श्रीलङ्कामा एक दिनको लागि पुग्ने पनि इन्धन छैन
काठमाडौँ: नेपालको आर्थिक अवस्था श्रीलङ्का जस्तै हुन्छ या हुन्न भन्ने बहस बाक्लिएको छ अहिले नेपालमा। आर्थिक सूचकाङ्कहरू सकारात्मक छैनन्। सरकारी अधिकारीहरू जोखिम रहे पनि श्रीलङ्काकै अवस्थामा नपुग्ने दाबी गरिरहेका छन्। आर्थिक विज्ञहरूले भने खर्चमा ध्यान नदिने हो भने नेपालमा पनि श्रीलङ्काको अवस्था नआउला भनेर भन्न नसक्ने बताइरहेका छन्।
यही बेला अन्तर्राष्ट्रिय एजेन्सीहरूमा आएका समाचारमा श्रीलङ्काको आर्थिक सङ्कट गहिरिँदै गएको देखिन्छ। उसले इन्धन समेत किन्न सकेको छैन। जसले गर्दा आकस्मिक सेवा बाहेक एक दिनको लागि पनि इन्धन नभएको भन्दै ऊर्जा मन्त्रीले सार्वजनिक यातायात ठप्प भएको घोषणा गरिसकेका छन्।
मन्त्रीमन्त्री कञ्चना विजेसेखेराले करिब ४ हजार टन मात्र पेट्रोल सञ्चिती रहेको बताएका हुन्। कोलम्बोको मुख्य सहरमा १ किलोमिटरसम्म इन्धन भर्न चाहने सवारीसाधनको लाम लागेको थियो। आर्थिक सङ्कटमा परेको श्रीलङ्काले धेरै जसो पम्प स्टेसनहरू इन्धनविहीन भएको कारण आइतबारदेखि विद्यालयहरू बन्द गर्ने समय समेत बढाएको छ।
शिक्षक र विद्यार्थीहरूलाई विद्यालय पुर्याउन पर्याप्त इन्धन नभएको भन्दै विद्यालयको समय घटाएको हो। सरकारले आवतजावत कम गर्न र ऊर्जा बचत गर्न अत्यावश्यक बाहेकका सबै सरकारी संस्था र विद्यालयहरू जुलाई १० सम्म बन्द गर्न आदेश दिइएको छ।
त्यस्तै प्राधिकरणले विद्युत् उत्पादन गर्ने स्टेसनहरूले पर्याप्त इन्धन आपूर्ति गर्न नसक्ने भन्दै सोमबारदेखि देशव्यापी रूपमा दिनको तीन घण्टासम्म विद्युत् कटौती गर्ने घोषणा पनि गरेको छ। विजेसेकेराले पत्रकारहरूलाई सरकारले नयाँ इन्धन भण्डारणको आदेश दिएको बताउँदै ४० हजार मेट्रिक टन डिजेलसहितको पहिलो जहाज शुक्रवार आइपुग्ने बताए।
उनले मुख्य समस्या आर्थिक अभाव भएको कारण विदेशमा काम गरिरहेका करिब २० लाख श्रीलङ्कालीलाई अनौपचारिक माध्यमको सट्टा बैङ्कमार्फत विदेशी मुद्राको आम्दानी स्वदेश पठाउन आग्रह समेत गरे। उनले सामान्यतया प्रति महिना ६ सय मिलियन डलर रेमिटेन्स भित्रिने गरेकोमा गत महिना ३ सय १८ मिलियन डलर मात्र भित्रिएको बताए।
'पैसा खोज्नु निकै चुनौती हो। एकदमै ठुलो चुनौती’ उनले भने।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले तेल ढुवानी अपेक्षित रहेको भन्दै गत हप्ता अल जजीरालाई पेट्रोलको अभाव जुलाई २२ सम्म रहने बताएका थिए। उनले आगामी चार महिनासम्म ग्यास आपूर्ति सुनिश्चित गर्ने सम्झौता भएको पनि बताएका थिए।
'यो (इन्धन अभाव) अर्थतन्त्रको लागि ठुलो धक्का हो र यसले धेरै कठिनाइहरू ल्याएको छ। डलरको अभावले हामीलाई यस्तो अवस्थामा पुर्याइदिएको छ। हामीले अहिले विशेष गरी डिजेल र फर्नेस तेल र ग्यासको लागि पहल गरिरहेका छौँ’ उनले भने, ’ हाम्रो अहिलेको समस्या पेट्रोल नै हो। जुलाई २२ सम्ममा पेट्रोल ढुवानी हुने आशामा छौँ तर, त्यस अघि नै ढुवानी गर्ने प्रयास गर्न मैले सम्बन्धित मन्त्रीलाई आग्रह गरेको छु।'
’ठुलो चुनौती’
गत हप्ता मात्रै श्रीलङ्काले आपत्कालीन अवस्थामा पेट्रोल र डिजेल बचत गर्न अत्यावश्यक सेवाहरू बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो। स्थानीय मिडियाले इन्धन स्टेसनतिर छिटपुट झडप भएको जनाएका छन्।
आर्थिक मन्दीले राजनीतिक सङ्कट निम्त्याए सँगै देशभर सरकार विरोधी प्रदर्शनहरू पनि भइरहेका छन्। प्रदर्शनकारीहरूले ग्यास र इन्धनको माग गर्दै मुख्य सडकहरू अवरुद्ध गरेका छन्।
प्रदर्शनकारीहरूले कोलम्बोमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै दुई महिना भन्दा बढी समयदेखि राष्ट्रपति कार्यालयको प्रवेशद्वार कब्जा गर्दै आएका छन्। उनीहरूले राष्ट्रपति र उनको परिवार, उच्च सरकारी पदमा रहेका जनप्रतिनिधिहरू लगायतका भ्रष्टाचार र कुशासनबाट देशलाई सङ्कटमा डुबाएको आरोप लगाउँदै आएका छन्।
सबैभन्दा अत्यावश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्राको अभाव भएका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिराखेको छ। जसले गर्दा दैनिक २२ मिलियन मानिसहरूले प्रत्यक्ष रूपमा कठिनाइको सामना गरिरहेका छन्। गत वर्षको अन्त्यदेखि देशले एकदमै–उच्च मुद्रास्फीति र लामो पावर ब्ल्याक आउटको सामना गर्नु परेको छ।
श्रीलङ्काले आफ्नो अधिकांश इन्धन छिमेकी भारतबाट प्राप्त गर्दै आएको छ। सरकारले रुस र मलेसियाका इन्धन आपूर्तिकर्तासँग पनि वार्ता गरिरहेको बताइएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्कासँग सम्भावित ३ बिलियन डलर बेल आउट प्याकेजको लागि वार्ता जारी राख्ने जनाएको थियो। यद्यपि, आईएमएफबाट तत्काल कोषबाट पैसा आउन सम्भव छैन। किनभने त्यसको लागि देशले आफ्नो ऋण दिगो बाटोमा लैजानुपर्ने हुन्छ।
विश्वव्यापी ऋणदाताले गत हप्ता कोलम्बोको १० दिने भ्रमण गरेका थिए ।
असार २०, २०७९ सोमबार १८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।