प्रधानमन्त्रीलाई ओलीको प्रश्न 'निश्चित घरानालाई फाइदा हुने गरी बजेट किन बनाइयो?'
काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० को बजेटमा घरानाको अनुहार मात्र देखिएको दाबी गरेका छन्। उनले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै निश्चित घरानालाई मात्रै फाइदा हुने गरी बजेट आएको टिप्पणी गरेका हुन्।
‘यो दुई चार घरानाको बजेट मात्र भयो, यसमा घरानाको अनुहार मात्र देखिन्छ। यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी बजेट किन बनाइयो ?’
उनले ‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरू घर जानसमेत नपाउने भन्दै मन्त्रालयमा बाहिरका व्यक्ति लगेर सरकारले अनधिकृत काम गरेको दाबी समेत गरे। उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै प्रतिवेदन संसद्मा आउनुपर्ने माग समेत गरे।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै सरकारका मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भन्दै प्रश्न गरेका थिए। उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरेका थिए।
उनले गठबन्धनको नाममा पाँच दलले सरकार कब्जा गरेको भन्दै उनले यस्तो त पञ्चायतकालमा समेत नदेखिएको दाबी गरे। उनले प्रमुख प्रतिपक्षीलाई लोकतन्त्र नमान्ने पार्टीको रूपमा भ्रम फैलाउने काम गरेको समेत दाबी गरे।
'यो पार्टी वैधानिक पार्टी हो। अहिलेको लोकतान्त्रिक व्यवस्था ल्याउन, संविधान ल्याउन योगदान गरेको पार्टी हो,' उनले भने।
असार २०, २०७९ सोमबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।