पोखराको पर्यटन क्षेत्रमा लगानी गर्न बैंकका सिइओहरुसँग मेयर आचार्यको आग्रह
पोखरा : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन्। शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा मेयर आचार्यले महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढाउन आग्रह गरे।
मेयर आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि फोहोर व्यवस्थापन गर्नु पर्ने चुनौती भएपनि त्यसलाई छिट्टै टुंगो लगाउने बताए। उनले आगामी १ जनवरीदेखि विमानस्थल जुनसुकै हालतमा सञ्चालनमा ल्याउनका गर्ने अवस्था रहेको बताउँदै विमानस्थल सञ्चालसंग जोडिएका पर्यटकीय पूर्वाधारमा लगानी आवश्यक रहेको उल्लेख गरे।
उनले भने,‘हामीले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौँ। एयरपोर्ट छिट्टै सञ्चालनमा आउनेवाला छ। त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिट्टो गर्ने क्रम अगाडि बढाएका छौँ। एयरपोर्ट सञ्चालनमा आएपछि त्यससँग जोडिएका पर्यटकीय पूर्वाधारको खाँचो छ। त्यसका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ। अझ बैंकहरुको ठूलो लगानी त्यसका लागि चाहिन्छ। त्यसैले यहाँहरूले पर्यटनको क्षेत्रमा सहजढंगले लगानी बढाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु।’
मेयर आचार्यले लगानीमैत्री वातावरण बनाउन महानगर तत्पर रहेको बताए। बैंकका सिइओहरुले पोखरा त्यसमा पनि खास गरेर लेकसाइडका घरलाई महानगरले सम्पन्नता नदिँदा लगानी गर्न समस्या रहेको बताएपछि मेयर आचार्यले फेवा मापदण्ड बाहेकका बाँकी समस्या छिट्टै हल गरिने प्रतिबद्धता जनाए ।उनले भने, ‘फेवा तालको मापदण्डको विषय अहिले सर्वोच्च अदालतमा पुगेको छ । यस विषयमा फैसला आएपछि नै केही गर्न सकिन्छ। बाँकी विषय छिट्टै एउटा विधिले हल गर्छौँ । यसका लागि केही समयमा नै काम सुरु गर्ने छौँ।’
मेयर आचार्यले पोखराको विकाससँगै जनअपेक्षा अनुसारका कार्य गर्नकै लागि आफू आएको बताउँदै पाँच वर्षमा केही परिवर्तन भएको अनुभूति गराएरै छाड्ने अठोट व्यक्त गरे। मेयर आचार्यले बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्नका लागि खर्चिने रकमलाई पनि पोखरामा उपयोग गर्न आग्रह गरे।
कार्यक्रममा बैंकर एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंक वित्तीय संस्था पोखरा क्षेत्रको पर्यटनमा लगानीका लागि तयार रहे पनि केही झन्झटका कारण समस्या भोग्दै आएको बताए। उनले थोरै तलाको सम्पन्न लिएर धेरै तला बनाएका भवनहरूको निर्माण सम्पन्नताको कागजात अनुरूप लगानी गर्दा समस्या भएको बताए। उनले अबका दिनमा भने लगानीमैत्री वातावरण बन्नेमा आफूहरू आसावादी रहेको उल्लेख गरे।
असार १७, २०७९ शुक्रबार २२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।