लागूपदार्थ र दुर्व्यसनको प्रभाव समेटिएको लघु चलचित्र 'जुभेनाइल' विभिन्न विद्यालयहरूमा देखाइँदै

लागूपदार्थ र दुर्व्यसनको प्रभाव समेटिएको लघु चलचित्र 'जुभेनाइल' विभिन्न विद्यालयहरूमा देखाइँदै

काठमाडौँ : चेतनामूलक लघु चलचित्र  ‘जुभेनाइल’ काठमाडौँको एक विद्यालयमा प्रदर्शन गरिएको छ।

विद्यार्थीलाई ज्ञान तथा चेतनास्तरको विकास गर्ने उद्देश्यले  निर्माण गरिएको लघु चलचित्र 'जुभेनाइल' राजधानीको भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा शुक्रबार प्रदर्शन गरिएको हो।

लागूपदार्थको प्रयोग, यसको दुरुपयोग र दुर्व्यसनमा लागेमा यसले ब्यक्तिला , परिवारमा र समाजमा पार्ने असरबारे चेतना दिने उद्देश्यले निर्माण गरिएको लघु चलचित्र पहिलो दिन पद्मोदयका माध्यमिक तहका विद्यार्थीहरूलाई देखाइएको आयोजकले जनाएको छ।

निर्माता तथा कलाकार माधव पौडेलको निर्माण र नेपालकै पहिलो सिनेमेटोग्राफरसमेत रहेकी सबनम मुखियाको निर्देशनमा बनेको सो लघु चलचित्र लागू पदार्थ र दुर्व्यसनले पार्ने असरका बारेमा उपयुक्त ज्ञान मिलेको विद्यार्थीहरूले बताएका छन्। उनीहरूले आफूहरूलाई मेहनत गर्नुपर्छ, आमा बुवाको सपना असल मान्छे बनेर साकार पार्नु पर्छ भन्ने पाठ मिलेको बताएका छन्।

यसका साथै विद्यार्थीसँगै बसेर लघु चलचित्र हेरेका प्रधानाध्यापक नारायणप्रसाद गौतमले पनि कार्यक्रम निकै प्रभावकारी भएको र यसले विद्यार्थीलाई  कुनैपनि कुलतमा फस्न नहुने कुराको ज्ञान दिएको बताए। उनले  मेहनत गर्न  र अनुशासनमा बस्नेबारे  विद्यार्थीलाई पाठ मिलेको बताए। प्रधानाध्यापक गौतमले यस्ता खालका प्रदर्शन आगामी दिनमा पनि गर्न अनुरोध गरेका छन्।

विद्यालयका सहायक प्रधानाध्यापक निर्मल खतिवडाले लागूपदार्थ र दुर्व्यसनका कारण बालबालिका, युवापुस्ता लगायत सबै वर्गका मानिसमा ठूलो असर पार्ने भएकाले यस्ता खालका फिल्ममार्फत जनचेतना दिनु आवश्यक रहेको बताए।

लघु चलचित्र जुभेनाइलमा कलाकारहरू कुमार गजुरेल, मोहन राई, ओम कृष्ण भण्डारी, माधव पौडेल , सन्जना तिमिल्सिना, निशा थापा, जय जगदिश अधिकारी  र बिष्णु कोइरालालगायतको अभिनय रहेको छ।

असार २१, २०७९ मंगलबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।