विपद्का कारण मधेशमा ११ महिनामा ५०१ जनाको मृत्यु, अनुशासनविपरीत काम गर्ने २३७ प्रहरी कारबाहीमा
काठमाडौंः मधेश प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको ज्यान गएको हो।
यही अवधिमा २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए। यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।
यस्तै यही अवधिमा ६ हजार २२३ सवारीसाधन दुर्घटना हुँदा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ। यस्तै सात हजार ९४५ जना घाइते भएका छन्।
यसका साथै ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको समेत कार्कीले बताए। यस क्रममा २० करोड २७ लाख राजस्व सङ्कलन भएको छ।
अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पनि यही अवधिमा पक्राउ परेका थिए। उनीहरूबाट १५ थान हतियार बरामद भएको प्रवक्ता कार्कीले बताए। यसका साथै प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ।
यस्तै प्रहरी अनुशासनविपरीत काम गर्ने २३७ प्रहरीलाई यो अवधिमा मधेश प्रदेश कार्यालय जनकपुरले कारबाही समेत गरेको छ। यसका साथै यो अवधिमा उत्कृष्ट काम गर्ने एक हजार ४० प्रहरीलाई पुरस्कृत समेत गरिएको छ।
असार १७, २०७९ शुक्रबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।