एस.एस. राजामौली: फिल्म निर्देशक बन्ने सोचै थिएन, घर बस्दा बस्दा गाली खाएपछि बदलियो भाग्य

एस.एस. राजामौली: फिल्म निर्देशक बन्ने सोचै थिएन, घर बस्दा बस्दा गाली खाएपछि बदलियो भाग्य

एजेन्सीः भारतीय फिल्म उद्योगको अहिलेका सबैभन्दा सफल निर्देशक को हुन् ? उत्तर सजिलो छ- एस.एस. राजामौली।

'बाहुबली' जस्तो ब्लकबस्टर फिल्म बनाएका राजामौलीले 'आरआरआर' बनाएर पुनः आफूलाई प्रमाणित गरिसकेका छन्। यो त उनी चर्चित भइसकेपछिको कुरा हो। त्यसअघि नै उनले 'मख्खी', 'मगाधीरा' जस्ता चलचित्र बनाएर दक्षिण भारतीय दर्शकलाई आफ्नो क्षमता देखाइसकेका थिए।

राजामौलीले निकै अघिदेखि भन्दै आएका छन्- उनको सपना 'महाभारत' बनाउने हो। महाभारतको कथामा बनाउने फिल्मलाई उनी आफ्नो फिल्म करियरको महासागर मान्छन्। त्यसैले उनले भनेका छन्, 'म त्यो महासागरमा पौडिन जानुअघि तीन-चार वटा अरू फिल्म बनाउँछु।'

'ब्लुमबर्ग' नामक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई राजामौलीले हालै अन्तर्वार्ता दिए। उनले त्यो अन्तर्वार्तामा बलिउडको अवसानदेखि आफ्नो प्रेरणासम्म खुलाए।

त्यहाँ उनलाई प्रश्न गरिएको थियो- के आरआरआरको सफलता सोचेभन्दा बढी हो? भनेर। उनले जवाफ फर्काए- मैले मेरो करियरको अधिकांश समय फिल्मको बजेटको सीमानालाई धकेल्दै आएको छु। हरेक प्रोजेक्टको आफ्नै किसिमको बजार हुन्छ। त्यसलाई हामी सायदै मूल्याङ्कन गर्छौं। तर, मेरो फिल्मको बजेट जहिले पनि बजार मूल्यभन्दा बढी हुन्छ। त्यसैले फिल्म सफल हुनैपर्थ्यो।

र यो सफलता हामीले सोचेभन्दा बढी होइन। यो हामीले चाहेको सफलता हो। हामी कामना गर्छौं र काम गर्छौं।

यस्तै उनलाई प्रश्न गरिएको थियो बलिउडको घट्दो लोकप्रियताबारे। त्यसमा पनि उनले राम्रो जवाफ दिए। राजामौलीका अनुसार बलिउडले मासलाई सम्बोधन गर्न छोडेकाले यस्तो भएको हो। तर दर्शकले भने अझै पनि भयानक एक्सन, मेलोड्रामा चाहन्छन्।

सामाजिक सञ्जाल र युट्युबको जमाना आएपछि दक्षिण भारतीय फिल्म उद्योगले यी तत्व भएको फिल्म डब गरेर हाल्न थालेपछि दर्शकले मन पराएका हुन्। तर बलिउडले यो सबै सोचेन। राजामौलीका अनुसार दक्षिण भारतीय उद्योगले पनि सोचेर योजनाबद्ध रूपमा यो गरेको चाहिँ होइन। र यही समय (२०१५)मा बाहुबली रिलिज भएपछि यसले फिल्मको कोर्स नै परिवर्तन गरिदिएको उनले बताए।

यस्तै राजामौलीले आफू हलिउड फिल्म 'स्पाइडरम्यान' बाट प्रभावित भएको पनि बताए। उनले आफ्नो मनपर्ने निर्देशक मेल गिब्सन भएको पनि खुलाए। उनले अहिले पनि 'बेल हुर' फिल्मको भाग दोहोर्याइ-तेहेर्याइ हेर्ने गरेको बताए।

तेलुगुमा चाहिँ 'मायाबजार' र 'मिसअम्मा' उनको मनपर्ने फिल्म र आफू बढी प्रभावित भएको फिल्म रहेको उनले बताए।

यस्तै प्रश्नउत्तरको सिलसिला चलिरहँदा उनलाई सोधिन्छ- के तपाईंको बुवा फिल्म उद्योगमा नहुनु भएको भए तपाईं यहाँसम्म पुग्न सफल हुनुहुन्थ्यो?

उनले जवाफ फर्काउँछन्- म केही पनि काम नलाग्ने केटा थिएँ। केही नगरी घरमै बस्थेँ। त्यसैले बुवाले धेरै गाली गर्नुहुन्थ्यो। मलाई 'के चाहिँ गर्न चाहन्छस्?' भन्दै गाली गर्नुहुन्थ्यो। तर मलाई केही पनि थाहै थिएन। के गर्ने भन्ने सोचेकै थिइनँ।

मलाई पढ्न मन थिएन। त्यसैले कलेज छोडें। उहाँको गालीबाट जोगिनलाई एक दिन मैले 'म निर्देशक बन्छु' भनिदिएँ। निर्देशक बन्ने कुनै रहरै थिएन। गालीबाट जोगिनु थियो। अनि उहाँले मलाई असिस्टेन्ट एडिटरको रूपमा थुप्रै ठाउँमा काममा लगाइदिनुभयो।

अन्तर्वार्ताकै क्रममा उनले आफूले हालसम्म एउटा पनि फ्लप फिल्म नदिएको गर्विलो जवाफ दिन्छन्। उनले तर सन् १९९६ मा आफ्नो बुवा फिल्म निर्देशक र निर्माता भएर काम गर्दा ठूलो घाटा भएको र आफ्नो परिवारले निकै गाह्रो समयको सामना गर्नुपरेको बताए।

बुवाले बनाएको फिल्म दोस्रो दिन पनि नचलेर ठूलो आर्थिक सङ्कट व्यहोरेको उनले बताए।

यसबीच राजामौलीले आफू ग्लोबल अडियन्समा पुग्न चाहेको बताइरहेका थिए। अनि अन्तर्वार्ता लिनेले सबैभन्दा महत्त्वपूर्ण प्रश्न सोधे। 'के तपाईं ग्लोबल अडियन्समा पुग्न आफ्नो शैली परिवर्तन गर्नुहुन्छ?'

राजामौलीले जवाफ दिए- 'कुनै पनि फिल्मकर्मीले यस्तो गर्नुहुँदैन। अडियन्सको लागि भनेर तपाईंले आफ्नो संवेदनशीलतालाई परिवर्तन गर्नुहुँदैन। यदि तपाईंले आफूलाई परिवर्तन गर्न थाल्नुभयो भने तपाईं हराउनुहुनेछ।'

असार १८, २०७९ शनिबार १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।