गुरुयोजनाविपरीत संरचना बनाउँदा वीरेन्द्रनगर मनसुनजन्य विपद्को उच्च जोखिममा

गुरुयोजनाविपरीत संरचना बनाउँदा वीरेन्द्रनगर मनसुनजन्य विपद्को उच्च जोखिममा

सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विपद्को उच्च जोखिममा रहेको छ। गुरुयोजनाविपरीत खोलानाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेपछि वीरेन्द्रनगरमा मनसुनजन्य विपद्को जोखिम बढेको हो।

अव्यवस्थित ढल तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू-भाग डुबानमा पर्ने गरेको छ। इत्राम, नेवारे, खोर्के, झप्रा, आँपडाली, निकास खोला वीरेन्द्रनगरका मुख्य खोला हुन्। यी खोला आसपासका बस्तीहरूमा बाढीको उच्च जोखिम बढेको छ।

खोलानाला र सार्वजनिक स्थानहरू च्यापेर घर निर्माण गरिँदा डुबानको जोखिम बढ्दै गएको छ। खोलाहरू माथिल्लो खण्डमा अपवादबाहेक २०–२५ मिटर चौडा छन्। तर, तलतिर गएपछि साँघुरो हुँदै नालामा परिणत भएका छन्।

नगरपालिकाले नगर गुरुयोजना कडाइका साथ कार्यान्वयन नगर्नाले डुबानको समस्या भएको वीरेन्द्रनगर–६ की शान्ति बिसीले बताइन्।
‘नगरपालिकाको गुरुयोजनाविपरीत खोलानाला च्यापेर घर बनाइएका छन्। यहाँ त खोला बस्तीमा होइन, बस्ती खोलामा गएपछि बाढीको जोखिम बढेको हो’, उनले भनिन्, ‘मनोमानीरूपमा संरचना बनाउने अनुमति दिँदा यस्तो समस्या भएको हो।’

यता वीरेन्द्रनगरमा विपद् प्रतिकार्यका लागि नगरपालिकाले छुट्टै टिम खडा गरेर काम गरिरहेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल बताउँछन्।

‘विपद् प्रतिकार्यका लागि हामीले नगरपालिकामा छुट्टै टिम नै बनाएर काम गरिरहेका छौं। मौसमको अवस्था हेरेर तल्लो तटीय र खोला किनाराका बस्तीलाई सूचना दिन्छौं’, उनले भने, ‘तत्काल उद्धार तथा राहतका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर काम गरिरहेका छौं।’

उपप्रमुख खनालले खोला क्षेत्रको संरक्षण गर्नका लागि निगरानी बढाइएको र विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजनाअनुसार जोखिममा रहेका संरचनाको व्यवस्थापन गरिने बताए।

उपत्यकाबाट पानी बाहिरिने निकास खोला निकै साँघुरो छ। उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा बर्षेनी डुबान र कटानको जोखिममा छन्। दुई वर्षअघि थालिएको निकास खोला तटबन्धन निर्माणको काम अझै पूरा भएको छैन। हालसम्म ५०० मिटरमा मात्रै तटबन्धनको काम भएको छ।

२०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढी, पहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ जनाले ज्यान गुमाएका थिए। सुर्खेत चुरे र महाभारत श्रृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला भएकाले यो मनसुनजन्य विपद्को उच्च जोखिममा पर्दछ। यहाँको करिब ४३ प्रतिशत भू-भाग महाभारत श्रृङ्खलाले ओगटेको छ।

असार १८, २०७९ शनिबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।