काठमाडौंमा भिख माग्न निषेध
काठमाडौंः काठमाडौं महानगरपालिकाभित्र भिख माग्ने क्रियाकलाप निषेध गरिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिख माग्न प्रतिबन्ध लगाएको हो।
महानगरको नगर सभाको ११औं अधिवेशनबाट स्वीकृत नीतिका आधारमा महानगरले यस्तो सूचना प्रकाशित गरेको हो।
सूचनामा उल्लेख भएअनुसार सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय वा कार्यालयका परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिख माग्न पाइनेछैन। महानगरको सूचनामा भनिएको छ, 'बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौं महानगरपालिका नगर सभा ११ औं अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ।'
यद्यपि साधु. सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घर-घरमा पुगी भिक्षा माग्ने र धार्मिक र सांस्कृतिक कार्यमा माग्ने क्रियाकलापलाई भने महानगरले छुट दिएको छ। यसमा कुनै रोक छैन।
यस्तै अशक्त, बेवारिसे, बिरामी तथा सहयोगको आवश्यकता परेकालाई महानगरले मानव सेवा आश्रमसँग समन्वय गरी व्यवस्थापन गर्दै आएको जनाएको छ। आवश्यक परेकाहरूले काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रमलाई सम्पर्क गर्न सक्ने महानगरको सूचनामा उल्लेख छ।
यस्तै सूचना प्रकाशित भएको मितिले १० दिनभित्रमा भिख माग्ने काम नगर्न र नगराउन पनि महानगरले निर्देशन दिएको छ। यसको उल्लङ्घन गरेमा कानून बमोजिम कारबाही हुने बताइएको छ।
असार १७, २०७९ शुक्रबार १०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।