के तपाईंलाई थाहा छ- बिरालो काँक्रोसँग डराउँछ ? तर किन ? 

के तपाईंलाई थाहा छ- बिरालो काँक्रोसँग डराउँछ ? तर किन ? 

एजेन्सीः पृथ्वीको रहस्यमयी जनावरमध्ये पर्छ बिरालो। बिरालोसँग समय बिताउनेहरूलाई राम्रोसँग थाहा छ यो कुरा।

उनीहरूलाई बिरालोले अनौठो व्यवहार गर्छ भन्ने त थाहा हुन्छ तर किन गर्छ भन्ने चाहिँ थाहा हुँदैन। बिरालो चलिरहन्छ, पानीसँग खेल्न मन पराउँदैन, बाकसहरूसँग खेल्न रुचाउँछ, काखमा सुत्न मन पराउँछ आदी इत्यादी। यस्तै, बिरालोको अर्को बानी हुन्छ, काँक्रोसँग डराउने।

पटक-पटक सामाजिक सञ्जालमा यस्ता केही भिडियो पनि भाइरल हुने गर्छन्, जहाँ बिरालो काँक्रोसँग डराएको देखिन्छ। बिरालोका यस्तो बानीलाई कतिपयले लुकीछिपी आफ्नो क्यामेरामा कैद पनि गरेका हुन्छन्। तर बिरालो काँक्रोसँग डराउँछ चाहिँ किन?

पशु विज्ञहरूले विभिन्न सिद्धान्तमार्फत यसको व्याख्या गर्ने गरेका छन्। विज्ञहरूका अनुसार बिरालो अन्य फलफूल र तरकारीभन्दा काँक्रोसँग डराउने गरेको वास्तविकता हो। काँक्रोको बाह्य बनावटका कारण बिरालो डराउने गर्छ।

झट्ट हेर्दा बिरालोलाई काँक्रो सर्पजस्तै लाग्ने हुँदा बिरालो डराउँछ। बिरालोले काँक्रोलाई हरियो सर्पजस्तै देख्छ र बिरालो काँक्रोसँग खेल्ने आँट गर्दैन।

अर्काथरी विज्ञ बिरालोलाई काँक्रोको पछाडिबाट कसैले चियाइरहेको जस्तो लाग्ने हुँदा बिरालो डराउने बताउँछन्। सत्य यही हो भनेर भन्न सकिने अवस्था छैन। सबैको आ-आफ्नै अड्कल छ।

असार १९, २०७९ आइतबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।