गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा कोरम नपुगेपछि स्थगित
पोखरा : गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा सभापति बाहेक अन्य उपस्थित नभएपछि बैठक स्थगित भएको छ। असार १ मा गण्डाकी प्रदेश सरकारले बजेट संसद्मा प्रस्तुत गरेपनि गठबन्धनका दलका बीच बजेटका विषयमा असहमति भएपछि त्यसकै बारेमा छलफल गर्न डाकिएको बैठकमा सभापतिबाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको हो।
समितिका सभापति दीपक कोइरालाले ६ जना मन्त्री, ६ जना एमालेका सांसद र दुई जना माओवादी सांसद रहेको समितिको बैठक डाकेकोमा सभापति बाहेक कुनैपनि सदस्य उपस्थित भएन।
समिति सभापति माओवादी केन्द्रबाट दिपक कोइराला सभापति रहेका छन्। एमालेबाट किरण गुरुङ, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ र मीनप्रसाद गुरुङ रहेका छन्। माओवादीबाट विनोद केसी सदस्य रहेका छन्।अन्य ६ जना सदस्यमा अर्थमन्त्री सहित रहका छन्।
गण्डकी प्रदेश सरकारले गत १ असारमा आव २०७९-०८० को लागि बजेट ल्याएको बजेटमा अर्थमन्त्री रामजीप्रसाद बरालले मुख्यमन्त्रीको निर्देशन विपरीत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाई दिएपछि सत्ता पक्षबीच आन्तरिक द्धन्द्ध चर्किएको छ। सत्तारुढ दलबिच विवाद चर्किएपछि बजेट माथिको छलफलनै रोकेर अनिश्चितकाका लागि संसद्को बैठक स्थगित गरिएको छ।
गण्डकीले ३६ अर्ब ९० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको थियो। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले हिजो पत्रकार सम्मेलन गरेर सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै विरोध गरेका थिए।
असार १६, २०७९ बिहीबार २०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।