निर्वाचनबारे माओवादीको निष्कर्ष : कांग्रेसका नेता नै गठबन्धनका उम्मेदवार हराउन लागे

निर्वाचनबारे माओवादीको निष्कर्ष : कांग्रेसका नेता नै गठबन्धनका उम्मेदवार हराउन लागे

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका छन्। उनले पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा कांग्रेस अरू दलसँग मिलेर माओवादीलाई हराउन लागेको उल्लेख छ।

उनको प्रतिवेदनमा कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नभएको, एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दाबी गरेको र जनता समाजवादी पार्टी तराई मधेसमा गठबन्धन गर्न इच्छुक नभएको उल्लेख छ।

उनको प्रतिवेदनमा धेरै कांग्रेसको आलोचना गरिएको छ। प्रतिवेदनमा कांग्रेस बलियो भएको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने, गठबन्धनका दलहरू बलियो भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गरेको, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको उल्लेख छ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरेर मतदाता शिक्षा नदिएको र यसो गर्दा अत्यधिक मत बदर भएको उल्लेख छ।

वास्तविक स्थिति भन्दा बढी सिट

प्रतिवेदनमा गठबन्धनको अर्को दल एकीकृत समाजवादीको समेत आलोचना गरिएको छ। समाजवादीले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेको प्रचण्डले पेस गरेको प्रतिवेदनमा उल्लेख छ।

'एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखियो। यसले केही स्थानमा गठबन्धन पराजित भयो,' प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा जसपाले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक भएको उल्लेख गर्दै अन्य पार्टीको तुलनामा गठबन्धनप्रति माओवादी इमानदार भएको दाबी गरे।

प्रतिवेदनमा कतिपय स्थानमा स्थानीय अन्तर्विरोध तथा स्थानीय नेतृत्वको व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण कमजोरी भएको स्वीकार गर्दै तुलनात्मक रूपमा निर्वाचनको परिणाम भने सन्तोषजनक रहेको उल्लेख छ।

प्रतिवेदनमा पैसा खर्च गरेर मतदाता किन्नेसम्मको काम भएको आरोप समेत लगाइएको छ।

असार १९, २०७९ आइतबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।