उकेरा समाचार प्रभाव: छाप्रोको विद्यालयलाई २० लाख बजेट, भवन निर्माण हुनेमा भने आशंका

उकेरा समाचार प्रभाव: छाप्रोको विद्यालयलाई २० लाख बजेट, भवन निर्माण हुनेमा भने आशंका

बुटवलः गुल्मीको अति दुर्गम मानिने मालिका गाउँपालिका वडा नं २ साउनेपानीमा छ- सिद्ध मालिका आधारभूत विद्यालय। छाप्रोमा रहेको यस विद्यालयको अब स्तरोन्नति हुने भएको छ। भवन बन्ने भएको छ।

विद्यालयको दुरावस्था र विवादबारे उकेराले समाचार प्रकाशित गरेपछि भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको हो।

जंगलको फेदमा साना गाईगोठका टहरा जस्तै देखिने विद्यालयमा विद्यार्थीहरू काठको खाँबो गाडेर टिनले अड्याएर बनाएको कक्षाकोठामा झ्याल, ढोकाबिना नै अध्ययन गर्दै आएका छन्।

अरू त अरू विद्यालयमा शौचालय पनि छैन। जङ्गल क्षेत्रमा जानुपर्ने बाध्यता छ।

जनप्रतिनिधि भए वा नभए पनि विद्यालयको हालतमा कुनै सुधार नभएको भन्दै समाचार प्रकाशित भएपछि सरकारले भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको हो।

स्थानीयकै अवरोधले विद्यालय छाप्रोको छाप्रै

यद्यपि, यो बजेटबाट त्यहाँ भवनको काम हुन्छ या हुँदैन भन्नसक्ने अवस्था छैन। उक्त विद्यालयको एउटा भवन यसअघि स्थानीयहरूको विवादका कारण एक चौथाइ काम भएर रोकिएको थियो। अहिले भने सो भवन निर्माणको क्रममा छ।

स्थानीयले अपनत्व नलिँदा र आ-आफ्नो स्वार्थअनुसार विद्यालयलाई बारम्बार प्रयोग गरिरहँदा यस्तो दयनीय अवस्था आएको हो।

राजनीतिक 'जस'का लागि विद्यालयमा अवरोध
यसअघिका जनप्रतिनिधिहरूले विद्यालयमा भवन निर्माण, शौचालय निर्माणका लागि आवश्यक पहल गरेका थिए। तर, स्थानीयको विरोधले आएको बजेट समेत फ्रिज भयो।

स्थानीयबीचको झगडा र विद्यालयलाई राजनीतिक मुद्दा बनाउँदा विद्यालयको भौतिक अवस्था र शैक्षिक गुणस्तर खस्कँदो छ।

विद्यालयमा विवाद गराउने र काम गर्न नदिनेमा स्थानीय ओमबहादुर खड्का, भरत खत्री, रविन्द्र विक रहेको स्थानीयहरूले बताउँदै आएका छन्। विकले पछिल्लो समय त्यहाँ सडक लैजाने क्रममा विरोध जनाएका थिए। विक मालिका- २ का नेपाली कांग्रेसका सभापति हुन्।

'रेशम खड्का विद्यालय चाहन्छन्। कुनैबेला उनैले खर्च दिएर पनि विद्यालय चलेको हो। तर अहिले यो विद्यालयमा एकले गरेको काम अर्कोले स्वीकार नगर्ने स्थिति बन्यो। विद्यालय माथि उठ्न सकेको थिएन। अब त नयाँ जनप्रतिनिधिले मिलाएर लैजान्छन् कि के हुन्छ हेर्न बाँकी छ’, मालिका गाउँपालिका वडा नं. २ की एक स्थानीयले भनिन्।

कतिपयले उक्त विद्यालय रेशम खड्काको भनेर समेत चिन्ने गर्दछन्।

यस्तै गाउँकै नेपाली कांग्रेसका पूर्व वडा सभापति समेत रहेका भरत खत्रीले असहयोग गर्दा नै विद्यालयको सुधार हुन नसकेको ती स्थानीयले बताइन्। अहिले वडामा नेपाली कांग्रेसकै नेतृत्त्व आएकाले भने जस लिने बहानामै भए पनि विद्यालय सुधार हुने अपेक्षा गरिएको छ।

आगामी आर्थिक वर्षमा भवन बन्ने
मालिका गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष विनोद श्रीसले विद्यालयलाई २० लाख बजेट प्रदेश सरकारबाट परेको र यो बजेटबाट आगामी वर्ष भवन बनाउने बताए।

उनले स्थानीयलाई सहमत गराएर काम गर्ने बताए। ‘यसअघि जस्तो भए, ती तपशीलका कुरा भए। अहिले नयाँ नेतृत्त्व आएको छ। विद्यालयको पूर्वाधार विकास, शैक्षिक विकासमा वडा, पालिका गम्भीर छ। त्यहीअनुसार हामीले काम गर्छौँ’, उनले भने।

यता, मालिका गाउँपालिकाका पूर्व प्रवक्ता सोभाखर गिरी स्थानीयकै विवादका कारण ५ वर्षसम्म पनि विद्यालयको स्तरोन्नति हुन नसकेको बताउँछन्। आफूहरू स्थानीय तहको नेतृत्त्वमा रहँदा पहिले एउटा मात्र दरबन्दी रहेको विद्यालयमा ६ वटा दरबन्दी र एउटा बालकोटा थपेको बताए। 

विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि प्रयास गरे पनि स्थानीयकै अवरोधले नभएको र स्थानीयमा क्षेत्रीय सोच बढी हुँदा यसअघिका जनप्रतिनिधिले समेत राम्रोसँग काम गर्न नसकेको उनले बताए।

उनका अनुसार भूकम्प प्रतिरोधी ४ कोठे भवनका लागि ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। तर स्थानीयकै कारण भवन बन्न नसक्दा उक्त रकम मालिका गाउँपालिकाकै वडा नं ८ मर्भुङग गएको बताए।

त्यति मात्र होइन, शौचालय निर्माणका लागि ७ लाख बजेट विनियोजन भए पनि शौचालय समेत बनेन।

विद्यालयका प्राचार्य प्रदीप पन्तले अहिले पनि विद्यार्थीहरूलाई छाप्रोमै राखेर पढाउने गरिएको बताए। स्थानीयको असहयोगले विद्यालयको सुधार हुन नसकेको बताउँदै अबको नेतृत्त्वले स्थानीयलाई मिलाएर लैजानुपर्ने बताए। 

अहिले विद्यालयका आठ वटा कक्षा माटोले बनेका छन् भने ३ वटा टिनको छाप्रामुनि बारेर पढाउने गरिएको उनले बताए। 

कक्षा, २, ३ र ४ का विद्यार्थीहरूलाई छाप्रामै राखेर पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

छाप्रोमै भए पनि यहाँ झण्डै डेढ सय विद्यार्थी अध्ययन गर्छन्। यस सिद्ध मालिका आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। ०६५ सालमा स्थापना भएको यो विद्यालयले अनुमति ०६६ सालमा पाएको हो। 

७ कक्षासम्म अनुमति पाए पनि अहिले यहाँ ८ कक्षासम्म अध्ययन हुने गरेको छ। उपल्लो पाटाखर्क, साउनेपानी, सिरुखर्क, बाग्लुङ पातलेका बालबालिका विद्यालयमा पढ्ने गर्दछन्।

२ कोठे भवनको काम सुरु
एक चौथाइ निर्माण भएर रोकिएको २ कोठे भवन निर्माणको काम अहिले सुरु भएको छ। ०७२ सालमा साढे १३ लाखको ट्रस्ट भवनका लागि बजेट परे पनि भवन निर्माणमा आर्थिक चलखेल भएको भन्दै अख्तियारमा मुद्दा परेको थियो। 

त्यसपछि उक्त बजेटबाट पक्की भवन बनाउने भन्दै काम सुरु गरिए पनि स्थानीयकै अवरोधले भवनको एक चौथाइ मात्र काम भएर रोकिएको थियो। 

अहिले भने असार मसान्तसम्मका काम सम्पन्न गर्ने गरी भवन निर्माणको काम भइरहेको वडा अध्यक्ष विनोद श्रीसले बताए। ‘त्यही पुरानै लागत स्टेटमेन्टअनुसार भवन निर्माणको काम भइरहेको छ। असारमा यो भवनको काम सम्पन्न हुनेछ’, उनले भने।

असार १८, २०७९ शनिबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।