‘वैधानिक साहुकारी’ को आरोपबाट मुक्त हुँदै सहकारी, तोकेभन्दा कम ब्याजदर र सेवाशुल्क

‘वैधानिक साहुकारी’ को आरोपबाट मुक्त हुँदै सहकारी, तोकेभन्दा कम ब्याजदर र सेवाशुल्क

बुटवल : सेयर सदस्यलाई कम ब्याज दिने र कर्जा प्रभाव गर्दा चर्को ब्याज असुलेका कारण ‘वैधानिक साहुकारी’ को आरोप खेप्दै आएका सहकारी संस्थाहरु विस्तारै त्यस्तो आरोपबाट मुक्त हुन थालेका छन्।

सरकारले सदस्यको हितमा हुने गरी ब्याजदर तथा सेवाशुल्क निर्धारण गरेसँगै सहकारीहरुले सरकारले तोकेकोभन्दा पनि कम शुल्कमै सेवा दिन थालेका छन्।

सहकारीका सिद्धान्तलाई आत्मसात गर्दै सरकारले तोकेकोभन्दा कम शुल्क लिएरै सेवा दिन थालेपछि सहकारीका सदस्यहरुलाई आशा पलाउन थालेको छ।

सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ मा सन्दर्भ ब्याजदर तोक्ने प्रावधान छ। सहकारी विभागले १३ चैत ०७८ मा सहकारी संघ-संस्थालाई पत्र लेख्दै ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकेको छ। 

सबै सहकारी संघ-संस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा अधिकतम सीमा १६ प्रतिशतमा नबढ्ने गरी, वचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरी वचत तथा ऋणको कारोबार गर्ने संघ-संस्थाले ऋण लगानीमा व्यक्तिगततर्फ १ प्रतिशत र सामूहिक जमानीतर्फ १ दशमलव ५ प्रतिशत बढी सेवाशुल्क लाउन नपाउने भनेको छ।

सहकारी ऐन २०७४ को दफा ५१ मा रजिष्ट्रारले सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसमा ब्याजदर तोक्ने व्यवस्था छ। ब्याजदर निर्धारण समितिले वचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था वा संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, ‘क’ वर्गको बैंकहरूको औसत ब्याजदरलाई आधार बनाएर सहकारीको ब्याजदर निर्धारण गर्छ।

सहकारी विभागको निर्देशन अनुसार सहकारीहरुले अधिकतम शुल्क १६ प्रतिशत तोके पनि सहकारीले उद्यमतर्फ १० देखि ११ प्रतिशत र हायर पर्चेजतर्फ १४ प्रतिशतसम्म ब्याज लिएका छन्। १ प्रतिशत सेवाशुल्क लाउन पाउने भए पनि कतिपय सहकारीले शून्य दशमलव ५ प्रतिशत सेवाशुल्क लिन थालेका छन्।

तिलोत्तमा नगरपालिका- ३ मा रहेको सामूहिक वचत तथा ऋण सहकारीले अधिकतम १३ प्रतिशत ब्याज लिने गरेको छ। लघु उद्यम व्यवसाय कर्जामा १० प्रतिशत ब्याज र आफ्नै वचतको ९० प्रतिशत रकम निकाल्दा ११ प्रतिशत ब्याज लिने गरिएको सहकारीका सूचना अधिकारी ईश्वरी मरासनीले बताए।

सहकारी विभागको निर्देशन अनुसार सहकारीहरुले अधिकतम शुल्क १६ प्रतिशत तोके पनि सहकारीले उद्यमतर्फ १० देखि ११ प्रतिशत र हायर पर्चेजतर्फ १४ प्रतिशतसम्म ब्याज लिएका छन्। १ प्रतिशत सेवाशुल्क लाउन पाउने भए पनि कतिपय सहकारीले शून्य दशमलव ५ प्रतिशत सेवाशुल्क लिन थालेका छन्।

‘विभागले तोकेकोभन्दा कुनै पनि शीर्षकमा बढी रकम लिएका छैनौं। सहकारी सदस्यहरुका लागि हो भन्ने कुरा आत्मसात गर्दै न्यूनभन्दा न्यून ब्याजदर कायम गरेका छौं,’ उनले भने।

१० लाखसम्मका कर्जामा १० प्रतिशत ब्याज, व्यवसाय कर्जामा १२ दशमलव ७५ प्रतिशत र अन्य कर्जातर्फ घर-जग्गा खरिदमा १३ दशमलव ७५ प्रतिशत ब्याज लिने गरेको उनले बताए। सेवाशुल्कतर्फ सहकारीले शून्य दशमलव २५ प्रतिशत लिने गरेको उनले बताए।

यो सहकारी कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै ठूलो हो। यस सहकारीको कुल सम्पत्ति ३ अर्ब ५ करोड रुपैयाँ छ भने सदस्य संख्या मात्र ९ हजार ४२५ जना रहेको छ। यो सहकारीले प्रदेशमै पहिलो एडिएम सेवा सेयर सदस्यलाई दिँदै आएको छ।

देवदहमा रहेको कोलीय देवदह वचत तथा ऋण सहकारीले पनि करको दायरा कम बनाएको छ। यो सहकारीले सहकारी विभागबाट तोकिएको ब्याजदरभन्दा न्यून प्रतिशतमा ब्याज लगाउने गरेको छ।

अहिले सहकारीले हायर पर्चेजमा १४ प्रतिशत ब्याज लिने गरेको छ भने शेवाशुल्क बढीमा १ प्रतिशत लिने गरेको सहकारीका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए। अन्य साना उद्यमीहरुका लागि साढे ९ देखि ११ प्रतिशत ब्याज लिने गरेको उनको भनाइ छ।

कुल १४ हजार ४६ सदस्य रहेको यो सहकारीको कुल सम्पत्ति १ अर्ब ४५ करोड ५७ लाख रहेको छ। सहकारीले प्रविधिलाई समेत पछ्याउँदै अघि बढेको छ। मोबाइल बैंकिङ, क्युआर कोड, टेलर कोड र आफ्नै एटिएम मेसिन समेत सहकारीमा रहेको छ।

बुटवल- ५ मा रहेको सशक्त वचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वचतमा १० प्रतिशत ब्याज दिने गरेकोमा सदस्यमा ऋण लगानी गर्दा अधिकतम १५ प्रतिशतसम्म ब्याज लिने गरेको छ।

सहकारीका अध्यक्ष कृष्ण चौहानका अनुसार हायर पर्चेजमा १५ प्रतिशत र अन्य ऋणमा १४ प्रतिशत ब्याज सहकारीले लिने गरेको छ। सेवाशुल्क भने १ प्रतिशत लाउने गरेको छ । कुल १ हजार ८० सदस्य रहेको सहकारीको कुल पुँजी १५ करोड छ।

यी केही प्रतिनिधि उदाहरण हुन्। अहिले अधिकांश सहकारीले सदस्यलाई लाभ दिने गरी ब्याजदर कायम गरेका छन्। जसका कारण सदस्यहरुले सहकारीमा आफ्नो अपनत्व महसुस गर्न थालेका छन्।

‘कुनै बेला सहकारीले वचत र ऋणको काम मात्र गर्ने र महँगो ब्याजदर असुल्ने गरेका थिए। अहिले नियमन निकायको तदारुकताले पनि तोकिएको ब्याजदरमा केही घटाएर रकम लिने गरेका छन्। यो सबल पक्ष हो,’ सहकारीका सदस्य श्यामलाल पोखरेलले भने।

असार १६, २०७९ बिहीबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।