हिजोका कुरामा डा. सुधा श्रेष्ठ : मन्दिरै-मन्दिरको सहर यतिबेला घरै-घरको सहर पो भयो
सन् १९६१ मा ललितपुरको पाटनस्थित मंगलबजारको कुलिमा टोलमा जन्मे/हुर्केकी हुन्, प्रा.डा. सुधा श्रेष्ठ। तत्कालीन सोभियत संघबाट स्नातक र स्नात्तकोत्तर गरेकी डा. श्रेष्ठ हाल इन्जिनियरिङ अध्ययन संस्थान आइओमा स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थीलाई पढाउने गर्छिन्।
सहरी योजनामा समेत सक्रिय उनले २०१० मा ‘पार्टिसिपेटोरी अप्रोच फर कन्जर्भेसन अफ कल्चरल हेरिटेज’ शीर्षकमा विद्यावारिधि हासिल गरेकी छन्।
यसबाहेक अन्य थुप्रै विषयमा रिसर्च गरेकी प्रा.डा. श्रेष्ठको मुख्य विषय मठ-मन्दिर, सम्पदा र परम्परागत संरचना संरक्षण हो। उनी आफ्नो अध्ययन र विगतलाई यसरी सम्झन्छिन्:
आर्किटेक्चर पढ्ने छात्राहरु बढी हुन्थे
मैले मानभवनस्थित आदर्श विद्या मन्दिर स्कुलबाट २०३५ सालमा स्कुलिङ गरे। त्यो विद्यालय अहिले पनि त्यहीं छ।
स्कुल पूरा गरिसकेपछि पुल्चोकस्थित इन्स्टिच्युट अफ इन्जिनियरिङमा डिप्लोमा इन आर्किटेक्चर अथवा सर्टिफिकेट अफ आर्किटेक्चर भन्ने कोर्स थियो। अहिलेको प्लस टु भनेझैं त्यतिबेला आर्किटेक्चरको लागि दुई वर्षे कोर्स हुन्थ्यो। अचेल त्यो कोर्स छैन।
मैले स्कलरसिपमार्फत सर्टिफिकेट इन आर्किटेक्चरको कोर्स पढ्न पाएकी थिएँ। तर त्यतिबेला सर्टिफिकेट इन आर्किटेक्चरबाट विदेशको लागि तुरुन्तै छात्रबृत्ति पाइँदैनथ्यो। त्यसैले दुई वर्षे कोर्स पूरा गरिसकेपछि लगत्तै साइन्स विषय पढ्न गएँ।
पाटन क्याम्पसमा साइन्स अन्तर्गत आइएस्सी इन फिजिक्स पढें। पढ्दै गर्दा यता आइओइमा इन्स्ट्रक्टरको काम पनि गर्थें। हाम्रो पालामा शिक्षामा गुणस्तरीयता थियो। शिक्षक विद्यार्थी अनुशासित थिए। स्कुल र प्लट टुसम्मको पढाइ रमाइलो नै थियो।
त्यतिबेला आर्किटेक्चर र साइन्स पढ्ने छात्राहरु धेरै थिए। उसो त केटाहरुको रोजाइमा पनि आर्किटेक्चर पर्ने गर्छ। संसारमा चर्चित आर्किटेक्टहरु केटा मान्छे नै बढी छन्। तर पनि इन्टेरियर डिजाइन, कला, रचनात्मक लगायत यसभित्र थुप्रै विषय पर्ने भएकोले प्रायजसो छात्राको रोजाइमा आर्किटेक्चर पर्ने गर्छ। साइन्स आफैंमा कला र विज्ञानको सम्मिश्रण पनि भएकोले केटीहरु यो विषयमा बढी रमाउँछन्।
सोभियत संघमा पढ्न पाउँदा...
सन् १९८५/०८६ ताकाको कुरा हो। नेपालमा साइन्स विषय पूरा गरेपछि मात्र उच्च शिक्षाको आवेदन दिएको थिएँ। छात्रबृत्तिमा नाम निस्केपछि अध्ययनका लागि रुस गएँ।
तत्कालीन सोभियत संघबाट उच्च शिक्षा हासिल गर्ने मौका पाएँ मैले। त्यो बेला रुस सोभियत संघ अन्तर्गत थियो। ब्याच्लर र मास्टर्स इन आर्किटेक्चर गरी स्नातक तह र स्नात्तकोत्तर तह विषयको पढाइ रुसबाटै पूरा गरें।
रुसी युनिभर्सिटीहरुमा आर्किटेक्चरका विद्यार्थीलाई आफ्नैखाले युरोपियन शैलीको आर्किटेक्चर पढाइ हुन्छ। त्यसबाहेक नेपाल र अन्य मुलुकमा पढाइ हुने आर्किटेक्चरको विषयवस्तु लगभग उस्तै-उस्तै हुन्छ। तर फरक यत्ति थियो कि, त्यहाँका युनिभर्सिटीमा नेपालमा जस्तो अंग्रेजी भाषामा पढाइ हुदैन्थ्यो। विद्यालयदेखि विश्वविद्यालय तहसम्म रुसी भाषामा नै पढाइ हुन्थ्यो। र, हामी विदेशबाट गएका विद्यार्थीले पनि रुसी भाषामा नै पढ्नुपर्थ्यो।
रुसी भाषामा अध्ययन गर्नु आफैंमा कठिन थियो। त्यसैले रुस जानुअघि प्लस टुसम्मको अध्ययनपछि मैले केही समय रुसी भाषा सिकेको थिएँ। तर रुस पुगिसकेपछि भने एक वर्षजति एडभान्स्ड तहको रुसी भाषा सिकें।
त्यसमा पनि रुसी भाषामै आफूले अध्ययन गर्ने विषयसँग सम्बन्धित रसायनशास्त्र, भौतिकशास्त्र, वास्तुकलाजस्ता आधारभूत विषयवस्तु पनि पढाइ हुन्थ्यो। एक वर्षको रुसी भाषा सिकाइपछि मात्र युनिभर्सिटीमा अध्ययन गर्न सहज भयो।
नेपालजस्तो मुलुकमा अंग्रेजी भाषा बोल्ने जो-कोही देखेपछि त्यो जस्तो सर्वगुण भएको अरु कोही छैन जस्तो धारणा हुन्छ। रुसमा अंग्रेजी, स्पानिस, फ्रेन्च लगायत विभिन्न विदेशी भाषा पनि सिकाइन्छ। बाहिर बोलिन्छ पनि। तर पनि रुसमा अन्य भाषालाई मान्यता नदिएर आफ्नो भाषालाई प्राथमिकतामा राखिन्छ।
अध्ययनको क्रममा कहिलेकाहीँ नेपाल आउने-जाने गर्थें। तर युनिभर्सिटीको छुट्टीको समयमा सँगै अध्ययन गर्ने साथीहरुसँग मिलेर युरोपियन मुलुकहरु घुम्न निस्किन्थ्यौं। सोही क्रममा जर्मनी, इंग्ल्याण्ड, टर्की लगायत मुलुक घुम्ने मौका पाएको थिएँ।
तत्कालीन रुसी सरकारले रुसी नागरिकलाई विदेश घुम्न प्रतिबन्ध लगाएको थियो। तर हामी विदेशबाट आएका विद्यार्थीलाई भने जहाँ पुग्न पनि अनुमती थियो।
त्यतिबेला खर्च पनि सस्तो र हामीजस्तो विद्यार्थीलाई सहुलियत पनि मिल्थ्यो। घुम्न जाँदा रुसबाटै भिसा उपलब्ध गराइन्थ्यो। रुसको अजरबैजान प्रान्तस्थित भाकु सहरबाट भिसा लिन राजधानी मस्को पुग्नुपर्थ्यो। हामी विद्यार्थी भिषामा गएकोले पैसा देखाउनु पर्दैनथ्यो। भिसा लिन आउने विदेशी विद्यार्थी र पर्यटकको संख्या धेरै हुन्थ्यो। सोही कारण ट्राभल भिसा लिन भने ठूलो लाइन लाग्नुपर्थ्यो।
स्नातक र स्नात्तकोत्तरको एउटै सर्टिफिकेट
रुस जाने बेला नेपालमा राजा वीरेन्द्रको शासन थियो। विभिन्नखाले अवसर प्राप्तिको मामिलामा त्यतिबेला राजाभन्दा भारदारहरु खराब हुन्थे भन्ने सुनिन्थ्यो। तर पनि हामी काठमाडौंबासीका लागि विभिन्नखाले अवसर प्राप्तिमा महिला-पुरुष भन्ने विभेद कहिल्यै पनि भएन।
मलाई याद भएसम्म त्यतिबेला पनि काठमाडौंमा महिला-पुरुष भन्नेखालको विभेद कहिल्यै पनि भएन। महिला-पुरुष सबैको लागि समान शिक्षा थियो। शिक्षा तथा रोजगारीजस्ता अवसर प्राप्तिको लागि महिला-पुरुषबीच समान प्रतिस्पर्धा हुन्थ्यो। सोही कारण मैले विदेशमा उच्च शिक्षा अध्ययनको लागि स्कलरसिपमा आवेदन दिएको थिएँ।
आवेदन दिनेमा थुप्रै विद्यार्थी थिए। मसँगै अन्य तीन-चार विद्यार्थी छनोटमा परेका थिए। रुस गएर आफूलाई मन पर्ने विषय आर्किटेक्चर अध्ययन गर्न पाइने हुँदा म दंग थिएँ।
त्यतिबेला रुसमा अहिलेजस्तो चार/पाच वर्षे स्नातक र दुई वर्षे स्नात्तकोत्तरको कोर्स भन्ने चलन थिएन। अन्य विषय पढ्नेहरुको ६ वर्षे कोर्स हुन्थ्यो भने आर्किटेक्चर विषय पढ्नेहरुको स्नातक र स्नात्तकोत्तर गरी सात वर्षे कोर्स हुन्थ्यो। सात वर्षे कोर्स पढेपछि एकै चोटी स्नात्तकोत्तरको सर्टिफिकेट पाइन्थ्यो। मैले पनि स्नातक र स्नात्तकोत्तर तह पढेपछि दुवैको एउटै सर्टिफिकेट पाएको थिएँ। तर अचेल भने अधिकांश विश्वविद्यालयले स्नातक र स्नात्तकोत्तर गरी दुवै तहको भिन्दाभिन्दै सर्टिफिर्केट विद्यार्थीलाई उपलब्ध गराउने प्रचलन छ।
रुसबाट फर्किएपछि भने पुन: आइओइ पुल्चोकमा अध्यापनलाई निरन्तरता दिएँ। अध्यापनकै क्रममा सन् २००५ मा मैले विद्यावारिधिको लागि अध्ययन सुरु गरें र २०१० मा विद्यावारिधि हासिल गरें।
घरभन्दा अग्ला मन्दिरको सहरमा मन्दिरभन्दा अग्ला घर
पाटन क्षेत्र प्राचीन समयदेखि नै मठ-मन्दिर, देव-देवायल, कला-संस्कृतिमा भिजेको सहर हो। म पनि त्यही क्षेत्र नजिकै जन्मे/हुर्केको हुनाले त्यहाँ भएका जति पनि मठ-मन्दिर, कला-कृति, संस्कृति सानैदेखि खुब मन पर्थ्यो। बाल्यकालदेखिको रुचि अहिलेसम्म मरेको छैन। सोही कारण मैले आफ्नो आफ्नो अध्ययन, अध्यापन तिनै कला-संस्कृति, मठ-मन्दिर, परम्परागत नेवारी संरचनामै गरें।
म सानो छँदा काठमाडौं उपत्यकाभित्र जति पनि मठ-मन्दिर र अन्य सम्पदा थिए, ती अहिलेका भवनभन्दा ठूला हुन्थे। तर अहिले ती संरचनाभन्दा कैयौं गुणा अग्ला भवन बनेका छन्।
पहिलेका सबैजसो मानिसले धार्मिक आस्था राख्ने गर्थे। त्यतिबेला यदि आफ्नो टोलमा कुनै पनि भगवानको सानो या ठूलो मन्दिर छन् भने त्यहाँ ती मन्दिरभन्दा अग्ला घर बनाउनु हुँदैन भन्ने नियम थियो। त्यो धार्मिक नियमका कारण मन्दिरभन्दा अग्ला घर बन्दैनथे।
तर, उपत्यकामा विस्तारै सहरीकरण बढ्यो र मानिसहरु पनि आस्तिक हुँदै गए। धर्ममा विश्वास कम हुँदै गयो। मानिसलाई धर्मभन्दा धन ठूलो लाग्न थालेपछि अग्ला घरहरुबाटै आम्दानी हुने लोभले जतिसक्दो अग्ला घरहरु बन्ने प्रचलन बढ्यो। र, अचेल ऊबेला बनेका जति नै अग्ला मठ-मन्दिर र अन्य प्राचीन संरचनाभन्दा अग्ला आवासीय र कर्मसियल भवन संरचना बनेका छन्।
मन्दिरप्रति बेवास्ता बढ्दै गएको छ। जसले गर्दा संसारमा मन्दिरै-मन्दिरको सहर भनेर चिनिने काठमाडौं यतिबेला घरै-घरको सहरमा परिणत भएको छ।
त्यतिबेला मन्दिरमा पाटी-पौवा पनि बनाइएको हुन्थ्यो। पाटी-पौवामा मन्दिरमा पूजा गर्न आउने धर्मावलम्बीहरु बसोबास गर्थे। भोज खाने गर्थे। बाटोमा हिँड्ने बटुवाहरुले एक रात तिनै पाटी-पौवामा बिताउने गर्थे।
त्यतिबेलाका ती पाटीपौवा यतिबेला व्यक्तिगत बनाइयो। पुर्खाले दिएका ती पाटी-पौवा, मठ-मन्दिरजस्ता संरचनाको महत्व नबुझ्दा अचेल त्यस्ता कैयौ संरचना लोप भइसकेका छन्। कतिपय लोप हुने अवस्थामा छन्। बाँकी रहेका पुर्खाले दिएका संरचनाहरु संरक्षण गर्न सके, तिनको सम्मान गर्न सके संरक्षणकर्ताले पनि त्यसको राम्रो प्रतिफल पाउँछन्।
प्राचीन समयमा अरनिको र भृकुटीले चीनमा पुर्याएको प्यागोडा शैलीको संरचना हो। त्यो प्यागोडा शैली चीनले आफ्नो मौसम अनुकुल थोरै फरक बनाए पनि त्यसबाहेक हामीकहाँ भएका त्यस्ता संरचना संसारमा अन्त कहीँ पनि छैनन्भन्दा हुन्छ। त्यसैले संसारमा अन्यत्र नभएको हाम्रो देशको सबैखाले पुरानो एवं युनिक वास्तुकलालाई संरक्षण गर्नुपर्छ।
मठ-मन्दिर संरक्षणकर्ता गुठी
ती संरचनाहरुको संरक्षणका लागि जिम्मेवारीको प्रकृति अनुसार नेवार समुदायभित्र रहेका निजी गुठीहरु नै जुट्थे। अहिले पनि गुठीका सदस्यहरुले नै संरक्षण र व्यवस्थापन गर्ने गर्छन्। अहिले पनि निजी र सरकारी गरी दुई किसिमको गुठी प्रणाली सञ्चालनमा छ।
२०२१ सालमा राजा महेन्द्रले गुठी संस्थान स्थापना गरेका थिए। राजा महेन्द्रले गुठीको सरकारीकरण भयो, यसमा आफूसँग भएका गुठीहरु दर्ता गर्न आह्वान गरेका थिए। सो समयमा इच्छुक गुठियारहरुले राजाको आह्वान मान्दै सरकारी गुठीमा आफ्ना गुठीहरु दर्ता गराए। त्यतिबेला त्यहाँ दर्ता भएका गुठीहरु गुठी संस्थानमा परे र सरकारको मातहत चले।
त्यसबाहेक राजाको आह्वान थाहा नपाएका, व्यक्तिगत र सरकारीकरण गर्न नचाहेका गुठीहरु निजी नै रहे। ती निजी गुठीहरु अहिले पनि सञ्चालनमा छन्। यी दुईथरी गुठी प्रणालीले आ-आफ्नो तर्फबाट विगतदेखि हालसम्म आ-आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्कृति र संरचनाहरुको संरक्षण र व्यवस्थापन गर्दै आएका छन्।
अध्ययनको क्रममा पनि मैले काठमाडौं उपत्यकाभित्र रहेका मठ-मन्दिर, अन्य सम्पदा, परम्परागत नेवारी भवन, बाटोघाटो आदिको संरक्षणबारे अध्ययन गरेको थिएँ। त्यसमा पनि यी सम्पदा र परम्परागत संरचनाको संरक्षण विगतदेखि हालसम्म कसले गरिरहेको छ र यिनको अवस्था कस्तो छ, संरचना संरक्षणमा लागेका गुठीहरुबीच कस्तोखाले साझेदारी हुन्थ्यो भन्नेमा मेरो अध्ययन केन्द्रित थियो। हाम्रा मन्दिर, देवालय र अन्य सम्पदाहरु जीवित रहनुमा गुठीकै मुख्य भूमिका छ।
अध्ययनपछि सरकारको मद्दविना गुठीका सदस्यहरु स्वयंले धार्मिक उदेश्यकै लागि भए पनि प्राचीन सम्पदा, संस्कृति, मठ-मन्दिरको संरक्षण, व्यवस्थापन गरेको मैले पाएँ। सानो-तिनो मोनुमेन्ट, मठ-मन्दिर आदि निजी गुठीले नै हेरिरहेको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत र त्यसबाहेक ठूलाखाले सम्पदाहरु पुरातत्व विभागले हेरिरहेको छ।
थप हिजोका कुरा
असार १६, २०७९ बिहीबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।