माओवादीको केन्द्रमा प्रचण्ड परिवारका पाँच सदस्य

माओवादीको केन्द्रमा प्रचण्ड परिवारका पाँच सदस्य

काठमाडौँ : माओवादी केन्द्रको केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना पुगेका छन्। प्रचण्ड आफैँ पार्टीका अध्यक्ष छन्। उनीसँगै छोरी रेनु दाहाल, बुहारी बिना मगर र छोरी ज्वाइँ गङ्गा र जीवन आचार्य पनि केन्द्रीय सदस्य भएका छन्।

लामो समयदेखि पार्टीको केन्द्रीय समिति पूर्ण हुन सकेको थिएन। आइतबार केन्द्रीय समितिको बैठक अगाडि सदस्यहरूको नाम टुङ्गिएको हो। त्यसमा प्रचण्डको परिवारका चार जना परे।

उनको बुहारी विना पहिल्यैदेखि राजनीतिमा छिन्। प्रचण्डका छोरा प्रकाशसँग विवाह गर्नु अगाडिबाटै उनी राजनीतिमा सक्रिय थिइन्। उनी मन्त्री समेत नियुक्त भएकी थिइन्।

अर्की छोरी रेनु भरतपुर महानगरपालिकाकी मेयर हुन्। उनी मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। गङ्गाले प्रचण्डको सचिवालय व्यवस्थापनमा सघाउँदै आएकी छिन्।

पहिलो सूचीमै गङ्गा र आचार्यलाई केन्द्रीय सदस्य बनाउन प्रचण्डले प्रयास नगरेका हैनन्। तर पार्टीभित्रबाट विरोध भएपछि उनी पछि हटेका थिए। तर आइतबार उनले केन्द्रीय समितिलाई पूर्ण बनाउँदा छोरी र ज्वाइँ दुबैलाई छाडेनन्।

राजनीतिमा परिवारवाद

केही दिन अगाडि एमाले छाडेका बामदेव गौतमले नयाँ पार्टीमा श्रीमती र छोरालाई केन्द्रीय समितिमा राखेका थिए। उनको आलोचना भएपछि दुबैको राजनीतिमा योगदान भएको दाबी गरेका थिए। केही दिनमै गौतमलाई नै पार्टीबाटै कारबाही गरेर निस्कासन गरेको निर्णय सार्वजनिक भएको थियो।

एकिकृत समाजवादी गठन भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले भाई सरोजकुमार उपाध्यायलाई केन्द्रीय सदस्य बनाएका थिए। कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा केन्द्रीय सदस्य छिन्। तर उनी निर्वाचित हुन् मनोनित हैनन्।

असार १९, २०७९ आइतबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।