काठमाडौं महानगरले शहर सफा गर्न थप्यो १५० जनशक्ति

काठमाडौं महानगरले शहर सफा गर्न थप्यो १५० जनशक्ति
समाचार तथा तस्बिर स्रोत: काठमाडौं महानगरपालिकाको आधिकारिक समाचार पोर्टल

काठमाडौंः शहरी सरसफाइका लागि काठमाडौं महानगरपालिकाले १५० जना जनशक्ति थप गरेको छ। महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट र दैनिक ज्यालादारीमा जनशक्ति थप गरेको हो।

महानगरको वातावरण तथा कृषि व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार यसअघि नियमित सफाइमा करिब ६ सय कर्मचारी परिचालन हुने गरेका थिए।

यस्तै शहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई चार क्षेत्रमा बाँडिएको छ। पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ), उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) र मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) मा विभाजन गरिएको छ। यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ।

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन्, ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ। रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरूको सफाइमा छुट्टै समूह बनाइएको छ। यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ।’

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक-एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ।

यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन्। 

असार २१, २०७९ मंगलबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।