फिल्म 'प्रसाद-२' ले 'प्रसाद' को ईतिहास दोहोर्याउँला !
काठमाडौँ : व्यवसायी रूपमा सफल र समीक्षकहरूको प्रशंसा पाएको फिल्म प्रसादको सिक्वेल ‘प्रसाद २’ मा बन्ने औपचारिक घोषणा भएको छ। निर्माण टिमले बिहीबार औपचारिक कार्यक्रम गरेको गरेको घोषणा अनुसार सिक्वेलमा भारतीय फिल्ममा समेत अनुबन्धित भइसकेका अभिनेता विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन्।
सन्तानहीन दम्पतीको जीवनमा आउने आरोह-अवरोहमा केन्द्रित प्रसाद २०७५ मा रिलिज भएको थियो। बलात्कारीको वीर्य प्रसाद हुने कि नहुने भन्ने बहस सिर्जना गर्न सफल फिल्मको सिक्वेलको निर्देशक भने बदलिएका छन्। सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नेछन्। ‘प्रसाद’ को निर्देशक भने दिनेश राउत थिए।
फिल्म सुशील पौडेलले लेखका हुन्। यो फिल्मबाट मेडिकल व्यवसायी केशव पाण्डेले निर्माताको रूपमा डेब्यु गरेका छन्। कार्यक्रममा बोल्दै पाण्डेले कर्पोरेट क्षेत्रले फिल्ममा लगानी गर्दा यो क्षेत्रको व्यावसायिकता माथि उठ्ने भएकाले आफू फिल्म क्षेत्रमा समेत आएको बताएका थिए।
कार्यक्रममा निर्देशक थापाले ‘प्रसाद’को मर्म र मूल्यलाई मर्न नदिने गरी यसको सिक्वेललाई तयार पार्ने बताएका थिए। अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने बताए।
लेखक पौडेलले यो फिल्म नाम मात्रैको सिक्वेल नहुने दाबी गरे। उनले जहाँबाट प्रसादको कथा सकिएको छ प्रसाद-२ त्यहीँबाट सुरु हुने कार्यक्रममा बताए। बाबुराम र नारायणी गाउँ फर्किएपछि उनीहरूको जीवनमा आउने उतार चढाव नै फिल्मको केन्द्र रहेको पौडेलले जानकारी दिए।
यो फिल्ममा ‘प्रसाद’मा मुख्य भूमिका निभाएका अर्का अभिनेता निश्चल बस्नेत भने देखिएका छैनन्। कमर्शियल रूपमा निश्चलको भ्यालु भए पनि अभिनयका हिसाबमा उनीभन्दा अब्बल अभिनेता अर्पण थापा प्रसाद-२ मा भित्रिएका छन्।
फिल्ममा विपिन, नम्रता र अर्पणसँगै राज कटुवाल,कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारी समेत अनुबन्धित भइसकेको निर्माण टिमले जानकारी दिएको छ।
निर्माण टिमका अनुसार फिल्म यसै साताबाट फ्लोरमा जानेछ। फिल्म कास्कीको याङ्जाकोट आसपास छायाङ्कन गरिनेछ भने राजेश श्रेष्ठले यसलाई खिच्नेछन्। सम्पादनको जिम्मा मिलन श्रेष्ठले पाएका छन्।
निर्माण टिमका अनुसार आगामी तिहारमा फिल्म प्रदर्शन गर्ने तयारी गरेको छ।
असार १६, २०७९ बिहीबार २०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।