अस्ट्रेलियामा बढ्यो हिन्दुको सङ्ख्या, पुग्यो ३ प्रतिशत

अस्ट्रेलियामा बढ्यो हिन्दुको सङ्ख्या, पुग्यो ३ प्रतिशत

एजेन्सी : अस्ट्रेलियामा हिन्दु र इस्लाम धर्मावलम्बीहरू तीव्र गतिमा बढिरहेको देखिएको छ। हालै सार्वजनिक भएको अस्ट्रेलियाको जनगणनामा आफूलाई क्रिश्चियन धर्म मान्ने बताउनेहरूको सङ्ख्या ५० प्रतिशत घटेको छ। अस्ट्रेलियाको तथ्याङ्क ब्युरोको प्रतिवेदन अनुसार अस्ट्रेलियामा अब क्रिश्चियन धर्म मान्नेहरूको सङ्ख्या ४४ प्रतिशत मात्र छ।

५० वर्ष पहिला अस्ट्रेलियामा ९० प्रतिशतले इसाई धर्म मान्ने गरेको खुलेको थियो। दोस्रो नम्बरमा धर्म निरपेक्षहरूको सङ्ख्या रहेको छ। कुनै पनि धर्म नमान्नेहरूको सङ्ख्या ३९ प्रतिशत रहेको खुलेको छ।

अस्ट्रेलियामा हरेक पाँच वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ। पाँच वर्ष अगाडिभन्दा धर्म नमान्नेहरूको सङ्ख्या ९ प्रतिशतले बढेको छ यो पाली। हिन्दु र इस्लाम धर्म मान्नेहरूको सङ्ख्या सबैभन्दा तीव्र रूपमा बढिरहेको देखिन्छ।

अस्ट्रेलियामा हिन्दु र इस्लाम धर्म मान्नेहरूको सङ्ख्या ३-३ प्रतिशत रहको खुलेको छ। सन् २०१६ मा अस्ट्रेलियामा हिन्दु धर्म मान्नेहरूको सङ्ख्या केवल एक दशमलव ९ प्रतिशत थियो भने इस्लाम धर्म मान्नेहरूको सङ्ख्या २ दशमलव ६ प्रतिशत थियो। यी दुवै अब तीन प्रतिशत पुगेका छन्। यसमा हिन्दुको सङ्ख्या तीव्र रूपमा बढेको देखिन्छ।

अस्ट्रेलियामा सन् २०२१ मा जनगणना भएको थियो। तर प्रतिवेदन हालै सार्वजनिक भएको हो। नयाँ जनगणनामा अस्ट्रेलियाको जनसङ्ख्या समेत बढेर २ करोड ५५ लाख पुगेको छ। सन् २०१६ को जनगणनाको भन्दा यो २१ लाख बढी हो।

अस्ट्रेलिया अन्य देशबाट गएकाहरूबाटै बनेको देश मानिन्छ। तर पहिलो पटक आधा भन्दा बढी जनसङ्ख्या कि त विदेशमा जन्मिएकाहरू छन् या उनको अभिभावक विदेशमा जन्मिएका हुन्।

कोरोनाकालमा आप्रवासन केही घटेको थियो। तर यो बिचमा १० लाख व्यक्ति अस्ट्रेलिया पुगिसकेका छन्। त्यसमा एक चौथाइ त भारतीयहरू छन्। अन्यमा चिनिया र न्युजिल्यान्डका छन्।

पहिलो सूचीमा अस्ट्रेलियामै जन्मिनेहरू छन्। दोस्रो सङ्ख्यामा बेलायतमा जन्मिएकाहरू छन् भने तेस्रोमा भारतमा जन्मिएकाहरू छन्।  पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीको संख्या समेत बढिरहेको छ।

असार २०, २०७९ सोमबार २२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।