सामाजिक विकास मन्त्रालयमा दोभासेको काम गर्छन् गौरव
सुर्खेत : बोल्न र सुन्न नसक्नेहरूको आवाज बनेका गौरव अहिले सामाजिक विकास मन्त्रालयमा दोभासेको काम गर्न थालेका छन्। कालिकोट महावै गाउँपालिका– १ का २३ वर्षीय शाही दुई महिना पहिलेदेखि सामाजिक विकास मन्त्रालयमा दोभासेको रूपमा कार्यरत छन्। कर्णाली प्रदेश बहिरा संघको अनुरोधमा सामाजिक विकास मन्त्रालयले दोभासेको पद सिर्जना गरेको हो।
गौरवले अहिले मन्त्रालयको महिला तथा बालबालिका शाखामा बसेर कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका बहिरा समुदायका समस्या र मागहरू प्रदेश सरकारसम्म राख्ने गर्छन्। सरकारका कार्यक्रममा दोभासेसँगै बहिरा समुदायका विषयहरू मन्त्रालयमा राख्ने, बहिरा समुदायसँग सम्बन्धित संघ संस्थाहरूसँग समन्वय गरी नीति निर्माणहरूमा उनीहरूका कुराहरू समावेश गर्दै आएका छन्।
पहिला भेरी बहिरा संघ र कर्णाली बहिरा संघमा आबद्ध भएर काम गर्ने गौरव बहिरा समुदायका समस्याहरू लिएर सरकारी कार्यालय र मन्त्रालयमा जाने गर्थे । तर, अहिले उनी आफै उनीहरूका समस्या समाधान गर्ने स्थानमा पुगेका छन्।
‘पहिला भेरी बहिरा संघ र कर्णाली बहिरा संघमा आबद्ध भई बहिरा समुदायसँग–सँगै काम गरेँ’,उनले भने, ‘अहिले म मन्त्रालयमा दोभासेका रूपमा कर्णाली प्रदेशका १० जिल्लाकै बहिरा समुदायसँग काम गर्ने अवसर पाएको छु।’
उनी मन्त्रालयमा बिहान साँझ जागिर मात्रै गर्दैनन् । मन्त्रालयले आयोजना गरेका विभिन्न कार्यक्रममा दोभासेको सहजीकरण गर्छन्। १० वटै जिल्लामा बहिरा समुदायलाई परेको नीतिगत, व्यक्तिगत समस्याहरू भिडियो कल मार्फत पनि समाधान गर्छन्।
बाहिर भएर बहिरा समुदायसँग काम गर्दाभन्दा आफू नै मन्त्रालयमा कार्यरत भएपछि काम गर्न अझै सहज हुने गरेको उनी बताउँछन्।
‘पहिला उनीहरूसँग काम गरे पनि यसरी सरकारी तवरबाट केही नीति निर्माण र योजना ल्याउन अप्ठ्यारो हुन्थ्यो। मन्त्रीज्यू र सचिवज्यूलाई भेटघाट गर्ने समय व्यवस्थापन गर्न पनि समस्या हुनुन्थ्यो,’उनले भने, ‘अहिले म आफै यहाँ हुँदा सरकारका विभिन्न क्रियाकलापको विषयमा बहिरा समुदायलाई पनि जानकारी भएको छ। जसले गर्दा उनीहरू सूचनाबाट वञ्चित हुन परेको छैन । उहाँहरूका कामहरू पनि सहजै भएका छन्।’
उनको घरमा ५ जनाको परिवार। घरको जेठो छोरा हुन् गौरव। आमाबुवा गाउँमा फलफूल पसल चलाएर बस्छन्। उनी पनि सुर्खेत अध्ययन गर्न आएका थिए। तर, लकडाउनको फुर्सदिलो समयमा दोभासे सम्बन्धी तालिम लिएर उनी एकाएक दोभासे हुन पुगे। हुन त उनी आईसीटी (इन्फर्मेशन टेक्नोलोजी)मा स्नातक गरिरहेका छन्।
उनीसँग सुर्खेतका विभिन्न कार्यक्रमहरू, सरकारी कार्यालय, प्रहरी कार्यालयदेखि अड्डा अदालतसम्म दोभासेको काम गरेको अनुभव छ। अहिले पनि बोलाएको ठाउँमा उनी दोभासेको रूपमा काम गर्न जान्छन्।
‘मैले यसरी सांकेतिक भाषा सिकेर यो क्षेत्रमा काम गरौँला भन्ने कल्पना गरेकै थिइनँ ।कोरोनाको फुर्सदिलो समयको सदुपयोग गरौँ भनेर तालिम लिएपछि दोभासे भएँ,’ गौरवले भने, ‘अहिले म धेरै खुसी नै छु। आवाजविहीनको आवाज हुन पाएको छु। विभिन्न कार्यक्रममा मलाई सम्मान गर्नुहुन्छ।’
असार १७, २०७९ शुक्रबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।