डियर वाकसँगको सहकार्यमा हाम्रो पात्रोले सुरु गर्‍यो  ई-लर्निङ्ग प्याल्टफर्म

डियर वाकसँगको सहकार्यमा हाम्रो पात्रोले सुरु गर्‍यो  ई-लर्निङ्ग प्याल्टफर्म

काठमाडौँ : हाम्रो पात्रोले नयाँ फिचरको रूपमा 'हाम्रो लर्निङ सेन्टर' ल्याएको छ। एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा बिटा भर्सनको रूपमा नयाँ सुविधा ल्याएको कम्पनीले जनाएको छ।

समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेकाले नयाँ फिचर ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाम्रो पात्रोका सिइओ शङ्कर उप्रेती र डियर वाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीबिच सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

हाम्रो पात्रो इंक. का फाउन्डर/सिइओ शङ्कर उप्रेतीले पात्रोको लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आम मानिसको पहुँचमा पुर्याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताए।

उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन पहल गर्ने बताएको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा कार्कीले  हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्याउन पाउँदा उत्साहित भएको बताए।

हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने उनले आशा व्यक्त गरेका थिए।

कम्पनीका अनुसार हाललाई डियर वाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्ने उल्लेख छ। यसमा अहिले कक्षा चार देखि एघार कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध छन् । आगामी दिनमा बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज  थप्दै जाने कम्पनीले जानकारी गराएको छ।

असार १६, २०७९ बिहीबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।