किन यति झुर फिल्म खेल्छन् सौगात !

किन यति झुर फिल्म खेल्छन् सौगात !

काठमाडौँ : थिएटरका कलाकारहरू अभिनयमा पोख्त हुन्छन्, उनीहरूको अभिनय  केवल नाम मात्रको अभिनय हुँदैन, मौलिक हुन्छ भन्ने दर्शकमा पार्न दयाहाङ राइको जति भूमिका छ सौगात मल्लको पनि उत्तिकै छ। यी दुवैले हिरो हुने बित्तिकै गोरो, शरीरमा सिक्स प्याक निस्केको मात्रै हुन्छन् भन्ने मापदण्ड समेत तोडे।

'कागबेनी' फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका सौगात 'लुट' फिल्मपछि चर्चामा आए। उनको 'हाकु काले' चरित्र उपनामै भयो। लुटले दर्शकहरूको वाहवाही लुट्यो। तर कन्टेन्ट र निर्माण टोली नहेरी जस्तो फिल्ममा पनि अभिनय गरिदिने उनको बानीले भने बिस्तारै उनले पाएको दर्शकको माया लुटिँदै छ।

फिल्म एक कलाकारको चरित्रले मात्रै गतिलो बन्न सक्दैन। यो तथ्य सौगात जतिको माझिएको कलाकारले पक्कै बुझ्नुपर्ने हो। तर उनको छनोटका फिल्म हेर्दा उनी जानकार छन् भन्ने पत्याउनै हम्मे पर्छ। उनको अभिनय रहेको अधिकांश फिल्मका आधारमा उनको अभिनय रहने नयाँ फिल्म हेर्न पुन हलसम्म जाने जाँगर चलाउन मुस्किलै पर्छ। त्यसैको गतिलो र ताजा उदाहरण फिल्म 'घनचक्कर' नै हो।

फिल्मको प्रिमियरमा अन्य कलाकार र सञ्चारकर्मीसँगै सौगात पनि फिल्म हेर्न बिग मुभिजमा थिए। फिल्मको कथावस्तु झुर। प्राविधिक काम पनि गतिलो छैन। फिल्म कति झुर हो भन्ने त यसको व्यापारबाट निर्माता लुटिएबाटै समेत पुष्टि भयो।

चलेकै फिल्ममा गरेको अभिनयमा त चित्त बुझाउन नसक्ने उनले 'घनचक्कर' हेर्दा कति चक्कर खाए होलान्? उनी आफैँले पनि 'घनचक्कर' हेर्न  निकै गाह्रो भएको' स्विकारे। उनको अभिनयको पारखीहरूलाई कति गाह्रो भयो फिल्म नसकिएसम्म लमा बस्न! 

पल शाहको ठाउँमा सौगात !

पल शाह म्युजिक भिडियोमा जमेका कलाकार। ठिकठिकै अभिनय क्षमता भएका उनी फिल्ममा भन्दा म्युजिक भिडियोमा जमेका थिए। उनी नाबालिग बलात्कारको अभियोगमा जेलमा पुगेपछि उनले अभिनय गर्ने पक्कापक्की भएका फिल्महरू अलपत्र परे। अधिकांशले नयाँ कलाकारसँग सहमति गरे।

त्यस्तै पलबाट खोसिएको फिल्म हो 'दुई नम्बरी'। दीपेन्द्र लामाले निर्देशन गर्न लागेको फिल्म 'दुई नम्बरी' कोभिडका कारण अड्कियो। पल मुख्य भूमिकामा रहने भनिएको सो फिल्म कोभिडको प्रभाव सकिए लगत्तै छायाङ्कनमा जाने तयारीमा थियो। तर पल जेलमा पुगेपछि फिल्म निर्माण टोलीले नयाँ कलाकार राख्यो।

जब नयाँ कलाकारको नाम सार्वजनिक भयो, सबै दङ्ग परे। पलको ठाउँमा आए सौगात।

कता पल, कता सौगात! पलका लागि लेखिएको फिल्ममा सौगात कसरी फिट भए ! चरित्र चित्रणमै प्रश्न उठ्यो। जस्तो फिल्मको अफर आए पनि नाइँ नभन्ने उनले पैसाकै लागि फिल्म स्वीकार गरेको पो हो भन्ने शङ्का बढायो। 

सौगात टिम हेरेर फिल्म ओके गरेको भन्छन् भने निर्देशक लामा पुरै कथा नै बदलेको दाबी गर्छन्।

'एउटा फिल्म सक्काएर रेष्टमा थिएँ, फिल्मको तर्फबाट अफर आयो। फिल्मलाई परेको समस्या र कथा सुनेपछि मैले टिम सोधेँ,' सौगातले भने' राम्रो टिम देखेपछि मैले आफूले गर्न चाहेजस्तो पात्रका बारेमा सुनाएँ। ती कुरामा सहमति भएपछि मैले फिल्म साइन गरेको हुँ।'

निर्देशक लामाले फिल्मको कथा ९० प्रतिशतसम्म परिवर्तन गरेको बताए। पलले निर्वाह गर्ने चरित्र र अहिले सौगातले गर्ने चरित्र आकाश पातालको फरक रहेको उनको दाबी छ।

उनले भने' कोभिडका कारण फिल्म छायाङ्कन रोकियो। त्यो समयमा मेरो काममा बाधा आयो भन्ने लागेको थियो, तर जे हुन्छ राम्रैका लागि हुन्छ भनेको हो रहेछ। यदि कोभिड अगाडी नै फिल्म छायाङ्कनमा गएको थियो भने सन्तुष्ट हुने खालको फिल्म बन्दैनथ्यो होला।'

सौगात कस्ता कलाकार हुन् त भन्ने प्रश्नमा निर्देशक लामाले भने,' उनी पात्र निर्माणमा निकै मेहनत गर्ने कलाकार हुन्। तर फिल्मको कथावस्तु छान्ने समयमा भने बेला मौकामा चिप्लिरहेको आभास हुन्छ।'

सौगातले यति बेला आफ्ना लागि कस्तो फिल्म योग्य हो, कस्तो हैन भन्ने छुट्टाउन नसकिरहेको लामाले बताए। सौगातको फिल्म भन्ने बित्तिकै मानिसहरूको सोचमा फरक आउने अनि दर्शकमा सौगातले निराश बनाउँदैन भन्ने मनस्थिति सिर्जना गर्न सफल भए पनि कुनै समयमा नराम्रोसँग चुक्ने गरेको लामाको मत देखियो।

'फिल्म भनेको सामूहिक कार्य हो। एउटाले मात्रै जतिसुकै मेहनत गरे पनि, जतिसुकै पसिना बगाए पनि केही हुँदैन,' लामाले भने'कुनैको स्क्रिप्ट पढ्दा राम्रो लाग्ला तर निर्देशकले भने जसरी कथा पर्दामा उतार्न नसक्ला।'

एकै हप्तामा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मदेखि कम कमाउनेसम्म

गत हप्ता सौगतले अभिनय गरेका दुई फिल्म हलमा चलिरहे। 'कबड्डी द फाइनल म्याच' पाँचौँ हप्तामा चलिरहेको छ भने यही हप्ता लागेको 'घनचक्कर' दुई दिनमै धेरै हलबाट उत्रिसक्यो।

'कबड्डी'को चौथो शृङ्खला अझै हलमा राम्रो अकुपेन्सीमा चलिरहेको छ। तर 'घनचक्कर'ले पाँच लाखको ग्रस कलेक्सन समेत गर्न सकेन। सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाइरहेको फिल्म र सबैभन्दा कम कमाउने रेकर्ड बनाउने फिल्म दुबैमा सौगातको अभिनय देखिनुले उनी यति बेला फिल्म छान्दाको घनचक्करमा कसरी फसेका छन् भन्ने देखिन्छ नै।

के तपाई यति बेला थरीथरीका फिल्मको घनचक्करमा फस्नुभएको हो भन्ने प्रश्नमा सौगातले हाँस्दै भने, 'म प्रयोग गर्न रुचाउने मानिस हुँ। अहिले विभिन्न प्रकारका प्रयोगहरू गरिरहँदा कहिले सफल भइएको छ, कहिले विफल। सबै काम सोचेजस्तो हुँदैन भन्ने पाठ होला।'

आफ्नो अभिनयमा इन्जोय गर्न सक्दैनन्

आफ्नो अभिनय हेर्नै गाह्रो हुन्छ रे सौगात आफैँलाई। उकेरासँगको कुराकानीमा उनले भने'नाटक खेल्दा त्यसको भिडियो खिचेर राखिएको हुन्थ्यो। साथीभाइ सबैले वाह कस्तो राम्रो भन्थे तर म.आफूले हेर्दा तनाव सिर्जना हुन्छ। मैले यस्तो गर्नुपर्ने ठाउँमा यस्तो गरेछु, उस्तो गर्नुपर्ने ठाउँमा कस्तो गरेछु भन्ने भावना मनमा आइरहने रहेछ।

उनले भनेका छन्,' आफ्नो फिल्म हेर्दा इन्जोय गर्न सकिँदैन रहेछ।'

लुट फिल्मले हाकु काले पहिचान बनाए पनि पहिला उनलाई त्यस्तो लागेको रहेनछ। साथीभाइले, लुट, फुट छुट जस्ता फिल्ममा खेल्ने हैन भनेका रहेछन्।  तर त्यसैले उनलाई चिनायो। उनी त्यही उदाहरण दिँदै भन्छन्'  म कुनै फिल्मलाई पनि कमजोर मान्दिन। नयाँ प्रयोगका लागि हिचकिचाउँदिन। त्यसैले मैले अभिनय गरेको फिल्म सर्वाधिक कमाई गर्नेदेखि पोस्टरको खर्च नउठाउनेसम्मको बन्न पुग्यो।'

उनी फिल्मको स्क्रिप्ट राम्रोसँग पढ्ने गरेको तर राम्रो स्क्रिप्ट पाउनु भाग्यको कुरा रहेको बताउँछन्। आफूसँग आएका मध्ये विश्वासिला र राम्रा स्क्रिप्ट छान्दा धेरै कमाउने र कम कमाउने पत्तो पाउन नसक्ने उनले बताए।

अर्को बाध्यता पनि सुनाए उनले। यदि राम्रो स्क्रिप्ट कुरेर बस्ने हो भने दुई, तीन वर्षमा एउटा फिल्म भागमा पर्छ। त्यति मात्रै काम गरेर काठमाडौँमा जीवन धान्न मुस्किल छ। त्यसैले आएका स्क्रिप्टमध्ये उनलाई कुनैको स्टोरी लाइन राम्रो लाग्छ, कुनैको क्यारेक्टर। राम्रा लागेकाहरूमा काम गर्दा कुनै राम्रै भइहाल्छ, कुनै धेरै आस गरिएका फिल्म पनि फिस्स हुन्छ।

थिएटरको ह्याङ नै गएन

सौगात स्टेज अभिनय अर्थात् थिएटर अभिनयबाट स्क्रिन अभिनय अर्थात् फिल्मको अभिनयमा त आए तर उनले आफ्नो अभिनय बदल्न सकेनन्। उनको प्रतिक्रियाले पनि त्यही देखाउँछ। थिएटर र फिल्मको अभिनय शैली फरक छ। तर उनले बुझ पचाएका हुन् या जानाजान थिएटरको अभिनय फिल्ममा गरिरहेका छन्।

थिएटरमा दर्शकका लागि अभिनय गर्ने हो। फिल्ममा क्यामेराका लागि। थिएटर अभिनयमा दर्शकसँग कलाकार कनेक्ट हुन थोरै लाउड अभिनय गर्नुपर्छ नै। बडी ल्याङ्वेज र फेसियल एक्स्प्रेसनमा बढी जोड दिनुपर्छ।

तर फिल्म अभिनयमा दर्शकसँग कनेक्ट गराउने जिम्मा क्यामेराको हो। पात्र नै त्यस्तै भए अलग  नत्र कलाकार लाउड हुन आवश्यक छैन। सट साइजअनुसार अभिनय गर्नुपर्छ। उता थिएटर अभिनयमा अधिकांश काम संवाद, अभिनय र सेटले गर्छ। फिल्म अभिनयमा संवाद, अभिनयसँगसँगै क्यामेरा वर्क र एडिटिङले मुख्य भूमिका खेलेको हुन्छ।

उदाहरणका लागि :

एउटा मान्छे लामो समयदेखि कसैलाई कुरिरहेको छ र ऊ क्रोधित छ धेरै कुरेर। बल्ल-बल्ल उसले पर्खेको व्यक्ति आएको छ।

र अब  'कहाँ थियौ अहिलेसम्म?' भनेर रिसाउँदै प्रश्न गर्ने दृश्य हो भने :

थिएटरमा - जति रिसाएको हो त्योभन्दा अलि चर्को बोल्नुपर्छ। हातले इशारा गर्नुपर्ला, आँखा तन्काउनुपर्ला। नभए त्यो फिक्का हुन्छ।

फिल्ममा - वाइड टेकमा हातले इशारा गर्नुपर्ला, क्लोजमा त्यो पनि पर्दैन। चर्को बोल्नुपर्दैन। क्यामेरा एंगलले कलाकार रिसाएको देखाउन सक्छ। लाइटिङले रिस देखाउन सक्छ। कलाकार धेरै सचेत हुनुपर्दैन, घटना प्रधान अभिनय गरे पुग्छ।

फिल्ममा सबै कुरा संवादले भनिरहन जरुरी छैन भनेजस्तै हो फिल्म अभिनय। सबै कुरा अभिनयले पनि देखाउन जरुरी छैन। अभिनय भनेको प्रतिक्रिया हो। कुनै घटनाप्रतिको प्रतिक्रिया। कुनै संवादप्रतिको प्रतिक्रिया। यो कुरा थिएटर र फिल्म दुवै विधाको अभिनयका लागू हुन्छ। र प्रतिक्रिया सधैँ बोलेर मात्र व्यक्त हुने कुरा होइन।

फिल्ममा क्रोधित भएको देखाउन चिच्याउनै पर्छ भन्ने छैन। आँखाले नै पनि व्यक्त गर्न सकिन्छ। तर थिएटरमा आँखाले व्यक्त गरेर मात्र अभिनय पुग्दैन। दर्शकले थाहै पाउँदैनन् त्यो।

तर फिल्ममा पनि सौगातको अभिनय क्रोधित हुँदा चिच्याउनै पर्छ भन्ने भाष्यतर्फ उन्मुख छ।

अर्को, थिएटरमा "लाइभ" सिनबिच अभिनय गर्नुपर्छ। म्युजिक लाइभ हुन्छ, सेट लाइभ हुन्छ। अरू त अरू एक सिनमा चाहिने जति कलाकार एक ठाउँमा हुन्छन्। तर फिल्ममा म्युजिक पछि थप्ने कुरा हो। सेट कुनै पहिल्यै हुन्छ, कुनै पोस्ट प्रोडक्सनमा थपिन्छ। र एक सिनमा आवश्यक कलाकार सबै एक ठाउँमा हुँदैनन्। जुन सटमा जो आवश्यक छ ऊ मात्र उपस्थित हुन्छ।

यसले गर्दा थिएटर अभिनयमा प्रिटेण्ड गर्नुपर्दैन तर फिल्म अभिनयमा धेरै प्रिटेण्ड गर्नुपर्छ। जसले गर्दा कोही ओभर प्ले गरिदिन्छन्, कोही अन्डर प्ले। सौगात ओभर प्ले गर्छन्। उनको मुख्य समस्या नै यही हो।

उनको अर्को समस्या हो - स्टारडम। जब कलाकारलाई स्टारडमको मात लाग्न थाल्छ, तब ऊ हरेक कुरालाई स्टाइलिफाई गर्छ। ऊ डाइलग डेलिभरीमा स्टाइल खोज्छ, ऊ हिँडाइमा स्टाइल खोज्छ। ऊ हरेक प्रतिक्रियामा स्टाइल खोज्छ।

यसले अभिनयको मर्म मारिदिन्छ। कलाकार घटना प्रधान हुँदैन सौन्दर्य प्रधान हुन्छ। जस्तो सौगात अचेल हरेक फिल्ममा मधेसी टोन ल्याउँछन्। हुन त उनलाई पात्र पनि त्यस्तै त्यस्तै हात पर्छ।

तर उनले बुझ्नुपर्ने कुरा के हो भने उनको भागमा मधेसी पात्र परेको हो, त्यही एउटै पात्र बारम्बार परेको होइन। हलिउडतिरका समीक्षक कलाकारलाई 'डिफ्रेन्ट भर्सन अफ देमसेल्भस्' भन्छन्। अर्थात् व्यक्ति एक, पात्र अनेक।

यो कुरा अझ प्रस्टसँग बुझ्न "छड्के"को बिन्दु र "पशुपति प्रसाद"को भष्मे डनलाई हेरे पुग्छ। यी दुई फिल्ममा जति खोज पनि विपिन कार्की भेटिँदैनन्। भेटिन्छन् त केवल बिन्दु र भष्मे डन।

यो पक्षले पनि फिल्म र थिएटरको अभिनयलाई फरक बनाउँछ।

बलिउडले एक समय खत्रा अभिनय भनेको सिक्स प्याक हो भन्ने झन्डै झन्डै भ्रम बनाइसकेको थियो। धन्न इरफान खान, ओम पुरी जस्ता कलाकार त्यो बेला जीवितै थिए। खास फिल्म अभिनय इरफान र ओमले नै गरेका थिए। उनीहरू सबै आफू गर्दैन थिए, क्यामेरालाई काम गर्न दिन्थे। क्यामेराको निर्देशनअनुसार आफ्नो अभिनय शिल्प पोख्थे।

अहिले मनोज बाजपाईले त्यो अभिनय शिल्पलाई जोगाएका छन्। उत्कृष्ट अभिनय त्यो हो जहाँ दर्शकलाई कलाकारले रहस्यमा बाँधेर राख्न सक्छन्। जहाँ कलाकारले दर्शकलाई सर्प्राइज दिन्छन्।

जस्तो सौगातकै फिल्म कबड्डी ४ को कुरा गरौँ।

जब बिके (विजय बराल)ले आफूले मन पराएकी केटी आफ्नै बहिनी पर्ने कुरा थाहा पाउँछन्। उनी चरम निराशा बोकेर त्यहाँबाट हिँड्छन्। उनको हिँडाइ र निराशाको अभिव्यक्तिबाट सजिलै अनुमान लगाउन सकिन्छ अब बिकेले आत्महत्याको प्रयास गर्नेछन् भनेर। अथवा उनी सधैँका लागि गाउँ छोडेर जानेछन् भनेर।

तर, उनी सरासर झाडीतिर गएर पिसाब फेर्न थाल्छन्। आँसु खसाल्दै दर्शकहरू यो अभिनयमा हाँस्न बाध्य हुन्छन्। यस्तो अभिनय तब मात्र सम्भव छ जब कलाकारले आफ्नो पात्रलाई धेरै नै राम्ररी बुझेको हुन्छ। र यस्तै अभिनयलाई उत्कृष्ट अभिनय पनि भनिन्छ।

उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनय हुने नै दर्शकको अनुमानलाई गलत साबित गरेर त हो। तर, दर्शकको चाहनालाई भने सक्दो सम्बोधन गर्नुपर्छ।

साहित्यको भासमा यसलाई "पोएटिक जस्टिस" भनिन्छ। यही पोएटिक जस्टिस नगर्दा 'गेम अफ थ्रोन्स' जस्तो सर्वाधिक रुचाइएको सिरिज पनि अन्तिममा सर्वाधिक आलोचित बन्यो।

खैर, यी सैद्धान्तिक कुरा हुन्। अभिनयको मर्म भनेको कम्युनिकेसन हो। तर कम्युनिकेसन एउटा भाषी वा एउटा तप्काले मात्र होइन सबैले बुझ्ने हुनुपर्छ।

र अभिनय भनेको सन्देश प्रवाह होइन, भावना प्रवाह हो। त्यसैले बोलेर मात्र अभिनय हुन्छ, चिच्याएर मात्र अभिनय हुन्छ भन्ने सौगातको भ्रम जति चाँडो तोडियो दर्शकले त्यति चाँडो सौगातबाट आफू ठगिएको महसुस गर्नुपर्ने छैन।

असार १८, २०७९ शनिबार १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।