स्थानीय तह निर्वाचनमा माओवादीमा भएका आठ कमजोरी : आफू निकटकालाई टिकटदेखि अन्तर्घातसम्म

स्थानीय तह निर्वाचनमा माओवादीमा भएका आठ कमजोरी : आफू निकटकालाई टिकटदेखि अन्तर्घातसम्म

काठमाडौँ : माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पाएको परिणामलाई विगतको तुलनामा सन्तोषजनक रहे पनि आन्तरिक कमजोरीका कारण समेत सोचेजस्तो उपलब्धि नआएको निष्कर्ष निकालेको छ।

पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमा कांग्रेसले असहयोग गरेको, एकीकृत समाजवादीले हैसियतभन्दा धेरै सिट लिएको र जनता समाजवादीले मधेसमा गठबन्धन गर्न इच्छा नदेखाएको भन्दै आलोचना गरे पनि आफ्नै कमजोरीबारे समेत आठ बुँदा उल्लेख छ।

प्रतिवेदनमा गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्दा फितलो तयारी, गठबन्धन हुँदा उम्मेदवारका आकाङ्क्षी धेरै हुने तर एक्लै लड्न नचाहने, कांग्रेस लगायतका गठबन्धन शक्तिप्रति बढी भर पर्नु, नेतृत्वमा गठबन्धन तर वडा तहमा एकल लड्नुपर्दा चुनावी प्रचार र परिचालनमा कमजोरी, तालमेलमा व्यक्ति वा पालिका केन्द्रित मात्र तालमेलको प्रयास गरिएको उल्लेख छ।

लोकप्रियभन्दा आफू निकटलाई उम्मेदवार बनाउन जोड गर्नु, आफू निकटकाले टिकट नपाउँदा हराउन लाग्नु, प्रतिस्पर्धी दलमा पैसा किनेर मतदाता किन्ने प्रबृत्तीलाई रोक्न नसक्नु र पार्टीभित्रको गुटबन्दीलाई समेत हारको कारणको रूपमा प्रतिवेदनमा उल्लेख छ।

प्रचण्डको प्रतिवेदनमा गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाबारे गम्भीर छानबिन गरी कारबाही गर्नुपर्ने समेत उल्लेख छ।

आगामी निर्वाचनको तयारीका सात रणनीति

प्रतिवेदनमा आगामी केन्द्र र प्रदेशको निर्वाचनको तयारीका लागि भन्दै सात बुँदे रणनीति समेत उल्लेख गरिएको छ। दक्षिणपन्थी र प्रतिगामी शक्तिलाई पराजित गर्ने गरी चुनावी रणनीति बनाउने उल्लेख गरिएको प्रतिवेदनमा रणनीति निर्माणदेखि जनपरिचालनसम्मको योजना छ।

प्रतिवेदनमा आगामी निर्वाचन जित्न कार्यक्रमसहित सबै केन्द्रीय समितिका नेताहरूलाई निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धता पत्र बनाउने, सङ्घीय र प्रदेशको निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण, संयुक्त मोर्चा, गठबन्धनका सहभागी दल र विपक्षीको अवस्थाको अध्ययन, निर्वाचन क्षेत्र लक्षित सङ्गठन परिचालन र स्थितिको आङ्कलन, सम्बन्धित उम्मेदवारको सूची र दक्षिणपन्थी र प्रतिगामी शक्तिलाई पराजित गर्ने गरी चुनावी रणनीति बनाउने उल्लेख गरिएको छ।

असार १९, २०७९ आइतबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।