विष्णुमायालाई अदालतले न्याय दियो, श्रीमानले धोका!
सुर्खेत । वीरेन्द्रनगर–७ की ५७ वर्षीय विष्णुमाया ढकाल २६ वर्षदेखि न्यायको पर्खाइमा छिन्। उनलाई अन्याय कुनै अपरिचित मान्छेले गरेको होइन, आफूले तनमन दिएर प्रेम गरेका श्रीमान्ले हो। वीरेन्द्रनगर वडा नम्बर ७ भएकी विष्णुमाया २०५३ सालमा ३१ वर्षकी थिइन्। पूर्वेली डाँकामा सिलाई बुनाइको काम गर्थिन्। माइतमा बसेर उनले सिप मात्रै सिकिनन्। आफूलाई आवश्यक पर्ने खर्च पानीको समेत पैसा कमाउँथिन्।
सोही समयमा दैलेखको बेलपाटा (हाल डुङ्गेश्वरगाउँपालिका–१) का ओम खत्रीले उनीसँग प्रेम प्रस्ताव राखे। प्रेमको घरमा श्रीमती र छोराछोरी रहेछन्। तर, उनले विष्णुमायासँग ढाँडे। आफ्नी श्रीमतीको निधन भइसकेको भनेर झुटो बोले। खत्रीसँग त्यो बेला गाडी थियो। उनी आफै साहु र आफै चालक थिए।
यति भन्दैमा विष्णुमायाले उनको कुरा पत्याइनन्। धेरै समयसम्म ओमले उनलाई पच्छ्याएपछि उनी माया-जालमा परिन्। उनीहरुको प्रेम सम्बन्ध गहिरो बढ्दै गयो। उनीहरूले नेपालगञ्जको बागेश्वरी मन्दिरमा गएर विवाह पनि गरे। विष्णुमाया गर्भवती भइन्। आफूलाई घरमा लिन बारम्बार ओमसँग अनुरोध गरे पनि विभिन्न आश्वासन दिएर उनलाई टारे। जब उनी गर्भवती भएको ६ महिना बित्यो।
त्यसपछि मात्रै ओमको घरमा श्रीमती र छोराछोरी छन् भन्ने जानकारी पाइन् उनले। उनलाई ओमले वास्ता गर्न छोडे। उनको पेटमा बच्चा थियो। उनले आफ्नो न्यायको लागि अदालतसम्म गइन्। २०५३ सालमा जिल्ला अदालत सुर्खेतमा उनले बच्चाको बुवा कायम गर्न भन्दै मुद्दा दिइन्।
एक वर्षसम्म मुद्दा लडालड भयो । विष्णुमायाले २०५४ साल असोज ५ गते छोरालाई जन्म दिइन्। अदालतले नाता कायम गरिदियो। त्यो समयमा ओमले पनि उक्त सन्तान आफ्नो भएको र श्रीमतीलाई स्विकार्ने भन्दै अदालत सामु झुके। गाउँका ठालु, भलाद्मी र वडाध्यक्षको रोहवरमा अदालतले पनि मिलापत्र गरायो।
ओमले आफ्नो छोरालाई पालनपोषणका लागि प्रत्येक महिना सात हजार रुपैयाँ दिने र श्रीमती र छोराको संरक्षण गर्ने गरी मुद्दाको फैसला भयो। छोरा बढ्दै गयो विद्यालय पढ्ने भयो। तर, ओमले नत छोरालाई नै पालनपोषण र पढाई लेखाई गरे न त, श्रीमतीलाई नै राम्रो वचन दिए।
ओमले कहिले भारत त कहिले गाउँतिरै सम्पर्कविहीन भए। पटक–पटक सम्पर्क गरे पनि आफ्नो बच्चा नभएको भन्दै उल्टै नानाथरी कुरा सुनाउन थाले। विष्णुमायालाई उनका माइतीले आधा कट्ठा जग्गा दिएर सानो घर बनाइदिए। अहिले पनि उनी त्यही घरमा बस्दै आएकी छन्।
त्यसपछि ओम कोरिया गए। केही वर्ष उतै बसेका उनी घरमा आएपनि सम्पर्कविहीन हुन्थे। सुटुक्क घरमा जेठी श्रीमती र छोराछोरीसँग भेटघाट गरेर फर्किहाल्थे। ओमकी जेठी श्रीमतीबाट दुई छोरा दुई छोरी छन्। उनीहरू सबैले आ–आफ्नो घरजम गरेर बसेका छन्। ओमले पनि उनीहरूलाई साथ र सहयोग दिएका छन्।
अहिले ओम अफ्रिकामा बसेर होटेलमा काम गर्छन् भन्ने सुनिएको छ। छोरा जन्मिएको पनि २५ वर्ष पुग्यो तर, विष्णुमायासँग भने उनको सम्पर्क नै छैन। कोही कसैले विदेशी नम्बरबाट फोन गर्दा पनि उनी ओमकै फोन हो की भनेर आशा जगाउँछिन् उनी।
उनलाई आफ्नो चिन्ता भन्दा पनि ओमको मायाको निशानी छोरो अशिम खत्रीको लाग्ने गर्छ। आर्थिक अभावकै कारण अशिमले कक्षा ९ पढ्दा पढ्दै पढाई छोडेर भारत जान पर्याे। विष्णुमाया भने सडक छेउमा सानो खुद्रा घुम्टी राखेर बसेकी छिन्। आफू थाइराइट र सुगरकी बिरामी छिन्। छोरालाई पनि औषधी उपचार गरिरहनुपर्छ। घुम्टीमा पनि खासै आम्दानी हुँदैन। आम्दानी भएको दुई–चार सयले उनी बिहान साँझको छाक टार्छिन्।
अहिले छोराले आफ्नो बुवा को देखाइदेऊ भन्दा उनीसँग जवाफ नै छैन। अहिले ओम अफ्रिकाबाट घरमा आएका छन् भन्ने हल्ला चलेको छ। तर, आधिकारिक रूपमा भने विष्णुमायालाई थाहा छैन।
‘मलाई मेरो केही चिन्ता छैन। उसैको बाटो हेर्दा हेर्दै उमेर पनि कटिसक्यो। तर, अदालतले नै उसको छोरा हो भनेर कायम गरिसकेको, छोराको नागरिकता पनि उसैको नामबाट बनिसकेपछि उसको किन आलटाल गरेर भागेको छ,’उनले भनिन्, ‘जेठीबाटको छोराहरूलाई विदेश बसेर उसैले हेरेको छ। सुर्खेतमै आँखाले हेरि नसकिने घर हालेका छन्। तर, मेरो छोरा पैसा नहुँदा र तेरो बुवा कहाँ छ भन्ने प्रश्नले विद्यालय छोड्न प¥यो।’ छोरालाई अंशको व्यवस्था गरे आफूलाई अरू केही नचाहिने उनको माग छ।
‘अहिले छोराले मेरो बुवा को हुन् भनेर सोध्छ। यी नागरिकतामा नाम लेखेका मान्छे होइनन् भने खोई त मेरो बुवा भन्छ,’उनले भनिन्, ‘केही वर्ष अगाडी प्रत्यक्ष कुरा हुँदा मेरो छोरा होइन, जे गर्न सक्छेस् गर अदालत जा भनेर उल्टै मलाई थर्काए।’
ऋाफुबाट गल्ती भएपनि अब दुवै श्रीमती र छोराछोरीलाई मिलाएर राख्छु भनेपछि अदालतमा गएर मिलापत्र गरेको साछी एवं तत्कालीन वीरेन्द्रनगर–७ का वडाअध्यक्ष पहल सिं गुरुङले बताए।
‘उसको बच्चा भइसकेपछि म दुवै श्रीमतीलाई मिलाएर राख्छु भन्ने वचन बोलेपछि दुवै पक्षलाई अदालतमा मिलापत्र गराइयो,’पूर्व वडाअध्यक्ष गुरुङले भने, ‘आफूले काम बिगारेर अदालतले फैसला गरेको कुरा नमान्नु र आफ्नै सन्तानलाई पाखा लगाउनु अन्याय हो।’
असार १८, २०७९ शनिबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।