पोखरामा ४६ लाख नगदसहित तीन चिनियाँ नागरिक पक्राउ
पोखरा : पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ नागरिकले चलाइरहेको कम्पनीमा छापा मारेपछि तीन जना चिनियाँ नागरिक र एक नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको हो।
अबैधरुपमा चिनियाँ नागरिकहरूले कार्यालय संचालन गरेर शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले छापा मार्दा ठुलो रकम सहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूले बरामद भएको रकमको स्रोत खुलाउन नसकेको डिएसपी तिवारीले बताए। डिएसपी तिवारीका अनुसार पक्राउ पर्ने नेपाली नुवाकोटको ककनी गाउँपालिका– ७ का सुमन तामाङ रहेका छन्। त्यसैगरी पक्राउ परेका तीन जान चिनियाँहरूमा दुई पुरुष र एक जना महिला रहेका छन्।
उनीहरू तीनै जनाको ठेगाना खुल्न सकेको छैन। उनीहरूले विगत ६ महिनादेखि ड्यामसाइको बज्र इन होटलको फ्लाट भाडामा लिएर तामाङका नाममा डाइमण्ड टेक्नोलोजी कम्पनी मार्फत सफ्टवेयर निर्माण गर्ने काम गर्दै आएको खुलेको छ।
पर्यटक भिसामा आएर चिनियाँ नागरिकहरूले अबैधरुपमा आइटी सम्बन्धी काम गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
असार १६, २०७९ बिहीबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।