम्रोसँग खान पाउने अवस्थामा समेत हुँदैनन्,’ उनी भन्छन्, 'हामीले दिवा खाजाको व्यवस्था गर्यौं। त्यसका लागि इजरायल दूतावाससँग पाँच वर्षको लागि दिवा खाना कार्यक्रम सञ्चालन गर्ने सम्झौता भयो।'
सो कार्यक्रम सुरु गरेको पहिलो वर्षमै ६० बाट ३ सय १० जना विद्यार्थी भए। सरकारले दिवा खाजाको व्यवस्था मिलाउनुभन्दा अगाडि नै आफ्नो विद्यालयले खाजाको व्यवस्था गरिसकेको उनको दावी छ।
थहिटीका स्वयंसेवकहरुले स्थानीय पढ्नको लागि विसं. २००७ सालमै यो विद्यालय स्थापना गरेको प्राधानाध्यापक गौतम बताउँछन्। उनका अनुसार साल्ट ट्रेडिङका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धरले १९ हजारमा ३ रोपनी जग्गा लिएर विद्यालय बनाएका हुन्।
अहिले निर्माणाधीन अवस्थामा रहेको भवन रोटरी क्लबको सहयोगमा बनेको हो। उनका अनुसार विद्यालयमा हाल २५/३० वटा एनजिओ आवद्ध छन्।
अहिले विद्यालयमा करिब ३ सय ८० जना विद्यार्थी छन् भने ३० जना शिक्षक छन्। सबै कक्षा कोठा आधुनिक छन्। अरु विद्यालयभन्दा अलि फराकिलो भए पनि ठूला खेल खेल्न भने रंगशाला नै जानुपर्ने अवस्था छ।
हिमालय माविको आँगन नै पार्किङ
महानगरको वडा नं २२ मा रहेको हिमालय मावि न्युरोड गेटबाट ५/६ घर पछि आउने गल्लीमा छ। गल्लीभित्र पस्ने बित्तिकै पार्किङ गरिएका मोटरसाइकलको ताँती देखिन्छ। त्यसकै अगाडिको अग्लो घर नै हिमालय मावि हो।
विद्यालय भवन बाहेक कतै पनि खाली जमिन छैन। भवन बाहिर विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराउन सम्भवै छैन। खेलको लागि टुँडिखेल अनि अन्य कार्यक्रम गर्न परे नजिकैको मारवाडी सेवा समितिको भवनमा जानुपर्छ।
प्रधानाध्यापक हिरालक्ष्मी श्रेष्ठ विद्यालय जम्मा ६ आना जग्गामा रहेको बताउँछिन्। विद्यालय भवनको जग्गा आफ्नै नाममा भए पनि स्थानीयसँग विवाद भइरहन्छ। विद्यालय अपाङमैत्री पनि छैन।
अहिले करिब ३ सय विद्यार्थी रहेको यो विद्यालयमा २८ जना शिक्षक तथा कर्मचारी छन्।
विद्यालयलाई नेपाल भाषाको हब बनाउने लक्ष्य रहेको बताउँदै प्राधानाध्यापक श्रेष्ठले पहिला स्थानीयवासीका बालबालिका अध्ययन गर्न आए पनि अहिले भने निकै कम रहेको बताइन्।
विद्यालयको मुख्य समस्या भनेको आँगनमै पार्किङ हुनु हो। पहिला त त्यो ठाउँ खाली थियो। त्यहीँ विद्यार्थीहरु खेल्थे। तर पछि त्यहीँ पार्किङ गर्न सुरु गरे स्थानीय क्लबले।
'विद्यालयको आँगनमै पार्किङ गर्नु सुरक्षित भएन नि,' उनी भन्छिन्, 'हामीले पटक-पटक वडा समक्ष यो कुरा राखिरहेका हुन्छौं। तर समुदायका विभिन्न क्लबहरुले पार्किङ चलाइराखेका छन्।'
२०१७ सालमा स्थापना भएको विद्यालयले पक्की भवन भने २०३४ सालमा मात्र शिलन्यास गरेको थियो। २०३६ सालमा निमावि भएको यो विद्यालय २०४६ सालदेखि भने मावि भयो। तर माविमा दरबन्दी एक जना र राहतका शिक्षक २ जना गरी जम्मा ३ जना मात्र शिक्षक छन्।
पर्यटकीय स्थलमा आकर्षण नभएको नवआदर्श मावि
वडा नं २३ स्थित बसन्तपुरको कुमारी घरसँगै टाँसिएको छ नवआदर्श मावि। जम्मा चार तलाको सेतो रङको यो विद्यालयको भवनमा पहिलो तल्ला सबै डेरामा छ, त्यो पनि महानगरकै कार्यालय। विद्यालय भने दोस्रो तलादेखि सुरु हुन्छ। यो विद्यालय पनि अपाङ्गमैत्री छैन।
पुरानो भवन र साँघुरो कक्षा कोठा छ। सानो र पुरानो संरचनाले बनेको भर्याङ चढ्दा लड्ने जोखिम उस्तै। खेलमैदान छैन। चार आना ३ पैसा २ दाममा रहेको विद्यालयले बिहान लाइन बस्नेदेखि केही कार्यक्रम गर्नु परे अगाडिको सार्वजनिक स्थानको प्रयोग गर्दै आएको छ।
पर्यटकीय क्षेत्र भएकाले बेलाबेला विभिन्न कार्यक्रम भइरहन्छ। त्यसले विद्यालयको वातावरण खल्बलिइरहन्छ।
प्रधानाध्यापक प्रमोदकृष्ण श्रेष्ठका अनुसार विद्यालयका अधिकांश विद्यार्थी काठमाडौँ बाहिरका छन्। अनि घरेलु कामदार। प्राय: काम गरेर पढ्नुपर्ने बालबालिका भएकाले पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुने उनले बताए। १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा ३ सय हाराहारीमा विद्यार्थी छन्।
प्याफलको एउटा सानो छिँडीबाट २३ जना विद्यार्थीलाई पढाउँदै २०१५ सालमा स्थापना भएको यो विद्यालयमा २०४६ सालदेखि भने विद्यार्थीले एसएलसी दिन थालेको रेकर्ड रहेको उनले बताए।
'स्थानीय बालबालिका पढ्न नआएसम्म विद्यालयको अवस्थामा सुधार नहुने रहेछ। सरकारी पदमा रहेका अनि शिक्षकहरुले सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउने हो भने पनि वातावरण सुधारिन सक्छ,' प्राधानाध्यापक श्रेष्ठ भन्छन्, 'सरकारले साँच्चिकै नीति कार्यान्वयन गरेर आफ्ना बच्चालाई पनि सामुदायिक विद्यालयमा पढाउनैपर्छ भन्यो भने कसले नराख्ला र!’
सडकमा अरुणोदय मावि
महानगरको वडा नं १९ स्थित यो विद्यालय सडकमै छ। विद्यालयलाई पनि नेपाल भाषाको हब बनाउने प्रयास भइरहेको छ। तर कसरी भन्ने प्रष्ट योजना छैन।
२ आना २ पैसा ३ दाममा रहेको विद्यालय, सडक नजिकै छ। भौतिक संरचना निकै कमजोर छ। विद्यालय जस्तै देखिँदैन।
'भवन बाहेक हामीसँग अन्य जग्गा छैन। विद्यार्थीलाई सडकमै खेलाउनुपर्छ,’ विद्यालयका प्रधानाध्यापक पाथीबेन्द्रराज मिश्रले भने,’ समस्यै छ।'
डेस्क-बेञ्च पर्याप्त नै भए पनि बालबालिकामैत्री भने देखिएन यो विद्यालय। कोठाका आकार जग्गा कतै त्रिभुज आकारका छन्। शैक्षिक वातावरण सहित विद्यालय सञ्चालन हुनुभन्दा पनि चल्नु नै ठूलो कुरा देखियो।
स्थानीय बाहेक निम्न आय भएका, बाबुआमा गुमाएका, फुटपाथमा पसल भएका बालबालिकाहरु यहाँ पढ्न आउने गरेको देखियो। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा जम्मा १ सय ३० विद्यार्थी छन्। तर निरन्तर आउने विद्यार्थीको संख्या ७०–८० मात्र।
विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था भने ग्लोबल चाइना फाउन्डेसनले गरिरहेको छ। शिक्षक संख्या नेपाल भाषाको समेत गरेर १५ जना छन् भने एक जना कार्यालय सहयोगी।
प्रधानाध्यापक मिश्र विद्यार्थीहरु निरन्तर नआएको र सरकारी नीति अनुसार ग्रेडिङ बढाएर कक्षा चढाउनुपर्ने अवस्था रहेको बताउँछन्। भूकम्पपछि नजिकैको शान्ति निकुञ्ज विद्यालयमा सर्नु परेको कारण पनि विद्यार्थीहरु घटेको उनको भनाइ छ।
त्यतिबेला ४०–५० जना मात्र विद्यार्थी थिए। अहिले भने विस्तारै बढ्दै गएको उनले बताए। त्यही पनि ७–८ कक्षामा ५–६ जना मात्र विद्यार्थी छन्। विद्यालय र विद्यार्थीको संख्या नाजुकै देखिन्छ। यो विद्यालय मर्ज गर्नैपर्ने अवस्थामा देखियो।
प्रधानाध्यापक मिश्र भन्छन्, 'यो मैले भनेर हुने कुरा होइन। यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय सबैले भन्ने कुरा हो। मर्जको लागि सरकारको नीति कति उपयुक्त छ भन्ने कुरा पनि आउँछ।’
घरले छेकिएको त्यौड मावि, तँलाछी
वडा नं २७ मा अवस्थित यस विद्यालय असनको भित्री गल्ली हुँदै जानुपर्छ। गल्लीबाट एउटा घरभित्र छिरेपछि यस विद्यालय देखिन्छ। बाटो एकदमै साँघुरो छ। अनि वरपर पुराना घरहरु। झन्डै १ रोपनी जग्गामा रहेको विद्यालय ३ वटा भवन छन्। भवन भने रोटरी क्लबले दिएको अनुदानबाट बनेको हो।
यस विद्यालयमा पनि खेल मैदान छैन। अपाङ्गमैत्री पनि छैन। खेलको लागि नजिकैका क्लबहरुको फुटसलमा जानुपर्ने बाध्यता छ। विद्यार्थी संख्याको आधारमा डेस्क-बेञ्च भने पर्याप्त नै रहेको प्राध्यानाध्यापक सुरेन्द्र केसीले बताए।
बाहिरी भौतिक संरचनाको कमी भए पनि भित्री संरचना भने पर्याप्त भएको उनको दावी छ। उनका अनुसार यस विद्यालयमा भूकम्पको समयमा दरबार हाइ स्कुलका सबै विद्यार्थी पढ्न आएका थिए। त्यताको भवन पुनर्निर्माण भएपछि भने सबै फेरि उतै गए।
पारिवारिक र आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थी भएकाले नतिजा भने उत्कृष्ट हुन सकेको छैन। उनले विद्यार्थी संख्या ३५० भन्दा बढी रहेको र शिक्षक भने ३१ जना रहेको बताए।
विद्यार्थी संख्याको आधारमा केही शिक्षकको दरबन्दी कम भएको उनले बताए। 'शैक्षिक गुणस्तरको उपलब्धता भनेकै धेरै विद्यार्थी भएका र 'ठूला विद्यालय’ भनेर चिनिने विद्यालय हुन् भनेर त्यसकै मात्रैपछि लाग्दा साना भनिएका विद्यालय, जहाँ थोरै विद्यार्थी छन् उनीहरु ओझेलमा परिरहेका छन्,’ प्राधानाध्यापक केसीले भने।
पहिला कुनै मापदण्ड नतोकी विद्यालय खोल्न अनुमति दिएको कारण अहिले जताततै विद्यालय भएको उनले तर्क गरे। उनी विद्यालयहरु मर्ज गर्नुपर्ने पक्षमा देखिए।
विसं. २०१७ सालमा स्थानीय गोपालदास मानन्धरको पहलमा थोरै जग्गामा स–सानो टहराबाट यस विद्यालय सञ्चालन भएको पाइन्छ। महानगरले लागू नगर्दै पनि यहाँ नेपाल भाषाको पढाइ सुरु भइसकेको थियो।
असार २२, २०७९ बुधबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।