युक्रेनमा रुसले मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

युक्रेनमा रुसले मिसाइल हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु

एजेन्सीः युक्रेनमा शुक्रबार पुनः रुसले क्षेप्यास्त्र (मिसाइल) आक्रमण गरेको छ। ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

घटनामा अरू केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि बताइएको छ।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो। भवनमा झण्डै एक सय जना बस्दै आएका थिए। भवन अहिले क्षतिग्रस्त भएको छ।

स्थानीय समयअनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो। घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्।

रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण अस्वीकार गरेका छन्। स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दावी छ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ। आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ।

असार १८, २०७९ शनिबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।