नेपाली उत्पादनको प्रवर्द्धन गर्न सामूहिक प्रयत्न आवश्यक : मन्त्री खाँण

नेपाली उत्पादनको प्रवर्द्धन गर्न सामूहिक प्रयत्न आवश्यक : मन्त्री खाँण

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा उत्पादन भएका बस्तुको प्रवर्द्धन गर्न सामूहिक प्रयत्न अहिलेको आवश्यकता रहेको बताएका छन्। शनिबार तिलोत्तमा उद्योग वाणिज्य संघको छैटौँ, सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन बोल्दै उनले नेपालमा उत्पादन भएका बस्तुहरू यस वर्ष सबैले प्रयोग गर्नुपर्नेमा जोड दिए। 

अहिले देशमा विदेशी मुद्रा सन्चिती घटेको तर्फ इंकित गर्दै उनले विदेशमा रहेका नेपालीहरूले नेपालमा आउँदा त्यहाँबाट बस्तुको सट्टा नगद नै लिएर आउन आग्रह गरे। त्यति मात्र नभई विदेशमा कसैलाई केही सामान लगिदिनुपरे पनि नेपाली उत्पादन भएका सामानहरू खरिद गरेर लैजान सबैलाई अनुरोध गरे। 

उनले मेडिन नेपाल, मेकिङ नेपालको अवधारणा उद्योगी व्यवसायीकै पहलमा आएको र नीति कार्यक्रम, बजेटमा पनि समेटिएको भन्दै त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताए । साथै उनले सरकारलाई साथ र सहयोग चाहिदा उद्योगीहरूले पनि साथ र सहयोग गर्नुपर्ने बताए। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका खाँणले निजी क्षेत्र असफल भए सरकार पनि असफल हुने भन्दै उद्योगीका मागमा सरकार गम्भीर भएको बताए। 

सरकार असफल भए उद्योगी पनि असफल हुने बताउँदै उनले अहिले सरकारको ध्यान विकास खर्च बढाउने तर्फ रहेको बताए। २ वर्ष कोभिडले विश्व बजारको अर्थतन्त्र धराशायी बनाएको भन्दै अहिले सरकारले विकास खर्च गर्न नसके देशमा झन् बढी तरलता बढाउने बताए।

तिलोत्तामा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारीले निजी क्षेत्रमा अहिले पनि धेरै समस्या आएको भन्दै त्यस्ता समास्याको समधानका लागि गृहमन्त्री खाँणलाई अनुरोध गरे। त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सधैँ तत्पर रहेको बताए।

असार १८, २०७९ शनिबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।