टिकटक काण्डमा तानिएका एमाले नेता गुलावजंगको दाबी : भिडियो रियल भए मेरो केही हाउभाऊ हुनुपर्दैन ?
सुर्खेत : कर्णाली प्रदेश सभाका सांसद एवं एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह समेत रहेको टिकटक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।
एक टिकटक अकाउण्टबाट ‘‘झिमझिम सानी नझिम्काऊ परेली भुतुक्कै हुन्छु म’ बोलको गीतमा बनाइएको टिकटक भिडियोमा शाह एक युवतीसँग सुतिरहेका देखिन्छन्। भिडियोमा उनी निदाइरहेका छन्। युवतीले भने मुस्कुराउँदै गालामा हात राखेर हाउभाउ गरेकी छन्।
अहिले उक्त अकाउण्टबाट त्यो भिडियो हटाइसकिएको छ। तर, सामाजिक सञ्जाल प्रयोकर्ताहरुले सेभ गरेर फेसबुक, म्यासेन्जरमा पठाइरहेका छन्।
सो भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका शाहले उकेरासँग उक्त भिडियो वास्तविक नभएको दावी गरे। उनले यदि त्यो भिडियो सत्य भएको भए आफ्नो हाउभाउ समेत हुने भन्दै फेक भिडियो बनाएर आफूलाई बदनाम गर्न खोजेको दाबी गरे।
‘सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गरिएको छ। हुन त त्यो भिडियोमा केही इमोस्नल कुरा भएको छैन। नाचेको, गाएको समाएको केही पनि छैन। यदि मेरो भए त मेरो हाउभाउ हुनुपर्ने हो,’शाहले भने, ‘बदनाम गर्ने पनि तरिका हुन्छ नि। खाली मेरो फोटो जोडेर भाइरल बनाइदिएका छन्।’
'माया जाल' बुन्ने टिकटक काण्डले विवादमा एमाले प्रदेश सांसद गुलावजङग
आफूसँग फोटो जोडेर बनाइएको टिकटककी युवतीलाई आफूले चिनेको र उनी एमाले सल्यानकी जिल्ला कमिटी सदस्य भएको शाहले बताए। यदि तपाईँको फोटो जोडेर फेक बनाइएको हो भने अब के गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा उनले भने, ‘झुटो कुरालाई आधार मानेर समाचार बनाउने अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताको विषयमा कानुनी उपचार खोज्नेछु।’
शाह एमालेबाट सल्यान प्रदेशसभा ९(क) बाट निर्वाचित सांसद समेत हुन् । उनी एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन्।
असार १९, २०७९ आइतबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।