गुगल म्यापले ६ खुट्टा भएको कुकुर देखाएपछि...

गुगल म्यापले ६ खुट्टा भएको कुकुर देखाएपछि...

एजेन्सीः गुगल म्याप कसलाई पो उपयोगी नभएको होला र! नयाँ गन्तव्यको खोजी गर्न होस् वा कसैलाई आफ्नो घरमा बोलाउन, बाटो थाहा नभएकालाई गुगल म्यापले धेरै नै सहज बनाएको छ। 

तर गुगल म्यापलाई धेरै नै गम्भीर भएर प्रयोग गर्दा कहिलेकाहिँ चकित पार्ने घटना पनि सार्वजनिक हुने गरेका छन्।

यस्तै घटना अमेरिकामा पनि फेला पर्यो। अमेरिकाको क्यालिफोर्नियास्थित सान जोसका एक व्यक्तिले गुगल म्यापमार्फत आफ्नो घर पुग्ने स्ट्रिट (बाटो) खोजिरहेका थिए। सो क्रममा उनले सान जोस नजिकै लस पेसोज पार्कमा एक हैरान हुने दृश्य फेला पारे। त्यो दृश्य थियो- एक जोडी मानिससँग ६ वटा खुट्टा भएको कुकुर पनि हिँडिरहेको।

कुकुरको त चार वटा खुट्टा हुन्थ्यो, सामान्यभन्दा दुई गुणा बढी लम्बाइ भएको ६ खुट्टे कुकुर देखेपछि उनी चकित परे। थप उत्सुक हुँदै उनले सो दृश्यलाई पछ्याइरहे। उनले सामाजिक सञ्जालमा ‘मैले ६ वटा खुट्टा भएको कुकुर फेला पारें’ भन्दै स्टेटस पनि लेखे। अनि धुइँपताल खोजे ६ खुट्टे कुकुरलाई।

लामो प्रयासपछि उनको उत्सुकता मेटियो। गुगल म्यापमा देखिएको ६ खुट्टै कुकुर वास्तवमा ६ खुट्टे थिएन। त्यहाँ अर्को सँगै हिँडेको कुकुर पनि थियो।

गुगल म्यापको क्यामेरा ग्लिच (त्रुटि)का कारण अर्को कुकुर देखिएन, खुट्टा मात्र देखियो।

चाहिनेभन्दा बढी नै उत्सुक भएपछि ती व्यक्तिको घण्टौंको खोज खेर गयो। गुगल म्यापमा ६ खुट्टे कुकुर पछ्याउन सक्नेले एक पटक गुगल सर्चमा कुकुरको ६ वटा खुट्टा हुन्छ कि हुँदैन भनेर खोजेको भए पनि उत्तर सजिलै फेला पार्थे नि!

असार १७, २०७९ शुक्रबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।