ग्लोबल वार्मिङको असर: इटालीमा हिमनदी फुट्दा ६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

ग्लोबल वार्मिङको असर: इटालीमा हिमनदी फुट्दा ६ जनाको मृत्यु, दर्जनौं बेपत्ता
तस्बिर: सिन्हुवा

एजेन्सीः उत्तर इटालीमा एक हिमनदीको बरफको ठूलो भाग फुट्दा ६ जनाको मृत्यु भएको छ। सो घटनामा दर्जनौं बेपत्ता भएका छन्।

सामान्यभन्दा बढी तापक्रम भएका कारण पुन्टो रोका हिमनदी फुटेको बताइएको छ। त्यसपछि त्यहाँ हिउँ, बरफ र चट्टानको पहिरो गएको थियो। पहिरोमा परी पर्वतारोही र हाइकिङमा गएकाहरूको मृत्यु भएको हो।

त्यस क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेको अधिकारीहरूले बताएका छन्। इटालीको भेनिटो क्षेत्रको समुन्द्रमा हिमनदी फुट्नु अघिल्लो दिन तापक्रम ४० डिग्री नाघेको थियो।

त्यहाँका अधिकारीहरूका अनुसार मर्मोलाडा हिमालको चुचुरोको तापक्रम त्यसदिन १० डिग्री थियो। सामान्यतया त्यहाँको तापक्रम शून्य डिग्रीभन्दा कम हुने गर्छ।

यता बेपत्ताहरूमध्ये ६ जना घाइते अवस्थामा फेला परेका छन्। एक जनाको अवस्था गम्भीर छ।

मर्मोलाडा हिमाल इटालीको डोलोमाइट हिमश्रृङ्खलाको सबैभन्दा उच्च हिमाल हो। यसको उँचाइ समुन्द्री सतहबाट तीन हजार ३४३ मिटर छ।

असार २०, २०७९ सोमबार १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।