'केजीएफ'को अर्को कीर्तिमान: भोजपुरी डबमा सर्वाधिक हेरिएको फिल्म

'केजीएफ'को अर्को कीर्तिमान: भोजपुरी डबमा सर्वाधिक हेरिएको फिल्म

एजेन्सीः दक्षिण भारतीय फिल्म 'केजीएफ' र यसको सिक्वेलले फिल्मी दुनियाँलाई तरङ्गित बनाएको छ। पहिलो त यसको कमाइ र दोस्रो यसले बनाएको कीर्तिमानहरूले यतिबेला फिल्मी दुनियाँ र विशेषगरी बलिउडलाई ठूलो चुनौती थपिएको छ।

केजीएफ- २ ले हालसम्म एक हजार २१९ करोड भारु कमाएको छ। यसको दुवै भागको संयुक्त कमाइ १५ सय करोड भारु पुग्छ।

हाल कमाइभन्दा पनि अर्को कीर्तिमान बनाएको छ केजीएफको पहिलो भागले। सन् २०१८ मा रिलिज भएको केजीएफलाई सन् २०२० मा भोजपुरी डबमा युट्युबमा हालिएको थियो।

हाल यो समाचार तयार पार्दासम्म युट्युबको उक्त डब भर्सनले ६१ करोड ७१ लाख २५ हजार ८०० भ्युज पाएको छ। भारतीय सञ्चारमाध्यमहरूले युट्युबमा यति भ्युज कुनै पनि भोजपुरी फिल्मले नपाएको बताएका छन्। यस्तै हिन्दी फिल्मले पनि यति भ्युज नपाएको हुनसक्ने आकलन गरिएको छ।

यता भोजपुरी फिल्म उद्योग लोकप्रिय हुँदाहुँदै पनि भोजपुरी डबले उछिनेपछि यसले अर्को बहस पनि सिर्जना गरेको छ।

यस्तै युट्युबमै ५.७ मिलियन लाइक पाएर केजीएफ सर्वाधिक लाइक पाउने फिल्म बनेको छ।

असार २२, २०७९ बुधबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।